७ मंसिर २०८१, शुक्रबार

भविष्य देखाउने शिक्षाको खोजी र हामीले चाल्ने पाइलाहरू

प्रकाशित मिति :  12 September, 2020 11:22 am


उठान

हामी तोतेबोली फुट्न नपाउँदै शिक्षाका नाममा किताबको भारी बोकेर विद्यालय धाउन थाल्यौँ । अक्षर चिन्यौँ, पढ्न सिक्यौँ र लेख्न पनि जान्यौँ । मासिक, त्रैमासिक र वार्षिक परीक्षा कसरी उत्तीर्ण गर्ने ? भन्ने चक्करमा घुमिरह्यौँ । निकै तनावका साथमा परीक्षाभवनमा बस्यौँ र निरीक्षक कठोर भइदिँदा हामी परीक्षाभवनमा छटपटायौँ पनि । निरीक्षक अलि उदार भइदिँदा हामी दायाँ, बायाँ, अघि र पछि गरेर भए पनि जसोतसो कपी भर्नमा मात्र आफूलाई सीमित बनायौँ ।

यस्तै क्रमले हामीले विद्यालय हुँदै विश्वविद्यालयका परीक्षाहरू पनि दियौँ र उत्तीर्ण पनि भयौँ । हामीलाई घरपरिवारले र समाजले शिक्षित ठानिदियो तर हामी व्यावहारिक रूपमा शिक्षत हुन नसक्ता जागिरका कारखानाहरूमा जागिरको भीख माग्दै हिँड्न विवश भयौँ । निकै दुःखका साथ जागिर हातमा पनि पऱ्यो र हामीले क्रमशः आफूले पाएको आडम्बरी शिक्षालाई पनि भुल्दै गयौँ किनकि हामीलाई हाम्रो शिक्षाले कहिल्यै पनि आत्मनिर्भर हुन, स्वावलम्बी बन्न र व्यावहारिक हुन सिकाएन ।

हामी शिक्षाका नाममा ठगियौँ तर हाम्रा सन्ततिलाई पनि शिक्षाका त्यस्तै व्यापारिक कारखानाहरूमा पठाउन हामी विवश भइरह्यौँ । फलस्वरूप हाम्रा सन्ततिले स्वदेशभित्र आफ्नो भविष्य देख्न छाडे । जसका कारण उनीहरू दिनप्रतिदिन विदेशमै आफ्नो भविष्य देख्न बाध्य भएर स्वदेश छाड्दै छन् । यति हुँदाहुँदै पनि शिक्षानीतिमा सुधार गर्ने र जीवनोपयोगी शिक्षा प्रदान गर्ने विषयमा राज्यको ध्यान आकृष्ट हुन सकेको छैन ।

शिक्षा कस्तो हुनुपर्छ ?

शिक्षा प्राप्त गर्नुको अर्थ प्रमाणपत्र बटुल्नु मात्र होइन, शिक्षित हुनु हो । संसारमा जिउनका लागि निकै प्रतिस्पर्धा र सङ्घर्ष गर्नुपर्छ, त्यसको सामना गर्न शिक्षाले हामीलाई मद्दत गरेको हुनुपर्छ । जीवनमा आइपर्ने हरेक समस्याको समाधान गर्न हामीलाई हाम्रो शिक्षाले नै सघाउनुपर्छ ।

कुनै किसिमको भय र दबावबाट शिक्षाले हामीलाई मुक्त गर्न सक्नुपर्छ । परम्पराभन्दा केही पाइला अघि बढाएर नयाँ ढङ्गले सोच्न सक्ने बनाउनु पनि शिक्षाकै उद्देश्य हुनुपर्छ । हामीलाई हाम्रो समाजले र हाम्रा अभिभावकले यसरी सोच्नुपर्छ भनेर दिशानिर्देश गरिरहे, गरिरहेका छन् र गरिरहनेछन् तर हामी त्यत्तिकैमा सीमित हुनु हुँदैन ।

हामी त कसरी सोच्नुपर्छ ? भन्ने कुराको चिन्तन गर्न अग्रसर हुनुपर्छ भन्ने कुरा हामीलाई हाम्रै शिक्षाले दिशानिर्देश गर्न सक्नुपर्छ । अनुकरण वा नक्कल गरेर हामी अरूजस्तो बन्ने होइन आफैजस्तो हुनुपर्छ र जीवनमा अर्काको अनुसरण गर्नै नपरोस् भनेर सतर्क गराउन पनि हामीलाई शिक्षाले नै बाटो देखाउन सक्नुपर्छ । जीवनको शिक्षा नदीजस्तै निरन्तर प्रवाहशील भएका कारण हाम्रो शिक्षाले हामीलाई पोखरीझैँ जमिरहन होइन नदीजस्तै बगिरहन र सृजनशील भइरहन प्रेरित गर्नुपर्छ ।

शिक्षाले हामीलाई यो वा त्यो राजनीतिक सङ्कीर्ण पोखरीमा जमेर आफ्नो प्रज्ञालाई निर्मूल पार्नबाट र सदैव डराएर जीवन जिउनबाट मुक्ति दिन सक्नुपर्छ किनकि प्रज्ञापूर्वक निर्भयताका साथ जीवन जिउन सक्ने प्रेरणा हामीलाई शिक्षाले बाहेक अरूले दिनै सक्तैन । शिक्षाले हामीलाई आदर्शमा सीमित रहन होइन यथार्थमा बाँच्न सिकाउनुपर्छ ।

यथार्थले हामीलाई सङ्घर्षका साथ बाँच्न सिकाउँछ र तयारी सामग्रीमा भन्दा हामीलाई नयाँ सामग्री उत्पादन गर्न वा बाँझो खेतबारी आफै खनजोत गरी अन्न उब्जाएर जीवनलाई सृजनशील बनाउन प्रेरित गर्छ । हामीलाई आजसम्मको शिक्षाले यस्तो सिकाएन र यस्ता सम्भावनाहरू पनि देखाउन सकेन ।

हाम्रो राज्यको शिक्षानीतिमा यस्ता सम्भावनाहरू भित्रिएलान्न/भित्रिएलान् तर औपचारिक शिक्षा लिइसकेपछि पनि हामीले यस्ता सम्भावनाका ढोकाहरू उघार्न सक्छौँ किनभने औपचारिक शिक्षाभन्दा अनौपचारिक वा व्यावहारिक शिक्षाको मूल्य र महत्त्व निकै बढ्ता हुन्छ ।

भयमुक्त शिक्षा

जतिसुकै बालमैत्री शिक्षाको चर्चा गरिरहे पनि हाम्रा विद्यार्थीहरू शिक्षकको, विद्यालय प्रशासनको र अभिभावकको भयबाट कहिल्यै मुक्त हुन सकेका छैनन् । विद्यार्थीमा यदि कुनै किसिमको भय छ भने त्यसले उनीहरूको मनलाई विचलित र विकृत बनाइदिन्छ । विकृत र विचलित मन लिएर कुनै पनि विद्यार्थीले वास्तविक शिक्षा हासिल गर्न सक्तैन । सबै किसिमका भयबाट विद्यार्थीलाई मुक्त गराउनु र भयमुक्त हुन प्रेरित गर्नु शिक्षाको उद्देश्यभित्रै पर्दछ भन्ने कुरा हाम्रो शिक्षानीतिले नै आत्मसात् गर्न सकेको छैन ।

भयका कारणले नै अधिकांश विद्यार्थीहरूले शिक्षकसँग आफूले नबुझेका विषयमा प्रश्न गर्न सक्तैनन् । भयबाट मुक्त गराउँदै जाने हो भने धेरैजसो विद्यार्थीहरू सृजनशील हुन सक्थे र आफ्नो समस्या आफै समाधान गर्न अग्रसर हुने थिए । अधिकांश विद्यार्थीले भययुक्त भएर भन्दा भयमुक्त भएर नै वास्तविक रूपमा शिक्षा आर्जन गर्न सक्छन् ।

हामीले विद्यार्थीलाई अहिंसाको भय देखाइरह्यौँ तर के हाम्रा विद्यार्थीहरू हिंसामुक्त हुन सकेका छन् त ? अवश्य पनि छैनन् । अहिंसाको सट्टा हिंसाको परिचय दिँदै जान सकेका खण्डमा हिंसाको भयबाट मुक्त हुँदै अहिंसाको मार्गतर्फ हाम्रा विद्यार्थीहरू लम्किन सक्नेछन् ।

जबसम्म हाम्रा शिक्षणसंस्थाहरूमा हामीले भयमुक्त वातावरणको सृजना गर्न सक्तैनौँ तबसम्म हाम्रा विद्यालयहरू ‘तमसो मा ज्योतिर्गमय’ को सुल्टो बाटामा हिँड्न सक्तैनन् । भयमुक्त भएपछि मात्र विद्यार्थीहरूले शिक्षालाई वास्तविक रूपमा प्रेम गर्न सक्छन् ।

