३ कार्तिक २०८१, शनिबार

एसिड आक्रमण गर्नेलाई कारबाही गर्न अध्यादेश आउने,१५ दिनभित्र मस्यौदा तयार गर्न प्रधानमन्त्रीको निर्देशन

प्रकाशित मिति :  10 September, 2020 5:16 pm


काठमाडौं, २५ भदौ ।

सरकारले तेजाब(एसिड) पीडितहरूको माग अनुसार अध्यादेशमार्फत तत्काल कानुन बनाउने भएको छ ।

पीडितको माग अनुसार एसिड आक्रमण जस्तो अमानवीय र जघन्य अपराधका दोषी माथि कारबाही गर्न प्रधामन्त्री केपी शर्मा ओलीले १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न कानुन मन्त्रीलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले अपराधमा संलग्न व्यक्तिको सम्पत्ती रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पुराएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने बताएका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

देशभरि एसिड आक्रमणमा परेकामध्य १२ जना पीडितहरूसँग आज छलफल गर्दै प्रधानमन्त्री ओलीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने , पीडितहरूको सम्पूर्ण खर्च सरकारले बेहोर्ने र नियमित प्रयोग गर्नुपर्ने औषधिको समेत सरकारले गर्ने घोषणा गरेका छन् ।

आक्रमणकापछि पढ्न चाहनेहरूका लागि निःशुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने प्रधानमन्त्रीले जानकारी गराए । उचित तालीम, रोजगारी, व्यवसाय र जिविकाको प्रबन्ध सरकारले मिलाउने समेत छलफल कार्यक्रममा प्रधानमन्त्रीले जानकारी गराएका सल्लाहकार थापाले बताएका छन् ।

छलफलका क्रममा प्रधानमन्त्रीले सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहित गरिने उल्लेख गरे । हरेक बर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमण विरूद्दको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न समेत उनले सबैलाई आव्हान गरेका छन् ।

सभ्य समाज निर्माण गर्न सरकारले एसिड आक्रमणका कुनै घटना नै हुन नदिने तथा आगामी दिनमा यस्तो पीडा कसैले भोग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्ने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले हरेस नखाई अघि बढ्न सहभागीहरूलाई आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !