४ आश्विन २०८१, शुक्रबार

खेतीको १५७ वर्षपछि नेपाली चियाको ट्रेडमार्क कार्यान्वयनमा, पहिलो चरणमा १२ उद्योगले पाए

प्रकाशित मिति :  22 September, 2020 6:46 pm


 

इलामको फिक्कलमा नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क कार्यान्वयन घोषणा कार्यक्रम

काठमाडौं,६ असोज ।

नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क औपचारिक रूपमा कार्यान्वयनमा आएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा इलामको फिक्कलमा आज भएको कार्यक्रममा कृषि तथा पशुपन्क्षी विकास मन्त्री घनश्याम भुसालले नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क औपचारिक कार्यान्वयनको घोषणा गरे ।

कार्यक्रममा ‘ नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४’ ले तय गरेका मापदण्ड र आचार संहिता पालना गरेका १२ वटा चिया उद्योग र सहकारीहरूलाई ट्रेडमार्क प्रयोग गर्न इजाजत प्रदान गरिएको छ । ट्रेडमार्क प्रयोगका लागि ४२ वटा चिया उद्योगहरूले निवेदन पेश गरेका थिए । यो सँगै विगत एक दशकभन्दा लामो समयदेखि छलफलमा रहेको नेपाली चियाको ट्रेडमार्क कार्यान्वयनमा आएको छ ।

१५७ वर्षपछि बनेको इतिहास

नेपालमा चिया खेती गर्न थालिएको १५७ वर्ष पुगेको छ । विसं १९२० मा इलामका तत्कालीन बडाहाकिम तथा जङ्गबहादुरका ज्वाइँ गजराज सिंह थापाले इलाममा चिया रोपण सुरु गरेका थिए ।

अहिलेसम्म आउँदा चियाको उत्पादनमा नेपाल आत्मनिर्भर भएको छ । देशको व्यापारघाटा ११ खर्ब पुगिरहेका बेला भारत लगायत तेश्रो मुलुकमा समेत चिया निर्यात गरी देशको अर्थतन्त्रमा राम्रो भुमिका चिया क्षेत्रले खेलिरहेको तथ्याङ कृषि मन्त्रालयको छ ।

नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क

कार्यक्रममा प्रमुख अतिथि रहेका कृषि तथा पशु पन्क्षी विकास मन्त्री घनश्याम भुसालले भने,“हामीलाई थाह छ, हामीले उत्पादन गरेको चिया विश्वमै अब्बल गुणस्तरको छ । स्वच्छ हावापानी पाएर यस उर्बर भूमिमा उत्पादन भएको नेपाली चियाले सबै चिया पारखीहरूको मन जितेको छ । तर यति हुँदा हुँदै पनि आजसम्म हाम्रो चियाले आफ्नै पहिचान पाएको थिएन, आफ्नै नाम पाएको      थिएन ।”

चिया खेतीको इतिहासमा नेपालले पहिले पटक ट्रेडमार्क कार्यान्वयनमा आएको छ । अहिलेसम्म अन्य मुलुकको ट्रेडमार्क लागेर तेश्रो देशमा लामो समयदेखि नेपालको चिया बिक्री भइरहेको थियो ।

 

मन्त्री भुसालले भने, “यसलाई रोक्न नेपाली चियाले आफ्नै पहिचान स्थापित गर्न जरूरी थियो । विगत एक दशक देखिको निरन्तर प्रयास पछि आज बल्ल नेपाली चियाले आफ्नै पहिचान पाएको छ । हाम्रो मन्त्रालय मातहत रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पहलमा नेपाली चियाले आफ्नै पहिचान पाउने भएको छ । ”