तुलनारहित शिक्षा

हाम्रो समाज वास्तवमा तुलनामा आधारित छ तर तुलनाले नै हाम्रो समाज यथार्थमा स्वस्थ हुन सकिरहेको छैन । हामीले कक्षामा प्रथम हुने विद्यार्थीसँग अन्य विद्यार्थीको तुलना गर्छौं र सबै विद्यार्थीलाई त्यस्तै बन्नुपर्छ भन्ने निर्देशन दिन्छौँ । जसका कारण हाम्रा विद्यार्थीहरूमा ईर्ष्याको भावना जागृत हुन्छ । ईर्ष्याले द्वेषलाई र द्वेषले गर्दा नै भयलाई बढाउन अझ बढ्ता मद्दत गर्दछ ।

आफूले आफ्नो तुलना अरूसँग गर्नु वा अरूले कसैको आफूसँग तुलना गरिदिनु भनेको वास्तवमा आफ्नो अस्तित्वमाथि नै प्रश्नचिह्न खडा गर्नुजस्तै हो । तुलनाले हाम्रै प्रतिभा र चेतनामा समेत क्रमशः ह्रास आउन थाल्छ । हामीले तुलना भएका दुवै व्यक्तिका बीचमा कहिल्यै पनि प्रेम मौलाएको देख्न सकेका छैनौँ । तुलनाले दुवैलाई मित्रबाट प्रतिद्वन्द्वीका रूपमा उभ्याइदिन्छ ।

प्रतिद्वन्द्वीको भावनाले दुवैलाई आन्तरिक युद्धमा होमिदिन्छ र युद्धले विकास होइन विनाश नै निम्त्याउँछ । तुलनाले नै हाम्रा विद्यार्थीलाई भयमुक्त होइन भययुक्त बनाइदिन्छ । तुलनाले प्रेम होइन घृणा र द्वेषको भावना विस्तार गरिदिने भएकाले पनि शिक्षा तुलनारहित हुनु नितान्त आवश्यक छ ।

अनुकरणमुक्त शिक्षा

हामी अरूको अनुकरण वा नक्कल गर्न चाहन्छौँ र विद्यार्थीलाई पनि हामीले फलानो जस्तै बन्नुपर्छ भनेर अनुकरण गर्न प्रोत्साहन गर्छौं । वास्तवमा जीवनको उच्चतम विन्दुमा पुग्न र स्वअस्तित्व कायम गर्न हामीलाई अनुकरण साधक होइन बाधक बन्छ । अनुकरणले गर्दा हामीभित्रको सृजनात्मक क्षमतामा ह्रास आउँछ ।

अनुकरणले हामी न अरूजस्तो बन्न सक्छौँ न त आफूजस्तै बन्ने गर्छौं । अनुकरण गर्ने मनले वास्तविकता पत्ता लगाउन सक्तैन । प्रारम्भमा अनुकरण गर्न उपयुक्त नै देखिए पनि गन्तव्यमा पुग्दासम्म अनुकरण गरिरहनु हानिकारक मानिन्छ । विद्यार्थीलाई एउटै क्षितिजमा निर्भर रहन होइन अनन्त क्षितिज छिचोलेर अघि बढ्न सधैँ अनुकरण सहायकसिद्ध हुन सक्तैन । तसर्थ जीवनका अन्य क्षेत्रहरूमा जस्तै शिक्षा क्षेत्रमा पनि सदैव अनुकरण गर्ने प्रवृत्तिको अन्त गर्नु आवश्यक छ ।

राजनीति र व्यवसायरहित शिक्षा

वर्तमान समयमा सरकारी शिक्षण संस्थाहरू राजनीतिक हस्तक्षेपले ग्रस्त छन् भने गैरसरकारी अधिकांश शिक्षण संस्थाहरू व्यवसायमुखी भएका कारण शिक्षाको वास्तविक उद्देश्य हासिल हुनै सकेको छैन । जब शिक्षालाई कुनै सम्प्रदायविशेष, कुनै वर्गविशेष, कुनै राजनीति दलविशेष र कमाउमुखी व्यवसायजस्तै बनाइन्छ तब त्यहाँ विचार गर्ने र बहस गर्ने अवसर नै क्रमशः न्यून हुँदै जान्छ ।

