७ मंसिर २०८१, शुक्रबार

गजुल राज्य र हाम्रा पुर्खा

प्रकाशित मिति :  19 September, 2020 12:29 pm


 

मगर भाषामा गजुलको अर्थ दुई गाउँ बिचको भूभाग हुन्छ । यसको आसपासमा बस्ती भएकै कारण यसको नाम गजुल राखिएको हुनुपर्छ । प्राचीनकालदेखि यस क्षेत्रमा मगरहरूको बाहुल्य थियो । हामी मगरहरू आफूलाई सूर्यवंशी भन्दछौं ।

हिमाली क्षेत्रमा बिहान नै सूर्य किरण आइपुग्दछ । त्यही कारणले पनि पुर्खाहरूले आफूलाई सूर्यवंशी भन्नमा गौरव गरेका हुन सक्छन् । मगरहरू विभिन्न थर र उपथरका भए पनि हाम्रा पुर्खा एउटै थिए । जनसंख्या वृद्धिपछि बसाइसराई गरेर विभिन्न स्थानमा जाने क्रम सुरु भएपछि हाम्रा वंशजहरू विभिन्न भागमा फैलन पुगे ।

हिमाली क्षेत्रमा आएका भूकम्प, दैवी प्रकोपका साथै भौगोलिक जटिलताले पनि बसाईंसराईको क्रम बढेको हुन सक्छ । पैतृक थलो छाडे पनि नजानेर मानिसले पुर्खाको इतिहासलाई जीवन पद्धतिमा अपनाई राखेकै हुन्छन् । हाम्रा भाषा, लवज, संस्कार आदिबाट पुर्खाको पहिचान गर्न सजिलो हुन्छ । हालसम्म मगरहरू झण्डै हजार उपथरमा विभाजन भइसकेका छन् । जति भागमा विभाजन भए पनि हाम्रा परम्परा, संस्कृति, जीवनशैलीमा ं समानता पाइन्छ ।

मगरात राज्यमा राजाका निकटस्थ र प्रभावशाली भारदारलाई झिम्झे भनिन्थ्यो । झिम्झेहरू पदीय दृष्टिले उच्च र सम्मानित मानिन्थे । उनीहरू जिम्मेदार र कर्तव्य निष्ठ हुन्थे । खस भाषाको प्रयोग भएपछि ‘झिम्झे’ शब्दका ठाउँमा ‘घर्ती’ शब्द प्रयोग भयो । हाम्रा पुर्खा गजुलराज्यका अठार मौजाका मुखिया हुनुहुन्थ्यो । पहिलो काजी पदचाहिँ बगाले थापाले सम्हालेका थिए ।

गजुल राज्यको पहिलो मुखिया बन्ने सौभाग्य नयन पुनलाई मिलेको थियो । कालीनदी पश्चिममा १८ कोट भनिए पनि यसको संख्या योभन्दा धेरै थियो । राजाहरूले राज्यलाई पैतृक सम्पत्ति सरह अंश बण्डा लगाउने, बलिया सामान्त आफै राजा बन्ने परम्पराले यिनीहरूको संख्या घटबढ भइरहन्थ्यो । कालीनदी पश्चिममा रहेका कोटहरूमा सर्पाकोटका अन्तिम राजा नीलम्बर थिए । कालीनदी पूर्वका १२ कोट भनिएपनि यसको संख्या योभन्दा धेरै देखिन्छ । गोरखाको अन्तिम राजा मानसिंह खड्का थिए । उनले गोरखामा शासन गरेका थिए ।

हामा पुर्खा र थापाका पुर्खाले रुकुमको राजालाई जान्नु पर्ने रहेछ । राजालाई भेटेर आउने जाने क्रममा राज्य टाढा भएको चर्चा गरेछन् । हाम्रा पुर्खा र बगाले थापाका पुर्खाहरूले आफ्नै क्षेत्रमा राजा बनाउने निर्णय गरेछन् । संयोगवश यही समयमा सल्यानका राजाको अचानक मृत्यु भएछ । राजाका भाइ तुथासिंलाई राजा बनाउने दरबारीया भारदारहरूको सल्लाह भएछ । तुथासिं धर्मात्मा स्वभावका थिए ।

उनलाई राज्यको मोह थिएन । राजा बन्नका लागि भाउजूसँग विवाह गर्नुपर्दथ्यो । यी सबै कुरालाई तिलाञ्जली दिएर उनी जोगीको भेषमा तीर्थाटनका लागि निस्किएछन् । गजुल राज्य रुकुमकोट अन्तर्गत पर्दथ्यो । रुकुमकोटलाई हाम्रो भाषामा ‘सर्पाकोई’ भनिन्थ्यो । ‘कोई’को अर्थ कोट हुन्छ ।

राजा बन्न राजसी स्वभाव, राज खानदान हुनुपर्दथ्यो । हाम्रो क्षेत्रमा नयाँ राजा बनाउन, यस्तो गुण सम्पन्न मानिस हाम्रा पुर्खा र थापाका पुर्खाले खोज्दै थिए । जसले राजा भेट्छ उसले काजीको पद पाउने र अर्को मुखीया हुने सम्झौता दुवैका पुर्खाकाबीचमा भएछ । राजा बन्न योग्य व्यक्ति छनौटका लागि उनीहरूले एउटा सूत्र बनाए छन् ।

सर्वसाधारण मानिस भूईमा बस्छ तर राजा वा राजखानदानको मानिस आसनबिना बस्दैन । राजा खोज्ने क्रममा हाम्रा पुर्खाहरूले दिही’ भन्ने ठाउँमा पोखरी बनाई वरपरको भूमिलाई समतल बनाएछन् । यो ठाउँ मूलबाटो थियो । बगाले थापाहरूले ठाँटी भन्ने ठाउँमा त्यस्तै काम गरेछन् । दुवैले बाटो हिँड्ने यात्रीमाथि सचेत भएर चिहाउन थालेछन् । यही समयमा तुथासिं जोगीको भेषमा ठाँटीमा आइपुगेछन् ।

उनले बस्नका लागि वरपर आसन खोजेछन् । उपयुक्त आसन नपाएपछि गम्सा ओछ्याएर बसेछन् । यात्रीको गतिविधिलाई हेरेर बसेका थापाहरूलाई तुथासिंह माथि शंका लागेछ र सोधपुछ गरेछन् । छद्म भेषमा आएका तुथासिंले पहिले त आफ्नो वास्तविकता लुकाएछन् । अनेक प्रश्नहरू सोध्न थालेपछि वास्तविकता बताई दिएछन् ।

थापाहरूले उनलाई सम्झाई बुझाई गजुलक्षेत्रको राजा बन्न अनुरोध गरेछन् । अन्य थापा काजी बन्ने र हाम्रा पुर्खाहरूले चाहिँ अठार मौजाको कार्यभार सम्हाल्ने पक्का भयो । तुथासिंको घरबार चलाउन एवं नयाँ राज्यको स्थापना गर्न दुवैका पुर्खाहरूले अर्को रणनीति तयार गरेछन् । तुथासिंको विवाह भएको थिएन । रुकुमकोटमा दारेजैतम राजाले राज्य गर्दथे । तुथासिंको चिना लिएर रुकुमकोट की राजकुमारी माग्ने हाम्रा र बगाले थापाका पुर्खा गएछन् । चिना जुरेपछि दारेजैतमले छोरी तुम्बावती दिन तयार भएछन् ।

विवाह सम्पन्न भएपछि दुरान फर्काउन तुमसे ससुराली गएछन् । थापा र हाम्रा पुर्खाले तुम्बावतीलाई एउटा अभिनय गर्न लगाएछन् यही नियमलाई पालना गरेर उनी माइतबाट फर्कने बेलामा बेस्सरी रुइछन् । बुबा आमाले ‘किन रोएको ?’ भनेर सोध्दा उनले भनिछन् ‘म त्यहाँ के गर्न जाने ? न त राज्य ? न त भारदार ? बुबाले के हेरेर मेरो विवाह गराइदिनुभयो ?’

छोरी तुम्बावतीको विलौना सुनेर राजा र रानीको मन पग्लियो । अठार मौजा अर्थात् गजुल, खुमेल, खुङ्ग्री, रेउघा, धाङ्सी, लिवाङ, धवाङ, होवामा, मिझिङ, हरीगाऊँ, मैरी, जेदवाङ, खेमासे, मनघा, क्वालीगाऊँ, हिले, नुवाकोट, जङ्कोट मौजाको अठारवटा भङ्ग्रो तुम्बावतीले पाउने भइन् ।

छोरीलाई खुशी बनाएर यसरी दारेजैतमले छोरी ज्वाइँलाई बिदाई गरे । मौजाको मालिक राजा हुन्थे । यसरी प्रत्यक्ष रूपमा तुथासिं राजा बने । यसपछि औपचारिक रूपमा रुकुमकोटको कार्यभार छोडेर दाइजोको रूपमा आएको गजुलको १८ मौजाका काजी र मुखिया पद क्रमशः बगाले र हाम्रा पुर्खाले सम्हाले । यसपछि आफ्नो थर ‘पुन’ लेख्दै आएका हाम्रा पुर्खाहरूले घर्तीमगर लेख्न थाले ।

राजदरबारका इमान्दार, विश्वासिला र निकटवर्ती कर्मचारी हुनाले हाम्रा पुर्खालाई ‘घर्ती’ भन्ने पदवी दिइयो । गजुल राज्य स्थापना गर्न एवं त्यसलाई व्यवस्थित गर्नका लागि हाम्रा पुर्खाको योगदान महत्वपूर्ण छ । दरबार एवं राज्यमा शुभ, अशुभ कार्य एवं धार्मिक अनुष्ठानका लागि ब्राह्मणको आवश्यकता पर्दथ्यो । ब्राह्मण खोज्न हाम्रा पुर्खा अहिलेको प्यूठान जिल्लाको सेपुङ भन्ने ठाउँमा पुगे । पढेलेखेका पण्डितहरू आउन नमानेपछि सुवेदी थरका एक बच्चा बोकेर ल्याए । उनीहरूको सन्तान अहिले पनि त्यस क्षेत्रमा बस्दै आएका छन् ।

तुथासिंको शासन व्यवस्था राम्रो रह्यो, उनलाई जनता र समयले साथ दियो । बीचमा राजा र हामा पुर्खाबीच कहाँ ? के विषयमा ? मिलेन पुरोहित, काजी, मुखिया तीनै थरीलाई राज्यबाट निकालिदिए रे । सुवेदीले सम्हाल्दै आएको पुरोहित पदमा जाजरकोटको जक्तीपुरबाट ल्याइएका आचार्य थरका ब्राह्मण नियुक्त गरियो ।

काजीलाई निकालेर अन्य बगालेका सन्तान नियुक्त गरे । हाम्रा पुर्खा नयन पुनः लाई निकालेर जङ्कोटका पुनमगरहरूलाई नियुक्त गरियो । पदबाट हटेपछि हाम्रा पुर्खा हालको प्यूठान स्थित बेलाबास भन्ने ठाउँमा पुगेछन् राज्यका मूल मुखियाले पचास तोलाका सुनजडित टोपी लगाउने चलन थियो रे । उनको लवाई देखेपछि मुखिया पद सम्हाल्नका लागि अनुरोध गरेछन् । भर्खरै एउटा राजाले अपमान गरेका कारण त्यस पदलाई हाम्रा पुर्खाले स्वीकार गरेनन् र मुखिया हुँदा लगाएको टोपीलाई रु. ५० मा बेचेछन् । उनी प्यूठान भिङ्ग्रीमा बस्न थाले ।

यही नै उनको देहावसान भएको थियो । नयनका छोराहरू क्रमशः नीलकण्ठ, हृदु चमारे, भोगे गरी चार भाइ थिए । चमारे चाहिँ हालको प्यूठानको किमुचौरमा, हृदु रोल्पाको हरिगाउँमा, भोगेचाहिँ रोल्पाको खुमिलमा बस्न थाले । नीलकण्ठचाहिँ मिझिङमा आएका थिए । हामी उहाँकै सन्तान हौं । नीलकण्ठका छोरा दिलमन, दिलमनका छोरा लगन, लगनका जेठा छोरा भद्रवीरले मुखिया बन्न नचाहेपछि लगनका कान्छा छोरा जनवरी मुखिया बने ।

भद्रवीरका छोरा कलिराम, कलिरामका छोरा सन्तके, सन्तकेका छोरा नरबहादुर हुनुभयो । परमात्माको अनुकम्पाले यही वंशमा म नरबहादुरको जेष्ठ पुत्रको रूपमा जन्म पाएँ । मभन्दा दश पुस्ता अगाडिदेखि सम्हाल्दै आएको मुखिया पद, मेरो जीवनकालमा यो व्यवस्था उन्मुलन भयो । दैवको इच्छा, पितापुर्खाको आशीर्वाद, त्यस क्षेत्रका मानिसहरूको प्रेरणा, सद्भावले गर्दा मैले जीवनमा धेरै ठूला अवसरहरू पाएँ । जनताको अपेक्षाअनुसार काम गरें कि गरिनँ ? थाहा छैन तर देश को कुभलो, जनताको अहित हुने कार्य भने अवश्य गरिनँ भन्ने विषयमा म ढुक्क छु । म फेरि इतिहासतिर फर्कन चाहन्छु ।

तुथासिंहका धीर्जपाल र कर्णपाल नामका दुई छोरा थिए । उनले दुवै छोरालाई खुमिलघाटको  सीमाना राखेर गजुल राज्यका अंशका रुपमा विभाजन गरिदिए । खुङ्ग्रीमा कर्णपाल र गजुलमा धीर्जपालले शासन गर्न थाले । धीर्जपालको गजुल राज्य राम्रोसँग चल्यो । उनी धनी र सबल हुँदै गए । कर्णपालले केही वर्ष नुवाकोटमा बसेपछि खुङ्ग्रीकोटमा शासन गर्न थाले ।

त्यतिबेलाका राजा,राजकुमारहरुको जीवन साधारण हुन्थ्यो । कर्णपाल गरिब हुँदै गए । उनले धीर्जपाललाई मिझिङ गाउँ बेचिदिए । मैले पाएको ताम्रपत्रका अनुसार धीर्जपालले जम्मा रु १८०० (अठारह सय)मा मिझिङ गाउँ किनेका रहेछन् । धीर्जपालले कर्णपालसँग के शर्त गरेछन् भने ‘मिझिङ गाऊँको पैसा भुक्तान गरेमा फिर्ता गरिदिने । यसका लागि कर्णपालले दुनियाँ (जनता)बाट पैसा उठाउन पाउने छैनन् ।’

कर्णपालले ऋण तिर्न सकेनन् र मिझिङ गजुल राज्यमा नै गाभियो । गाभियो खुङ्ग्री र गजुल राज्यलाई उनीहरूकै सन्तानले राज्य गर्दै आए । नेपाल एकीकरणको क्रममा गोरखा सैनिकले गजुललाई आत्मसर्मपण गर्न भनेका थिए रे । गजुलले यसलाई स्वीकार गरेन । गोरखा सैनिक उनीहरूलाई आफ्नो अधिनमा लिए । यसरी गजुल विशाल नेपालमा समाहित हुन पुग्यो ।

खुङ्ग्रीका राजाले युद्ध नगरी आत्मसर्मण गरे । यो कुरा खुङ्ग्रीका एक जना ठकुरी सैनिकलाई विल्कुलै मन परेन । उसले तरबार निकालेर सय जना गोरखाली सैनिकलाई एक्लै काटेछन् रे । गोरखा सेनापति ’तिमीले के चाहन्छौं ?’ भन्दा ‘खुङ्ग्री राज्य थामि पाऊँ’ भनी माग गरेछन् । यसरी खुङ्ग्री छुट्टै राज्य भयो र ती सैनिकलाई सम्मानका साथ गोरखा सैनिकमा नियुक्त गरियो ।

अधिकांश गोरखाली सैनिकहरुले युद्धका क्रममा परिवार साथै लैजाने चलने थियो । उनीहरुलाई चाहिने रसद पानी सम्बन्धित गाउँलेहरूले जुटाउँथे । सैनिकहरूलाई खानका लागि अन्न कुत बुझाउने चलन थियो । सैनिकहरूलाई राज्यबाट खानपानको व्यवस्था गर्नै पर्दैनथ्यो । खुङ्ग्री राज्य धेरै पछाडिसम्म छुट्टै राज्यको रूपमा रह्यो । फत्ते प्रचण्डबहादुर सिंहको पालामा अर्थात् वि. सं. २०१८ सालमा त्यो राज्य विशाल नेपालमा मिल्यो । राजा महेन्द्रले वित्त उन्मुलन, राज्य रजौटा उन्मूलन नीति मार्फत सानातिना राज्यलाई नेपालमा गाभेका थिए ।

२०६२ /६३ सालको जनआन्दोलनपछि बाँकी रहेका चार राजाहरूको अस्तित्व समाप्त नै भयो । यसअघिसम्म चारवटा राजाले भत्ता पाऊँथे । खुङ्गीका अन्तिम राजा फत्तेप्रचण्डले जीवन भर भत्ता पाए । प्रारम्भमा उहाँको बार्षिक तीन हजार भत्ता थियो । कोटपूजाको लागि आवश्यक पर्ने सबै व्यवस्था नेपाल सरकारले मिलाई दिन्थ्यो ।

राजा महेन्द्रले इच्छा गर्नु भएको भए सबै राजाहरूलाई हटाउन सक्नुहुन्थ्यो । उहाँलाई कसैले भनेछ ‘नेपालमा अरु राजा रहे मात्र नेपाल नरेश ‘महाराज’ हुनुहुन्छ । त्यसकारण अन्य राजा हटाएर सल्यान, मुस्ताङ, जाजरकोट र बझाङका राजा राख्दा राम्रो होला ।’ यसैले चार ठाउँका राजा ऐतिहासिक जनआन्दोलनसम्म अस्तित्वमा थिए ।
एतिहासिक घटनाक्रम (भाग-१) पुस्तकबाट



प्रतिक्रिया दिनुहोस !