पूर्वअर्थमन्त्री खतिवडा प्रधानमन्त्री ओलीका प्रमुख आर्थिक सल्लाहकार नियुक्त
काठमाडौं, ३० भदौ ।
पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार नियुक्त भएका छन् ।
हिजो बसेको मन्त्रीपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको सरकार प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।
खतिवडाले गत भदौ १९ गते मात्रै अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए। सांसद नभई ६ महिना बढी मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्थाका कारण खतिवडाले राजिनामा दिएका थिए ।
राष्ट्रिय सभा सदस्य हुँदा खतिवडा दुई वर्ष अर्थमन्त्री बने भने सांसद नहुँदा पनि ६ महिनाका लागि अर्थमन्त्री बनेका थिए । प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेर अर्थमन्त्रीमा निरन्तरता दिन चाहेका खतिवडाका लागि बामदेव गौतम तगारो बनेका थिए ।
नेकपाको सचिवालय बैठकले चुनावमा बर्दियाबाट पराजित उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेपछि खतिवडा बाहिरिएका थिए । तर, खतिवडा फेरि फरक भूमिकामा फर्किएका छन् ।