४ आश्विन २०८१, शुक्रबार

दुई महिनादेखि कृषि विश्वविद्यालयमा तालाबन्दी,खुल्ने टुंगो छैन

प्रकाशित मिति :  18 September, 2020 8:03 am


चितवन,२ असोज ।

अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै लाग्दासम्म खुल्न सकेको छैन । पदाधिकारीको अभावमा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ ।

विश्वविद्यालयको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको नेतृत्वमा अस्थायी र करार कर्मचारीहरु सहितले विश्वविद्यालयमा साउन १२ गते तालाबन्दी गरेका हुन् । उनीहरुले केन्द्रीय कार्यालयसँगै कृषि र भेटेरिनरी सङ्कायमा पनि तालाबन्दी गरेका छन् । सङ्गठनका अध्यक्ष अचल शाक्यका अनुसार कार्यरत २४ करार कर्मचारीलाई स्थायी र ८५ ज्यालादारी कर्मचारीलाई करारसहितका विभिन्न माग राख्दै तालाबन्दी गरिएको छ ।

हाल उपकुलपतिको जिम्मेवारी पाएका डा शारदा थपलियाले आफ्नो अधिकारबाहिर गएर अन्य सबै काम गरेको भए पनि आफ्ना मागहरु सम्बोधन गर्ने विषयमा अनुदार भएकै कारण तालाबन्दी गर्नुपरेको शाक्यको भनाइ छ ।

थपलियाले अहिले तत्काल सङ्गठनको माग सम्बोधन गर्न नसकिने जानकारी दिए । उनले भने, “नेपाल सरकारको नीति नियमले उहाँहरुले भने जस्तो गरी माग सम्बोधन गर्न सकिँदैन, यस विषयमा वार्ताका लागि अनुसन्धान निर्देशक डा नवराज देवकोटाको संयोजकत्वमा समिति बनाइएको छ तर उहाँहरू वार्ता गर्न आउनुुभएको छैन ।” सो विश्वविद्यालयमा एक वर्षअघि दैनिक काम काज गर्ने गरी जिम्मेवारी पाएका थपलियाले उपकुलपतिको काम गर्दै आएका छन् ।

विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष र रजिष्ट्रार पद रिक्त छ । कृषि र भेटेरिनरी सङ्कायमा निमित्तको रुपमा उपकुलपतिको जिम्मेवारी पाएका थपलियाले निमित्त डीनहरु नियुक्त गरेका छन् । अधिकांश पदाधिकारी निमित्त भएकाले विश्वविद्यालय पछिल्लो समय अस्तव्यस्त बनेको हो । रजिष्ट्रार नहुँदा विश्वविद्यालयसभा अझै हुन सकेको छैन । रासस



प्रतिक्रिया दिनुहोस !