३ आश्विन २०८१, बिहिबार

मह बेचेर गाउँमा भित्रियो रु ४० लाख

प्रकाशित मिति :  22 September, 2020 5:39 pm


म्याग्दी, ६ असाेज । 

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा यो वर्ष भीरमौरीको मह विक्री गरेर रु ४० लाख भित्राएका छन् । कुइनेमङ्गलेका ३९ वटा साना–ठूला भीर पहरामा भीरमौरी पाइन्छ । ठूलो भीरमा एक सय घार, रुम भन्ने ठाउँमा ६०, जिर्जा भीरमा ५०, पन्थेडम्बार भीरमा ४० घार काटेर मह निकालेको मह ब्यापारी समेत रहेका स्थानीयवासी चित्र छन्त्यालले बताए ।

ठूलो भीरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भीरमा दिनभरी खर्चिनुपर्ने उनले बताए ।  १५ सयदेखि २५ सय मिटरको उचाइका पहाडमा यो वर्ष करिब दुई हजार लिटर मह निकालिएको उनकाे भनाइ छ । बजारमा भीरमह प्रतिलिटर रु दुई हजारमा विक्री भइरहेको उनले बताएका छन् । मह निकाल्नका लागि भीरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा शिकारी बाँडिएका हुन्छन् । एक समूहले भीरको माथीबाट तल भुईंसम्म डोरी झुन्डाउँछन् भने भीरको तलपट्टी रहेका अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्छन् ।

मह निकाल्ने स्थानीय भाषामा भिरौटेलाई व्यापारीले दैनिक रु तीन हजार, मह तान्ने टाउकेलाई रु एक हजार आठ सय र मह छान्ने सिपालुलाई रु एक हजार पाँच सयसम्म ज्याला दिनुपर्ने छन्त्यालको भनाइ छ । अन्तर्राष्ट्रियस्तरमा भीरमहको माग उच्च छ । एक सिजनमा ज्याला, राजस्व र अन्य व्यवस्थापन गरी करिब रु २५ लाखभन्दा बढी खर्च हुन्छ भने मह विक्रि गरेर रु ४० लाखको हाराहारीमा आम्दानी भएको मह व्यापारीको भनाइ छ ।रासस

 



प्रतिक्रिया दिनुहोस !