४ आश्विन २०८१, शुक्रबार

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र नेपाल कृषि अनुसन्धान परिषदबीच १६ बुँदे समझदारी

प्रकाशित मिति :  13 September, 2020 8:40 pm


काठमाडौं , २८ भदौ ।

चिया तथा कफी उद्योगको विकासका लागि अध्ययन, अनुसन्धान र नवप्रवर्तन गर्न भन्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र नेपाल कृषि अनुसन्धान परिषदबीच समझदारी भएको छ ।

कृषि तथा पशुपन्क्षी विकास मन्त्री  घनश्याम भुसालको उपस्थितिमा बोर्ड र परिषदबीच १६ बुँदे समझदारी भएको हो ।

समझदारी अनुसार नेपाली माटो तथा हावापानी सुहाउँदो चिया तथा कफी उत्पादन तथा प्रशोधन प्रविधिको विकास गर्न अनुसन्धनात्मक कार्यहरू कार्य गरिने छ भने उच्च गुणस्तर भएको, धेरै उत्पादन दिने र रोग किरा सहनसक्ने नेपाली चिया तथा कफीको नयाँ जात उन्मोचन गर्न अनुसन्धनात्मक कार्यहरू अघि बढाउने समझदारीमा उल्लेख छ ।

समझदारी पत्रमार परिषदको तर्फबाट कार्यकारी निर्देशक डा. दीपक भण्डारी र बोर्डको तर्फबाट कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराईले हस्ताक्षर गरेका छन् ।

समझदारी नेपालको चिया तथा कफी विकासका क्षेत्रमा देखा परेका तथा भविष्यमा पर्न सक्ने विभिन्न रोग, उत्पादन र उत्पादकत्व लगायत समस्याहरूको समाधानका विविध पक्षमा अध्ययन, अनुसन्धान गर्ने उल्लेख छ ।

समझदारी अनुसार चिया तथा कफी विकासका लागि आधारभूत   एवं प्रयोगिक  दुवै किसिमका अध्ययन तथा अनुसन्धानहरू गरिने छ ।

चिया तथा कफी उत्पादन तथा विकासका लागि आवश्यक पर्ने विभिन्न ज्ञान, अनुभव, अनुसन्धानका उपलब्धि, विधि र प्रविधिको विकास, नवप्रवर्तन, जैविक, आनुवंशिक, भौतिक, रसायनिक, भौगोलिक, जलवायु तथा वातावरणीय तथ्याङ्कहरूको डिजिटल डाटाबेस बनाउने र अनुसन्धान गरेका कृतिहरू संयुक्त प्रकाशन गर्ने पनि बोर्ड र परिषदबीच समझदारी भएको छ । सम्झदारीको भएका बुँदाहरु यसप्रकार छ:

  • नेपाली माटो तथा हावापानी सुहाउँदो चिया तथा कफी उत्पादन तथा प्रशोधन प्रविधिको विकास गर्न अनुसन्धनात्मक कार्यहरू गर्ने ।
  • उच्च गुणस्तर भएको, धेरै उत्पादन दिने र रोग किरा सहनसक्ने नेपाली चिया तथा कफीको नयाँ जात उन्मोचन गर्न अनुसन्धनात्मक कार्यहरू अघि बढाउने ।
  • नेपालको चिया तथा कफी विकासका क्षेत्रमा देखा परेका तथा भविष्यमा पर्न सक्ने विभिन्न रोग, उत्पादन र उत्पादकत्व लगायत समस्याहरूको समाधानका विविध पक्षमा अध्ययन, अनुसन्धान गर्ने।
  • चिया तथा कफी विकासका लागि आधारभूत (Basic) एवं प्रयोगिक (Applied) दुवै किसिमका अध्ययन तथा अनुसन्धानहरू गर्ने ।
  • चिया तथा कफी उत्पादन तथा विकासका लागि आवश्यक पर्ने विभिन्न ज्ञान, अनुभव, अनुसन्धानका उपलब्धि, विधि र प्रविधिको विकास, नवप्रवर्तन, जैविक, आनुवंशिक, भौतिक, रसायनिक, भौगोलिक, जलवायु तथा वातावरणीय तथ्याङ्कहरूको डिजिटल डाटाबेस बनाउने र अनुसन्धान गरेका कृतिहरू संयुक्त प्रकाशन गर्ने ।
  • जलवायु परिवर्तनका कारण नेपालको चिया तथा कफी उत्पादनमा आएका र आउन सक्ने विभिन्न समस्या र असरको न्युनीकरणका लागि अध्ययन अनुसन्धान गर्ने ।
  • चिया तथा कफी सम्बन्धी अध्ययन, अनुसन्धान, तालिम, दक्ष जनशक्ती उत्पादन, उच्च शिक्षा, नवप्रवर्तन र क्षमता विकास जस्ता कार्यक्रमलार्इ बढी उपयोगी र पूर्ण प्रयोगात्मक बनाउन सहकार्य गर्ने ।
  • चिया तथा कफी उत्पादन, उत्पादकत्व वृद्धि र नवप्रवर्तन सम्बन्धी विभिन्न क्षेत्रमा अन्वेषण, नयाँ अनुसन्धानका क्षेत्रहरू पहिचान, संयुक्त अनुसन्धान प्रस्ताव विकास, आवश्यक श्रोतहरूको व्यवस्थापन, अनुसन्धानका गतिविधिहरू सञ्चालन, अनुसन्धानका निष्कर्षहरूको प्रसार कार्य आदिको संयुक्त रूपमा खोजी गरी कार्यान्वयन र सहकार्य गर्ने ।
  • चिया तथा कफी क्षेत्रमा अनुसन्धान र क्षमता विकासका लागि प्रयोगशाला निर्माण तथा तत् सम्बन्धि आवश्यक पुर्वाधारको व्यवस्थापन गर्ने ।
  • नेपालमा चिया तथा कफीको अनुसन्धान तथा विकासका कार्यका लागि World Coffee Research Center लगायत अन्य मुलुकका चिया तथा कफीमा अनुसन्धानात्मक कार्य गर्ने साझेदार अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्रहरूको खोजी गरी सहकार्य गर्ने ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गर्नु पर्ने कामहरू

  • यस सम्झौतामा उल्लेख गरिएका लक्ष्य र उपलब्धी प्राप्तीका लागि प्रथम पक्षले मुलभुत रूपमा research site उपलब्ध गराउनेछ ।
  • Field level trail लगायत चिया तथा कफी कृषकका बगानमै गर्नुपर्ने कार्यहरूका लागि चिया/कफी कृषकहरूसँग समन्वय गर्नेछ ।

नेपाल कृषि अनुसन्धान परिषदले गर्नु पर्ने कामहरू

  • यस सम्झौतामा उल्लेख गरिएका लक्ष्य र उपलब्धी प्राप्तीका लागि दोश्रो पक्षले आवश्यकता अनुसार वैज्ञानिक, प्राविधिक जनशक्ती एवं ज्ञान, सिप उपलब्ध गराउनेछ ।
  • नेपाली चिया तथा कफीको नयाँ जात उन्मोचन लगायत ऐन अनुसार प्रथम पक्षको विशिष्टिकृत अधिकारक्षेत्रभित्र परेका कार्यहरू गर्नेछ ।

बजेट व्यवस्था सम्बन्धमा

  • यस सम्झौताको उद्देश्य अनुरूप काम गर्न दुवै पक्षले चालु आ.व.को वार्षिक स्वीकृत कार्यक्रम र बजेटको सिमाभित्र रहि आवश्यक प्रारम्भिक अध्ययन अनुसन्धनात्मक कार्यहरू गर्नेछन् ।
  • आगामी आ.व.हरूमा चिया तथा कफी सम्बन्धी अनुसन्धनात्मक कार्यहरू गर्न दुवै पक्षले आ-आफ्नो वार्षिक बजेटमा प्राथमिकताका साथ बजेट तथा कार्यक्रम समावेश गर्नेछन् ।

माथि उल्लेखित बुँदाहरूमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र नेपाल कृषि अनुसन्धान परिषद दुवै पक्ष प्रतिवद्ध भई यो समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । यो सम्झौता हस्तारक्षर भएको मितिबाट दुवै पक्षको सहमतिमा निस्कृय नपारिएसम्म निरन्तर लागु रहनेछ ।

 

 



प्रतिक्रिया दिनुहोस !