४ आश्विन २०८१, शुक्रबार

प्रेस संगठनका अध्यक्षको मिडिया नै उर्जामन्त्री पुन विरुद्ध आक्रमक, ‘काला कर्तुत’ गरिएको दाबी

प्रकाशित मिति :  9 September, 2020 11:25 am


काठमाडौं, २३ भदौ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी निकट पत्रकार संगठन प्रेस संगठनका अध्यक्ष महेश्वर दाहालले सञ्चालन गरेको मिडिया नै नेकपा स्थायी कमिटी सदस्य एवं उर्जा मन्त्री वर्षमान पुन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध आक्रमक देखिएको छ ।

दाहाल अध्यक्ष रहेको ‘समयबद्ध’ साप्ताहिक र झिल्को डट.कम.ले , ‘उज्यालोको नाममा वर्षमान र कुलमानका काला कर्तुत’ शिर्षकमा समाचार प्रकाशन गरेको छ ।

समाचारमा कुलमानले आफ्नो पक्षमा निर्णय गराउन विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालको चरम दुरुपयोग सुरु गरेको समाचारमा दाबी गरिएको छ भने एक जना पत्रकारलाई नै सामाजिक सञ्जाल सञ्चालनको जिम्मा लगाएको पनि स्रोतले बताएको भनिएको छ ।

कुलमानले करोडौं रुपैयाँ हात पारेको समेत दाबी गरिएको छ । समाचारमा भनिएको छ, “धनका लागि कुलमानले प्राधिकरणमा दश ठूला अपराध गरेको प्राधिकरणका कर्मचारी बताउँछन् । उनले ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको ठेक्कामा ठूलो आर्थिक घोटाला गरेका छन् । आठवटा कम्पनीले राहुघाटको बोलपत्र प्रक्रियामा भाग लिए पनि एउटा मात्र कम्पनी जीपी एशोसियट्स भारतलाई मिलेमतोमा ठेक्का हाल्न लगाएका थिए । राहुघाटको लागि उक्त भारतीय कम्पनीको योग्यता नपुग्ने भए पनि ठूलो रकम कमिशन आउने भएका कारण उनले ठेक्का हाल्न लगाए । त्यसबाट उनले करोडौ हात पारेको चर्चा छ ।”

समाचारमा उर्जा मन्त्री वर्षमान पुनको अकुत सम्पतिका स्रोतमध्ये कुलमान पनि हुन् भनेर आरोप लगाईएको छ । समाचारमा कुलमानले पुनलाई पाँच वर्षे खर्च नै उपलब्ध गराइदिएको स्रोतको दाबी छ भनिएको छ ।

समाचारमा भनिएको छ,“अहिले पनि वर्षमान पैसाकै लागि कुलमानसँग बार्गेनिङ्गमा छन् । आफूले भने जति रकम दिएमा पुनः नियुक्तिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगिदिने सोचमा मन्त्री पुन छन् ।”सत्तारुढ पत्रकार संगठनका अध्यक्षको मिडिया नै उर्जामन्त्री पुनविरुद्ध उत्रिएपछि चर्चाको विषय बनेको छ । दाहाल गृहमन्त्री रामबहादुर थापा बादल निकटका व्यक्ति हुन् ।

मोहन बैद्यबाट ‘बादल’ समूह माओवादी केन्द्रमा मिसिदा दाहालपनि संगै फर्किएका थिए । अहिले मन्त्रीपरिषद् पुर्नगठन र पुनले महत्वपूर्ण मन्त्रालय पाउने चर्चा र नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि दाहोरिने पक्का जस्तै देखिएका बेला  प्रेस संगठनका अध्यक्षले नै सञ्चालन गरिएको मिडिया आक्रमक देखिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !