४ आश्विन २०८१, शुक्रबार

कृषि मन्त्रीलाई डेरी उद्योग संघको पत्र, दुग्धजन्य पदार्थ आयात रोक्न माग

प्रकाशित मिति :  22 September, 2020 8:05 am


काठमाडौं, ६ असोज ।

डेरी उद्योग संघले दुग्धजन्य पदार्थ आयात रोक्न सरकारसँग माग गरेको छ । कृषि तथा पशुपन्क्षी विकास मन्त्री घनश्याम भुसाललाई पत्र लेख्दै संघले स्वदेशी दुग्ध क्षेत्रलाई प्रोत्साहन गरि विदेशबाट पलायन भएका युवाहरुलाई पशुपालन तथा दुग्ध उत्पादन तर्फ आर्कषित गर्न आगामी केहि वर्षका लागि दुग्धजन्य पदार्थ आयातमा रोक लगाएको हो ।

संघले केही दिन अघि मन्त्री भुसाललाई लेखेको पत्रमा भनिएको छ,“स्वदेशी दुग्ध क्षेत्रलाई प्रोत्साहन गरि विदेशबाट पलायन भएका युवाहरुलाई पशुपालन तथा दुग्ध उत्पादन तर्फ आर्कषित गर्न आगामी केहि वर्षका लागि स्किम मिल्क पाउडर, होल मिल्क पाउडर, मख्खन, घीउ, चीज, मोज्जेरा चीज, पनीर, डेरी स्प्रेयर, आइसक्रिम, सम्पूर्ण फ्रोजन आइसक्रिम प्रोडक्ट्सहरु (भेजिटेवल फ्याटबाट वनेको आइसक्रिम) समेत आयातमा रोक लगाई पाउन माननीय मन्त्री ज्यू समक्ष हार्दिक अनुरोध गर्दछौं ।”

विश्वव्यापी रुपमा फैलिएको कोरना भाइरसका उत्पन्न विषम परिस्थितिले स्वदेशी उद्योगहरुमा ठूलो परिमाणमा स्किम मिल्क पाउडर, होल मिल्क पाउडर, बटर, आइसक्रिम, आदीको मौज्दात रहको भन्दै संघले यी वस्तुको मौज्दात तथा स्वदेशमा स्थापना भएका धुलो दूध कारखाना एवं डेरी उद्योगहरुको उत्पादनले आन्तरिक खपत पूर्ति गर्न सकिने बताएको छ ।

देशलाई दूध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ नेपाल सरकार कृषि पशुपंक्षी विकास मन्त्रालय पशु सेवा विभाग मातहतका पशु सेवा केन्द्र मार्फत कृतिम गर्भधान र नश्ल सुधारका कार्यक्रम व्यापक रुपमा संचालन भई वार्षिक १२–१३ प्रतिशत दुग्ध उत्पादन वृद्धि भएको समेत संघले स्मरण गराएका अध्यक्ष राजकुमार दाहालले जानकारी दिए ।

विदेशमा पलायन भएका युवा जनशक्तिलाई यो व्यवसाय तर्फ आर्कषित गर्न र हाल उत्पादन भई रहेको दूधको बजार सुनिश्चित गर्न पनि दुग्धजन्य पदार्थको आयात राक्नेपर्ने संघको तर्क छ ।

स्वदेशमा स्थापना भएका धुलो दूध कारखानाहरु, नीजि डेरी उद्योगहरु र दुग्ध विकास संस्थानमा जडित क्षमताले देशलाई आवश्यक हुने गुणस्तर युक्त दुग्धजन्य पदार्थहरु उत्पादन गर्न संक्षम भएको भन्दै संघको दाबी छ ।

हालको विषम परिस्थितिले पर्यटन व्यवसाय एवं धार्मिक तथा सामाजिक उत्सव प्राय: ठप्प भएको कारण पहिलाको भन्दा ६० प्रतिशत खपत कम भएको भन्दै संघले मन्त्री भुसाललाई लेखेको पत्रमा यो अवस्था थप केहि सम्म लम्विने भएकाले पनि बारिहबाट दुग्धजन्य पदार्थको आयातमा रोक लगाउनुपर्ने माग गरिएको छ ।

पत्रमा भनिएको छ,“अतः स्वदेशी किसानहरुले उत्पादन गरेको दूधको बजार सुनिश्चित गरी आगामी फ्ल्स सिजनमा हुन सक्ने सम्भावित मिल्क होलिडे अन्त गर्न विदेशबाट आयात हुने दुग्धजन्यको आयात रोकी पाउन माननीय मन्त्रीज्यू समक्ष हार्दिक अनुरोध गर्दछौं ।” संघका अध्यक्ष दाहालले आफ्ना माग सरकारले पुरा गर्ने विश्वास व्यक्त गरे ।

उनले भने,“ यो हामी सबैका लागि राम्रो हुने छ र सरकारले सकारात्मक ढंगले लिने छ भन्न हाम्रो विश्वास छ ।”



प्रतिक्रिया दिनुहोस !