४ आश्विन २०८१, शुक्रबार

कुलमानको पक्ष लिएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार पार्टी प्रवक्ता श्रेष्ठमाथि खनिए

प्रकाशित मिति :  14 September, 2020 9:34 pm


काठमाडौ, २९ भदौ ।

कुलमान घिसिङको पक्ष लिएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठमाथी खनिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचार विभाग उपप्रमुख समेत रहेका थाले आज अबेर सामाजिक सञ्जाल मार्फत श्रेष्ठको कडा आलोचना गरेका   हुन् ।

घिसिङको कार्यकाल सकिएपछि दोस्रो पटक थप्नेकि नथप्ने भन्ने विषयमा वहस छ । आजको मन्त्रिपरिषद् बैठकले घिसिङको कार्यकाल थप्ने भनिएपनि कुनै निर्णय भएन । मन्त्रिपरिषद् बैठक सकिएको केहीबेरमै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको यस्तो धारणा सार्वजनिक भएको हो ।

उनले भनेका छन्, “कुलमान घिसिङको पक्ष र विपक्षका यतिबेला आ-आफ्ना मत र अभिमत होलान् । मलाई त आफ्ना निम्ति यो नजाने गाउँको बाटो सोध्ने झमेलामा पर्न रुचि छैन। तर एक अवधि पूरा गरेर हिजो विदा भएका व्यक्तिको पक्षमा पार्टीका प्रवक्ताको यस खुल्ला लबिङले कतै कुम्लो बोकी ठिमीतिर जस्तो पो भयो कि ?”

प्रवक्ता श्रेष्ठले कुलमान घिसिङलाई ‘नेपाल आमाका सपूत’ भनेको प्रतिपनि थापाले आपत्ति जनाएका छन् । उनले भनेका छन्,”नेपाल आमाका सपूतको पुनर्नियुक्तिको कानुनी व्यवस्था एउटा र गैरसपूतको अर्कै हुने हो कि प्रक्रियामा प्रतिष्पर्धा गरेर नयाँ नियुक्तिमा पर्नुपर्छरु सरकारले गर्ने काममा सल्लाह र सुझाव दिने यो विधि र तरिका संस्थागत निर्णय सार्वजनिक गर्ने कर्तव्य निर्वाह हो कि पदीय जिम्मेवारी विपरित व्यक्तिगत दबाब र लबिङ ? पार्टीको हाल जिम्मेवारी यही हो र ? ”

सबै नेताहरूले आफ्नो निकट वा मन परेका व्यक्तिको यसैगरी दबाब र व्यक्तिगत मूल्यांकन सार्वजनिक गर्दै हुनेलाई नहुने र नहुनेलाई हुनेतिर धकेल्नु स्वस्थकर हुन्छ र ? भन्दै थापाले श्रेष्ठलाई प्रश्न गरेका छन् । सरकारको मूल्यांकन, परामर्श, प्रक्रिया र निर्णयमा यसो गरेर के गर्न खोजिएको हो ? भन्दै सल्लाहकार थापाले पार्टीमा ऊर्जा क्षेत्र हेर्ने जिम्मा र गृहकार्यको संस्थागत दायित्व श्रेष्ठको भनाएको भन्दै अनि यो तरिका किन ? के आशय, अभिप्राय र नियतबाट उत्प्रेरित होला ? बुझ्नै पो कठीन भयो भनेका छन् ।

त्यस्तै प्रवक्ताको व्यक्तिगत सचिवालयअन्तर्गत रहेर प्रवक्ता श्रेष्ठले कोरोना संक्रमणका कारण संकट परेका बेला सहयोगि समूह बनाएकोप्रति पनि थापाले आलोचना गरेका छन् ।

उनले भनेका छन्, “निजी हिसाबमा ‘स्वयंसेवा दस्ता’ परिचालनको घोषणा अर्को उदेकलाग्दो कार्य जानकारीमा आयो । यो संगती र सरोकार नै नभएको कुरा भयो । चैत १० गतेदेखि लकडाउन गरेर यहाँसम्म आइपुग्दा सिंगो देश कोरोनासँग जुध्न सक्रिय छ । जसको पार्टी जिम्मेवारी स्वयंसेवक परिचालन होइन र त्यस्तो कार्यविभाजन कहींकतै छैन । यसमा एकाएक किन रुचि बढेको होला ?”

उनले सचिवालय अन्तर्गत व्यक्तिगत निर्णयबाट यसकामको लागि संस्थागत निर्णय, अख्तियारी र अनुमोदन पनि आवश्यक नै नपर्ने ? भन्दै प्रश्न गरेका छन् ।

थापाले श्रेष्ठलाई प्रश्न गर्दै भनेका छन्, “वितेका छ महिनासम्म केही गर्नुनपर्ने, सातौं महिना लाग्ने बेला यो के गर्न खोजिएको होला ? आपतविपद भनेको अहिले धून बजाउँदै आएको त होइन होला ? कि यी दुबै संस्थागत निर्णय नै उहाँबाट सार्वजनिक गरिएको हो ?”

थापाले आफू प्रचार विभागको उपप्रमुखको जिम्मेवारीमा रहेका कारण यसमा निकै खसखस लागेर आएको र सार्वजनिक रूपमा प्रचारित विषय हुनाले सार्वजनिक रूपमै यी दुई जिज्ञासा राख्न उपयुक्त सम्झेको सम्बद्घ सबैमा निवेदन गरेको उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !