३ आश्विन २०८१, बिहिबार

आज संविधान दिवस,राष्ट्रपतिद्धारा शुभकामना व्यक्त

प्रकाशित मिति :  19 September, 2020 7:44 am


काठमाडौं, ३ असोज ।

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७७ को शुभकामना दिएकी छन् ।

शुभकामना दिदै राष्ट्रपति भण्डारीले वर्तमान संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन् ।

उनले शुभकामनामा भनेकी छन्,”यस संविधान अन्तर्गत नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको छ र जनता राज्यशक्तिको स्रोत भएका छन् । जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने संघर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा आएको छ ।”

नेपाली जनताको लामो संघर्ष र बलिदानपछि पाँच वर्षअघि आजकै दिन जननिर्वाचित संविधानसभाद्वारा नेपालको संविधान जारी भएको ऐतिहासिक क्षणको सम्झना र सम्मान गर्न हामीले संविधान दिवसलाई राष्ट्रिय दिवसको रूपमा समेत मनाइरहेको उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्,” संविधान दिवस तथा राष्ट्रिय दिवसको यस सुखद् अवसरमा देशभित्र र बाहिर रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यस अवसरमा म संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका विभिन्न आन्दोलनको क्रममा अमूल्य जीवन गुमाउनु हुने ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । साथै मुलुकमा लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका आन्दोलनलाई पथ प्रदर्शन गर्नुहुने अग्रजहरूप्रति सम्मान एवम् श्रद्धा व्यक्त गर्दछु ।”

संविधानद्वारा प्रत्याभूत गरिएका मौलिक अधिकारहरूलाई सुनिश्चित गर्न विगत दुई वर्षमा तीनसयभन्दा बढी कानुनहरूको निर्माण भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख आर्थिक–सामाजिक प्रणाली विकास गर्न नयाँ कानुनहरूको कार्यान्वयनका लागि नेपाल सरकार अग्रसर रहेको भन्दै प्रशंसा गरेकी छन् ।

उनले भनेकी छन्,” संघ, प्रदेश र स्थानीय तहलाई शक्ति र स्रोतको बाँडफाँट गर्दै संघीय प्रणालीलाई संस्थागत गर्न जारी प्रयासको म सराहना गर्दछु ।”

आजको यस दिनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय संकल्प हासिल गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवम् मान्यताहरू कार्यान्वयन गर्न प्रेरणा दिने अपेक्षा लिएको राष्ट्रपति भण्डारीको भनाई छ ।

शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले भनेकी छन्,”यस अवसरमा संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमान्दार प्रयास जारी राख्न म सबैमा आह्‍वान गर्दछु ।”

विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवल कोरोनाभाइरस ९कोभिड–१९० को रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारले चालिरहेका कदमको सराहना गर्दै त्यसमा चाँडो सफलता मिल्ने अपेक्षा राष्ट्रपति भण्डारीको छ ।

 



प्रतिक्रिया दिनुहोस !