Tea Quality From the Himalayas  नामको ट्रेडमार्क उद्योग विभागमा २०७२ असार २२ गते नै दर्ता भएको थियो । ट्रेडमार्क प्रयोग गर्ने चिया उद्योग, सम्बद्ध चिया उत्पादक कृषक, संकलनकर्ता र चियाको मूल्य श्रृंखलामा क्रियाशिल सबैको लागि मापदण्ड तय गरी निर्देशिका बनाउन केही वर्ष लाग्यो । बोर्डले निर्देशिका बनेर स्वीकृत भएपछि अब यो कार्यान्वयनमा आउने चरणमा पुगेको छ ।

पहिलो चरणमा १२ उद्योगले पाए ट्रेडमार्क

बोर्डले गतवर्ष नै यस ट्रेडमार्क प्रयोगका लागि इच्छुक चिया उद्योगहरूलाई निवेदन दिन सार्वजानिक आह्वान गरेको थियो । बोर्डले दिएको जानकारी अनुसार कुल ४२ वटा चिया उद्योगहरूले निवेदन दिएका थिए । निर्देशिकाले तय गरेका मापदण्डहरू पालना गरि चिया उत्पादन भएकोरनभएको बारे बोर्डले स्थलगत अनुगमन गरी प्रतिवेदन बनाएको थियो ।

सोही प्रतिवेदनका आधारमा १२ वटा चिया उद्योगहरूले मापदण्ड पुरा गरेको ठहर भएपछि आज पहिलो चरणमा यि १२ वटा चिया उद्योग तथा सहकारीहरूको लागि ट्रेडमार्क प्रदान गरिएको छ ।

मन्त्री भुसालले भने,“मापदण्ड पुरा नभएका बाँकी चिया उद्योगहरूको प्राविधिक क्षमता विकासका लागि बोर्ड र मन्त्रालयले अबका दिनहरूमा काम गर्नेछ । यस्तो दिन आउनेछ, जुन दिन नेपालमा उत्पादन हुने सबै चियाले गुणस्तरियता कायम गरेर यो ट्रेडमार्क लागेर मात्रै स्वदेश तथा विदेशमा नेपाली चिया विक्री हुनेछ। बोर्डले यो दिशामा काम गरोस् भन्ने निर्देशन म यहि मञ्चबाट दिन चाहन्छु ।”

पहिलो चरणमा ट्रेडमार्क पाउने उद्योगहरुमा हिमालयन सांग्रीला टि प्रोड्यूसर्स प्रा.लि, उच्च पहाडी चिया उत्पादक सहकारी संस्था लि. जस्बिरे टि प्रशोधन उद्योग,सगरमाथा टि स्टेट प्रा.लि, बोक्रेडाँडा अर्गानिक अर्थोडक्स चिया प्रशोधन उद्योग, सिंहदेवी चिया उत्पादक सहकारी संस्था लि,गोर्खा टि स्टेट प्रा.लि,नेपाल ग्रिन टि एण्ड स्पेसियालिटि,ओएसिस टि इन्डस्ट्रिज,तारागाउ टि स्टेट,साखेजुङ्ग हिल रेन्ज चिया प्रशोधन उद्योग रहेका छन् ।

ब्राण्ड प्रवर्द्धनमा भूमिका खेल्ने मन्त्री भुसालको प्रतिबद्धता

नेपाली चियाको ट्रेडमार्क कार्यान्वयनमा आएसँगै अब चियाको बजारिकरणमा त्यति समस्या आउने मन्त्रालयको विश्वास छ । मन्त्री भुसालले भने,“स्वदेशी र भारतको बजारमा त यहाँहरूले चिया विक्री वितरण गर्दै आउनु भएकै छ । अब चीन, अमेरिका र युरोपेली बजारमा पनि विक्री गर्न आक्रामक ब्राण्डिङ र मार्केटिङ गर्न जरुरी म देख्छु । विदेशस्थित सबै कूटनीतिक नियोग र महावाणिज्यदूतमार्फत नेपाली चियाको ब्राण्ड प्रवर्द्धन गर्न म आफै समन्वयात्मक भूमिका खेल्नेछु ।”



प्रतिक्रिया दिनुहोस !