प्राज्ञिक बहसको ढोका बन्द हुँदै गएर शिक्षालयहरू जब राजनीत्यालय र व्यवसायालयमा परिणत हुन्छन् तब शिक्षाका उद्देश्यहरू हासिल गर्न सकिँदैन र शिक्षालय केवल बेरोजगार उत्पादन गर्ने कारखाना मात्र बन्दै जानेछन् ।

शिक्षालयलाई नदीजस्तै बग्न नदिएर राजनीति र व्यवसायको सङ्कीर्ण कुवामा सीमित गर्दै जाँदा शिक्षालयहरू दुर्गन्धित बन्दै जाने कुरा सुनिश्चित छ । तसर्थ दक्ष, सृजनात्मक र आत्मनिर्भर जनशक्ति उत्पादन गर्ने हो भने वर्तमान शिक्षानीति, पाठ्यक्रम र शिक्षण पद्धतिमा समेत व्यापक परिमार्जन गर्न जरुरी छ ।

रुचिकर शिक्षा

जसरी हामीले रुचिकर भएन भने राम्रोसँग भोजन ग्रहण गर्न सक्तैनौँ, बाध्यतावश ग्रहण गरिहाले पनि त्यसलाई पचाउन हामीलाई मुस्किल पर्छ र अन्ततः हामी अस्वस्थ हुन्छौँ । त्यसैगरी शिक्षा पनि रुचिकर भएन भने हाम्रा विद्यार्थीले त्यसलाई राम्रोसँग ग्रहण गर्दैनन् र गरिहाले पनि त्यसको मर्मलाई आत्मसात् गर्न नसक्ता हाम्रा विद्यार्थीहरू पढेर पनि अशिक्षित जस्तै बन्न पुग्छन्, अपाङ्ग भएको अनुभूति गर्न बाध्य हुन्छन् ।

शिक्षा रुचिकर भएका खण्डमा हामीले हाम्रा विद्यार्थीहरूलाई कक्षामा हल्ला नगर र अरू बेलामा समेत ‘पढ पढ’ भनेर बारम्बार दबाव दिइरहन पनि पर्दैन । बाध्य भएर पढ्न थाल्दा मस्तिष्कले शिक्षालाई ग्रहण गर्न सक्तैन र अन्ततः हाम्रा विद्यार्थीहरू शिक्षण संस्थाहरूको परीक्षामा मात्र होइन जीवनका अनगिन्ती परीक्षाहरूमा समेत कम सफल भएको अनुभूति गर्न बाध्य हुन्छन् ।

पाठ्यक्रम र पाठ्यपुस्तकका सामग्रीहरू मात्र रुचिकर भएर पुग्दैन, शिक्षकले पनि विद्यार्थीहरूमा रुचि वा भोक जगाउने खालका शिक्षणपद्धतिको अवलम्बन गर्नु आवश्यक छ । जुन शिक्षामा विद्यार्थीको रुचि जाग्छ त्यस्तो शिक्षा उनीहरूले मासिक, त्रैमासिक र वार्षिक परीक्षाको उत्तरपुस्तिकामा मात्र टाँस्न होइन आफ्नो जीवनपर्यन्त ग्रहण गरिरहन्छन् ।

स्वतन्त्र हुनुपर्छ शिक्षा

शिक्षालाई हामीले पाठ्यपुस्तक, परीक्षा र प्रमणपत्रमा मात्र सीमित गरिदियौँ । पाठ्यपुस्तकबाहेकका पुस्तकहरू पनि शैक्षिक सामग्री हुन् र विद्यालयमा दिइने परीक्षाहरूबाहेक जीवनका अनेकौँ परीक्षाहरू पनि छन् भनेर हामीले विद्यार्थीलाई सिकाउनै सकेनौँ ।

विषयगत कक्षा र गृहकार्य गर्नु मात्र शिक्षा लिनु हो भनेर उनीहरूलाई सङ्कुचित गरिदियौँ तर विद्यार्थीसँग हामीले कक्षाबाहेक दशपन्ध्र मिनेटको फुर्सद निकालेर पाठ्यपुस्तक र परीक्षाको पर्खालभन्दा बाहिरका विषयवस्तुको कुराकानी गऱ्यौँ अनि उनीहरूका कुरा पनि सुन्यौँ भने उनीहरूले कक्षामा लामो समय पढ्दा हासिल गर्न नसकेको ज्ञान अनौपचारिक रूपमा गरिने यस्ता कुराकानीबाट सिक्न सक्छन् ।

