४ आश्विन २०८१, शुक्रबार

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका कामबारे संसदीय उपसमितिको अनुगमन

प्रकाशित मिति :  10 September, 2020 9:50 pm


काठमाडौं, २५ भदौ ।

कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धमा सरकारले गरेका कामकारबाहीबारे संसदीय उपसमितिले अनुगमन गरेको छ ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले गठन गरेको उपसमितिका संयोजक जीवनराम श्रेष्ठ  नेतृत्वको उपसमितिले आज काठमाडौं उपत्यकाका विभिन्न अस्पताल,प्रयोगशाला र क्वारेन्टाइनको स्थलगत अनुगमन गरेको हो ।

उपसमितिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा रहेको पीसीआर परीक्षण गरिने प्रयागशालाको बिस्तृत जानकारी लिएको छ । निरीक्षणका क्रममा प्रयोगशालामा भइरहेका काम,प्रकृया र गुनासोबारे उपसमितिले छलफल गरेको छ । प्रयोगशालाकी निर्देशक डा. रुना झाले प्रयोगशालाको कामबारे जानकारी गराएकी थिइन् ।

उपसमितिले स्वास्थ्य सेवा विभागको कामबारे पनि जानकारी लिएको छ । विभागसँग उपसमितिले कोरोना नियन्त्रण तथा रोकथामका लागि विभागबाट व्यवस्थापन तथा तथा सेवा प्रवाह कसरी भैरहेको छ भन्ने बिषय समेटेर प्रश्नोतरका साथै प्रस्तुतीकरण गर्न लगाएको थियो ।

उपसमितिद्वारा उठाईएका प्रश्न तथा जिज्ञासाबारे बिभागका महानिर्देश्क डा. दिपेन्द्र रमन सिंह , बिभागका अन्य महाशाखाका प्रमुखहरुले जवाफ दिएका थिए ।

टेकु स्थित स्वास्थ्य सेवा बिभाग र प्रयोगशालालाई अनुगमन गरेर उपसमितिले भक्तपुरमा रहेको खरीपाटी क्वारेन्टाइन पुगेर अनुगमन गरेको थियो । उक्त क्वारेन्टाइन अनुगमनका क्रममा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, भक्तपुर प्रहरी प्रमुख तारादेवी थापा , सशस्त्र प्रमुख, सेनाका प्रमुख, चाङुनारायण नगर प्रमुख, भक्तपुर जिल्ला समन्वय समिति प्रमुख, सुर्यबिनायक नगर उपप्रमुख, भक्तपुर अस्तपताल प्रमुख लगायतका पदाधिकारीहरुको उपस्थिति थियो ।

उपसमितिको संयोजक श्रेष्ठसहितको अनुगमन टोलिले क्वारेन्टाइनको व्यवस्थापनसहितको विषयमा अनुगमन गर्दै उनीहरुको गुनासो तथा सुझावलाई कार्यान्वयन गराउन सकारात्मक रहेको र सरकारसँग छिटै पहल गर्ने आश्वासन दिएको छ ।

उपसमितिले मध्यपुर ठिमी नगरपालिकामा रहेको कोरियन मैत्री नगरपालिका अस्पतालको अनुगमन समेत गरेको छ । अनुगमनका क्रममा अस्पतालद्वारा सञ्चालित पीसीआर मोलिक्युलर प्रयोगशाला, अस्पतालका अन्य स्वास्थ्य सेवा र ११ बेड क्षमता भएको सुविधासम्पन्न आइसीयूको अनुगमन तथा निरीक्षण गरेको थियो ।

उक्त आइसीयूमा रोबोटद्वारा जोखिम ब्यवस्थापन हुने भएकोले रोबोट र अन्य उच्च प्रविधिका उपकरणहरुको निरीक्षण समेत उपसमितिले गरेको थियो ।

सबै ठाउँमा अनुगमनको क्रममा देखिएका कमिकमजोरी तथा ल्याब र क्वारेन्टाइनका समस्यालाई छिटै समाधान गरि चुस्त दुरुस्त सेवा प्रवाह गरि कोभिड १९ लाई पराजित गर्न सबै निकायलाई उपसमितिले निर्देशन समेत दिएको थियो । साथै यस सम्बन्धमा सरकारलाई समेत छिटो भन्दा छिटो समन्वय गर्न निर्देशन दिने संयोजक श्रेष्ठले बताएका छन् ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना उपचार, रोकथाम तथा नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय सरकारले गरेका कामको अनुगमन गर्न भदौ ९ गते उपसमिति गठन गरेको थियो । श्रेष्ठ संयोजक रहेको उपसमितिमा छ । हित बहादुर तामाङ, शन्त थारु,सरिता न्यौपाने,नमिता चौधरी,एकवाल मिया,अन्जना बिशंखे सदस्य रहेका छन् ।

सम्बन्धित समाचार



प्रतिक्रिया दिनुहोस !