महामारीका बेला आत्महत्या रोकथाम तथा नियन्त्रणका उपाय
आत्महत्या भनेको जानाजानी आफूले आफ्नो हत्या गर्नु हो। प्रत्येक ४० सेकन्डमा एक व्यक्ति आत्महत्याले विश्वव्यापी रुपमा मृत्युको कारण भएको पाइन्छ (डब्लुएचओ, २०१८) ।
विश्व स्वास्थ्य संगठनका अनुसार धेरै आत्महत्या संकटको समयमा भएको पाइन्छ जसमा जोखिम कारक एक्लोपना , भेदभाव, वित्तीय समस्या र मानसिक स्वास्थ्य समस्या पर्न आउछ (डब्ल्यूएचओ, २०१०)। आत्महत्याको जोखिम विशेष गरि महामारी र प्रकोपको समयमा बढेको हुन्छ। कोभिड-१९ महामारी एक वैश्विकै चुनौती हो जुन विश्वव्यापी रूपमा बिरामी र मृत्युदरको कारण भएको छ।
कोभिड-१९ मा धेरै व्यक्तिहरु डर लाग्ने , चिन्ता, निद्रामा समस्या, थकित महसुस हुनु, निराशवादी हुनु जस्ता लक्षण लिएर अस्पताल आउनु भएको हुन्छ। एक्लै बस्ने र क्वेरन्टाइनमा रहेका मानिसहरुलाई बढी मानसिक समस्या भएको पाइन्छ।
हाम्रो देश नेपालमा चैत्र ११ बाट लकडाउन सुरु भयो त्यो संगै ४८३ जनाले आत्महत्या गरेको तथ्यांक पाइन्छ भने त्यसैगरी २०७७ साल वैशाख महिनामा ५७७ जनाले , जेष्ठ महिनामा ६६८ जनाले र असार महिनामा ९६४ जनाले विभिन्न कारणले आत्महत्या गरेको पाइन्छ जुन नेपाल प्रहरीले लिएको तथ्यांक अनुसार हॊ।
कोरोना महामारीले चिन्ता र उदासिनतालाई जन्म दियो जुन आत्महत्याको कारण भएको छ। आत्महत्या हाम्रो देश नेपालमा येस कोरोना महामारीसंगै बढ्दै गएको पाइन्छ।
कोभिड-१९ ले गर्दा लकडाउन, सामाजिक दूरी र यात्रा प्रतिबन्ध भयो जसले गर्दा धेरै व्यक्तिको जागिर गुम्यो, घर भाडाबाट निकालिने , व्यवसायमा घाटा, हिंसा र बाल दुर्व्यवहार सहित धेरै तनावहरू ल्याएको छ । अवरुद्ध दैनिक गतिविधिहरू मानसिक रोगहरूलाई बढावा दिन सक्छ।
कक्षामा सञ्चालन नहुनु, विद्यार्थीहरूको परीक्षा रोकिनु र स्कूल र कलेजमा लागू हुने शिक्षण विधिमा परिवर्तन हुनु र शैक्षिक दिनचर्याले विद्यार्थीहरूको मानसिक स्वास्थ्यमा डर र खतरा निम्त्याउन सक्ने देखिन्छ। (क्ले, २०२०)
त्यसैले सेप्टेम्बर १० देखि अक्टुबर १० सम्म विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ । आत्महत्या रोकथाम दिवसको थिम ” WORKING TOGETHER TO PREVENT SUICIDE ” रहेको छ । हामी सबै मिलेर आत्महत्या रोकथाममा लागौं ।
आत्महत्याको रोकथाम गर्न लक्षण पहिचान गर्नु आवश्यक जस्तैस् पहिले आत्महत्याको प्रयास गरेको, समाजमा एक्लो महसुस गर्ने , धेरै रिसाउने , तनावपूर्ण जीवन घटना ( प्रियजनको मृत्यु, बहु विवाह , सैनिक सेवा दिने व्यक्तिहरु, ब्रेकअप, बिछोड हुनु वा वित्तीय वा कानूनी समस्याहरू), उदासिनता , जटिल मानसिक समस्या, जटिल शारीरिक समस्या ,लागु पदार्थ दुर्व्यसन ,घरेलु हिंसा ,यौन दुर्व्यवहार ,वंशानुगत ,दीर्घकालीन रोग हुन् ।
विभिन्न अध्यनले के देखाउँदछ भने मानिसले आत्महत्या गर्नु अगाडी ३ महिनाबाट संकेत देखाउँदछन। त्यसैले यस्ता संकेत बुझ्नु पहिचान गर्नु धेरै आवश्यक छ जसले गर्दा हामीले व्यक्तिलाई आत्महत्या गर्नेबाट बचाउन सक्छौँ।
जोखिमका संकेतहरु यस प्रकार छन्:
➢ समाजबाट टाढिनेस् मान्छेलाई आफ्नो जीवनबाट अलग गर्दै, आफूलाई शारीरिक र भावनात्मक दुरी कायम गर्ने,
➢ आत्महत्या गर्ने बारेमा कुरा गर्ने,
➢ बेकम्मा महसुस, आक्रोशित, एक्लोपन, र कसैलाई मतलब हुदैन म मरे पनि भन्ने सोच आउने,
➢ स्वयं विनाशकारी व्यवहार देखाउदै जस्तै औषधि ओभरडोज, मदिरा दुरुपयोग, गैरजिम्मेवार गाडी हाँक्ने काम, आफैंलाई र अरुलाई जोखिममा पार्ने काम गर्ने,
➢ कहिल्यै भेटिने छैन भन्दै नोट लेख्ने, अलविदा नोटहरू छोड्ने
➢ आफ्नो व्यक्तिगत सामानको बारे ख्याल नगर्ने ।
➢ व्यक्तित्वमा अचानक परिवर्तन, अत्यधिक प्रसन्नदेखि एकाएक उदासिनातामा जाँने ।
➢ घातक हतियारहरू वा चीजहरू किन्ने जुन आफ्नै जीवन लिन प्रयोग गर्नको लागि
➢ मृत्यु, हिंसा र आत्महत्याको विचारले ग्रस्त हुनु
यदि हामीले कसैमा यस्तो संकेत देख्यौँ भने आत्महत्या सोचबारेमा कुरा गरौँ कुरा गर्दैमा आत्महत्या बढ्दैन बरु बचाउन सकिन्छ भन्ने बुझ्नु पर्छ। आत्महत्या बारेमा कुरा गर्दैमा आत्महत्या बढ्छ भन्ने भ्रम हटाउनु पर्छ। आत्महत्या रोकथाममा मनोचिकित्सक, मनोविद, मनोचिकित्सक नर्स, आत्महत्या रोकथाम सम्बन्धि तालिम लिएका व्यक्तिहरु र परामर्शदाताहरुको महत्तोपुर्ण भूमिका हुन्छ।
आत्महत्याको सोच आएमास् घनिष्ठ मित्र वा एक प्रिय व्यक्तिलाई सम्पर्क गर्नुहोस् जसले तपाईंको भावनाहरू बुझ्छ जस्तो लाग्छ उसंग आत्महत्या बारेमा कुरा गर्ने गाह्रो भएता पनि गर्नुहोस्, मनोविद, आध्यात्मिक व्यक्ति तपाईंको समुदायको पुज्य व्यक्ति कसैलाई सम्पर्क गर्नुहोस्, आत्महत्या हटलाइनमा कल गर्नुहोस्, डाक्टर, अन्य स्वास्थ्य सेवा प्रदायक वा मानसिक स्वास्थ्यकर्मीसंग भेट गर्नुहोस्।
आत्महत्या रोकथाममा ध्यान दिनु पर्ने कुराहरु:
● मिडियाले आत्महत्याको खबरलाई फ्रन्ट पेजमा नराखौँ , आत्महत्या बारे खबर दिदा व्यक्त्तिको सम्पूर्ण विवरण नखोलौँ, प्रयोग विधिलाई हाइलाइट नगरौँ, कसरि बच्न सकिन्छ भन्ने कुरालाई प्रस्तुत गरौँ।
● मानसिक स्वास्थ्यको ख्याल गरौँ जस्तै नियमित व्यायाम , स्वोस्थ खाना, पर्याप्त निद्रा ७ देखि ९ घन्टा सम्म, मनोरन्जनात्मक कार्यमा संलग्न हुने गरौँ ।
● उदासिनता र दुस्चिन्ता भएमा मनोविद र मनोचिकित्सकलाई भेटौँ,
● आफ्नो मानसिक स्वास्थ्यमा ध्यान दिदै मानसिक लक्षण प्रति सजग र सचेत बनौँ
● जोखिममा भएका व्यक्तिको नजिकमा हातहतियार नाराखौँ
● एक्कासी एक्लै बस्ने लक्षण देखिएमा एक्लै बस्न नदिने
● मानसिक उपचारलाई प्रोत्साहन गरौँ
● जनचेतना मुलक कार्यक्रम गर्ने , आत्महत्या सम्बन्धि ज्ञान दिने
● स्कुलमा यस्ता कार्यक्रम गर्ने
● हट लाइन नम्बर र हेल्प लाइन नम्बरको जानकारी दिने जस्तै मानसिक अस्पताल निशुल्क हटलाइन नम्बर ११६६ त्रिवि शिक्षण अस्पतालको १६६०-०१२१६०० , फोन नम्बर -९८४००२१६०० , टि.पी.ओ नेपाल -१६६००१०२००५ , राष्ट्रिय महिला आयोगको निशुल्क हटलाइन नम्बर ११४५ ,जसमा निशुल्क कुरा गर्न मिल्दछ र अन्य हेल्पलाइन नम्बरहरु नि छन् जुन इन्टरनेटमा हेर्न सकिन्छ।
मनोविद शर्मा मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, स्वयम्भू काठमाडौंमा कार्यरत हुनुहुन्छ ।