४ आश्विन २०८१, शुक्रबार

पर्वहरुले हामीलाई परस्पर एकता, सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आवद्ध गरेका छन् : प्रधानमन्त्री

प्रकाशित मिति :  10 September, 2020 8:37 am


काठमाडौं , २५ भदौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जितिया पर्वको शुभकामना दिदै यस्ता सांस्कृतिक पर्वहरुले सबैलाई परस्पर एकता, सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आवद्ध गरेको बताएका छन् ।

शुभकामनामा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘संवैधानिक ब्यवस्था तथा राज्यको नीतिद्वारा हामीले यस्तो सांस्कृतिक विविधताको रक्षा गर्दै आएका छौं । यी पर्वहरुले हामीलाई परस्पर एकता, सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आवद्ध गरेका छन् ।’

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीचमा सुदृढ एकता भएको देश भन्दै प्रधानमन्त्री ओलीले यहाँ प्रचलित पर्वहरुका विविधता हाम्रा बहुमूल्य पूँजी भएको उल्लेख गरेका छन् । सहिष्णुता र सुदृढ एकता सहितको विविधतायुक्त यस पूँजीलाई हामीले देश निर्माणमा सदुपयोग गर्नु पर्ने प्रधानमन्त्री ओलीको जोड छ ।

पूर्वी तराईमा मैथिली र थारु महिलाहरुले जितिया पर्व मनाउने गर्दछन् ।

आफ्नो परिवारका सदस्यहरुको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाहरुले ब्रत बसी मनाइने यस पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्दछ ।

आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यस पर्वको सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ । सप्तमीको बिहान ब्रतालुहरुले नदीमा गई तोरीको पिना प्रयोग गरी नुहाएपछि केही पिनालाई घिरौंलाको पातमा राखेर खोलामा बगाउने चलन छ ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ को विश्वब्यापी महामारीका कारण यसवर्ष हामीले आफ्ना पर्वहरु मनाउँदा घरमै बसेर सावधानी पूर्वक मनाउनु पर्ने अवस्था उत्पन्न भएको भन्दै आफू सुरक्षित रहंदै जितिया पर्व मनाउन म हार्दिक आह्वान गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !