३ कार्तिक २०८१, शनिबार

निजी अस्पतालले पीसीआर परीक्षणको शुल्क घटाएनन्, ११ दिनमा ३ करोड रुपैयाँ बढी उठाए

प्रकाशित मिति :  27 September, 2020 7:15 am


काठमाडौँ, ११ असोज ।

सरकारको कमजोरीको फाइदा उठाउँदै काठमाडौं उपत्यकाका आठवटा निजी प्रयोगशालाले १३ दिनमा साढे १७ हजार जनाको पीसीआर गर्दा तोकिएभन्दा ३ करोड ५२ लाख रुपैयाँ बढी लिएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ २८ मा कोरोना संक्रमण छुट्याउने पीसीआर परीक्षणको शुल्क २ हजार रुपैयाँ तोकेको थियो । तर निजी ल्याबहरूले भदौ १५ मा तोकिएअनुसारै ४ हजारदेखि ४ हजार ४ सय रुपैयाँसम्म लिइरहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बिहीबार र शुक्रबार गरेको अनुगमनमा निजी प्रयोगशालाले आन्तरिक निर्णयबाट शुल्क निर्धारण गरी लिने गरेको पाइएको शाखा अधिकृत इन्दिरा आचार्यले जनाएकी कान्तिपुर दैनिकले लेखेको छ ।

त्यस्तै कोरोना भाइरसको संक्रमण पत्ता लगाउन गरिने आरटी–पीसीआर परीक्षणका लागि काठमाडौंको स्टार अस्पतालले सरकारले तोकेकोभन्दा झन्डै दोब्बर शुल्क लिइरहेको पाइएको नयाँ पत्रिका दैनिकले लेखेको छ । सरकारले शुल्क घटाएयताको १३ दिनमा मात्रै स्टारले एक करोड २८ लाखभन्दा बढी शुल्क असुल गरेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार स्टार अस्पतालले प्रत्येक दिन चार सयभन्दा बढी नमुना परीक्षण गरिरहेको छ । यो १३ दिनमा सरकारले तोकेकै शुल्क परीक्षण गर्दा पनि स्टार अस्पताललाई प्रतिनमुना पाँच सयका दरले ३३ लाख ९० हजार रुपैयाँ फाइदा हुने प्रयोगशाला विज्ञहरू बताउँछन् ।

तर, स्टार अस्पतालले सरकारले तोकेभन्दा एक हजार आठ सय ९९ रुपैयाँ बढी शुल्क लिएर परीक्षण गरिरहेको छ । प्रतिनमुना एक हजार आठ सय ९९ रुपैयाँ बढी लिएर ६ हजार सात सय ८० जनाबाट १३ दिनमा एक करोड २८ लाख ७५ हजार दुई सय २० रुपैयाँ असुलेको छ ।



प्रतिक्रिया दिनुहोस !