४ आश्विन २०८१, शुक्रबार

पुर्नकर्जाका लागि सिफारिस गरिदिन डेरी उद्योगीहरुद्धारा कृषि मन्त्रालयलाई आग्रह

प्रकाशित मिति :  23 September, 2020 9:11 am


काठमाडौं,७ असोज ।

डेरी उद्योगीहरुले पुर्नकर्जा पाउने व्यवस्थाका लागि सिफारिस गरिदिन आग्रह गरेका छन् ।

डेरी उद्योग संघले कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयलाई लकडाउनकैबीच २ पटक पत्र लेखेर डेरी उद्योगीहरुले पुर्नकर्जा पाउने व्यवस्थाका लागि सिफारिस गरिदिन आग्रह गरेका हुन् ।

नेपालका उद्योग व्यवसायहरुको पुर्नउत्थान गर्न हालै नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनमा दुग्ध उद्योगहरुलाई समेत अति प्रभावित क्षेत्रको सूचिमा समावेश गरी ५ करोड रुपैयाँसम्म पुर्नकर्जाको सुविधा दिने गरि वित्तिय संस्था मार्फत यही असोज १४ भित्र निवेदन दिन सूचना जारी भएको छ ।

तर, सहुलियत रुपमा कृषि कर्जा लिएकाले पुर्नकर्जा नपाउने व्यवस्था भएपछि डेरी उद्योगीहरुले मन्त्रालयलाई गुहारेका हुन् । संघका अध्यक्ष कुमार दाहालले भने,“मन्त्रालयले पुर्नकर्जाको व्यवस्था हुन्छ भन्ने आश्वासन दिएको थियो तर राष्ट्रबैंकले कृषि सहुलियत कर्जा लिएकालाई पुर्नकर्जा नदिने भन्यो । हामीले जे आश्वासन पाएका थियौं पुरा हुन सकेन ।”

संघले भनेको छ,“विगतमा पनि ५ करोड रुपैयाँसम्म सहुलियत कृषि कर्जा लिई सकेका डेरी उद्योगहरुलाई पनि हालको विषम परिस्थितिमा डेरी उद्योगहरु पुर्नउत्थान गर्न अधिकतम् ५ करोड रुपैयाँसम्म पुर्नकर्जा पाउने व्यवस्थाका लागि सम्बन्धित निकायमा आवश्यक पहल गरी दिनु हुन माननीय मन्त्री ज्यू समक्ष विनम्र अनुरोध गर्दछौं ।”

लकडाउनका कारण डेरी उद्योगहरुमा झण्डै २ अर्ब ५० करोडको दुग्धजन्य पदार्थ मौज्दात रहेको संघको भनाई छ ।

माहामारीको रुपमा फैलिएको कोरना भाइरस (कोभिड १९) का कारण भएको वन्दावन्दीले स्वदेशी उद्योगहरुमा ठूलो परिमाणमा स्किम मिल्क पाउडर, होल मिल्क पाउडर, बटर, आइसक्रिम, चीज, आदीको मौज्दात रहन गई किसानको नियमित भुक्तानी, बैंकको व्याज, कर्मचारीको तलव समयमा बुभाउन समस्या भएकको अध्यक्ष दाहालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !