एक प्रोफेसरको आत्मलाप [कविता]
आऊ यो विग्रह तोडौं
आऊ त्यो चैतन्य खोजौं
अङ्कको ‘ एक ‘ जान्दा त
एक थियो नि जीवन अक्षरको ‘ क ‘ जान्दा त
अटुट थियो नि जीवन ।
आकास एउटै थियो
टेक्ने भुईं एउटै थियो
खाने कुरा एउटै थियो –
मामुको बुबु
घर पनि त एउटै थियो –
आमाको काख
भित्तो एउटै थियो –
बाबाको ढाड।
केवल एउटै थियो ‘समय’ कि
आँखा खोल्यो- दिन
चिम्ल्यो आँखा- रात ।
सम्झिरहेछु आज
किन पुग्दैन अनेकथरी
भोजनले
किन अपूरो लाग्छ
बाकासभरिको लब्धाङ्क पत्र
किन युद्ध गर्छ निद्रा-
सिङ्गै रातसँग
किन मान्छेहरु गिरोह जस्ता
लाग्छन्
किन सम्बन्धहरू जेलका
दिवार जस्ता लाग्छन् ।
किन खडेरी लाग्छ खेतमा
किन आउछ सलह यसै
बखत
किन लाग्छ धनसारमा मुसा
किन सकिन्छन् अगेनामा
दाउरा
उफ् !
किन निभिरन्छ बत्ती यहाँ ??
ठीक एक साल भो
श्रीमतीको आवाज हराएको
यही महिना हो ७ वर्षको
प्रेम टुङ्गिएको ।
दृष्टि धूमिल भए झैं लाग्छ
चालिसे पो लाग्यो कि?
छिन् छिनमा पिसाब लाग्छ
यो अज्ञात डर हो कि
मधुमेह सङ्केत ?
किन हुन्छ यस्तो कि,
दिनभर कमाऊँ कमाऊँ लाग्छ
र,रातभर कहाँ राखौँ लाग्छ ।
खै के जिन्दगी
नाफा, घाटा ??
सुख भनेको के ?
खै दुःख कस्तो ?
जेठो छोरा भएको हो
इन्जिनियिङ्ग सक्दा बित्तिकै जोगी
कान्छो छोराको दिमाग कस्तो
यो वर्ष ३ पटक दियो ८ कक्षाको परीक्षा ।
उफ् !
यो अति भो कसले बनायो
‘एक’ लाई दुई, तीन, र अरु
कसले सिकायो ‘क’ भन्दा अरु
अक्षर कसको नियम हो त्यो ?
बाबु,केटो,तरुण,प्रौढ…
काली, गोरी, प्रियसी, अर्धाङ्गिनी
को जिसस
बुद्ध
कृष्ण
मोहमद ?
आऊ यो विग्रह ताेडौ
आउ त्यो चैत्यन्य तोडौं ।