हामीले अनुशासनका नाममा ‘यो यो पढ’ भनेर अरू पढ्नबाट उनीहरूलाई वञ्चित गऱ्यौँ भने उनीहरूले आफूमा स्वतन्त्र अध्ययनको बानी विकसित गर्न सक्तैनन् । परतन्त्र भएर लिइएको शिक्षाले कसैलाई पनि स्वतन्त्र र सृजनशील बनाउन सक्तैन ।

खोजमूलक शिक्षा

हामीले शिक्षालाई हालसम्म खोजमूलक बनाउन सकेनौँ । हाम्रा पाठ्यपुस्तकमा जे लेखिएको छ त्यही सत्य हो भन्ने भ्रममा मात्र हामीहरूले शिक्षालाई सीमित गरिदियौँ । जसरी हाम्रा आँखाले देखेको गङ्गा, मात्र गङ्गा नभएर आदिदेखि अन्तसम्मको गङ्गाको बहावलाई हामीले गङ्गा मान्छौँ, त्यसैगरी हाम्रा पाठ्यपुस्तकमा मात्र सीमित भएको शिक्षा मात्र शिक्षा होइन, त्यसको आदिदेखि अन्तसम्मको शृङ्खला पनि शिक्षा हो भनेर हामीले विद्यार्थीलाई खोज्न प्रोत्साहन गर्नुपर्छ ।

हामीले महान् व्यक्तिहरूका भनाइलाई बारम्बार दोहोऱ्याउँछौँ र तिनलाई आफ्नो जीवनको आदर्श बनाउन चाहन्छौँ तर हामीले तिनका बारेमा पनि खोजअनुसन्धान गर्न प्रयत्न गर्नुपर्छ । हामीले धनलाई जस्तै शिक्षालाई पनि सङ्ग्रह गर्न खोज्छौँ र मुद्दती खाताबाट बढ्ता ब्याज आए झैँ हामीले शिक्षालाई पनि मुद्दती खातामै सञ्चित गर्न खोज्छौँ तर त्यसलाई लगानी गर्न अग्रसर हुँदैनौँ ।

फलस्वरूप हाम्रो शिक्षारूपी नदी बग्न नपाएर हिउँदको कुवा जस्तै सुक्तै जान्छ । हामीले आफ्नो शिक्षालाई नदीझैँ निरन्तर बगिरहन दिनुपर्छ र सदैव अनुसन्धानमा प्रवृत्त राइरहनुपर्छ । निरन्तर खोज गर्दै जान सकेका खण्डमा मात्र हामीले यान्त्रिक रूपमा ग्रहण गरेको शिक्षा व्यावहारिक र जीवन्त पनि बन्न सक्छ ।

बैठान

हामीले ‘शिक्षा यस्तो यस्तो हुनुपर्छ’ भनेको त धेरै सुन्यौँ तर यस्तो किन हुनुपर्छ भन्ने जिज्ञासा राख्न भने सकेनौँ । हामीलाई रुचिकर नहुँदानहुँदै पनि हामीले शिक्षाका नामा धेरै समय र आर्थिक लगानी मात्र गरेनौँ, मानसिक लगानी पनि उत्तिकै गऱ्यौँ तर सन्तोषजनक प्रतिफल भने प्राप्त गर्न सकेनौँ ।

धेरै कुराहरू एकैसाथ अवलम्बन गरेर विद्यमान शिक्षामा तत्काल परिवर्तन ल्याउन सम्भव छैन तर शिक्षालाई क्रमशः भयमुक्त, तुलनारहित, अनुकरणमुक्त, राजनीतिरहित, व्यवसायमुक्त, रुचिकर, स्वतन्त्र र खोजमूलक बनाउँदै जाने दिशामा हामीले पाइलाहरू चाल्दै जान सक्छौँ । हामीलाई विगतको शिक्षाले केकस्तो प्रतिफल दियो रु भन्ने कुराको पुनर्मूल्याङ्कन गरेर आगामी शिक्षा कस्तो प्रतिफल दिने खालको हुनुपर्छ ? भनेर सदैव चिन्तन एवं मनन गरिरहनु आवश्यक छ ।

लेखक ढकाल, नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुनुहुन्छ।

 



प्रतिक्रिया दिनुहोस !