९ मंसिर २०८१, आइतबार

‘अलमलिएको नार्क’ भोगेर नेतृत्वमा पुगेका कार्यकारी निर्देशक भण्डारीका चुनौती

प्रकाशित मिति :  28 September, 2020 11:27 am


काठमाडौँ, १२ असोज ।

२०७५ मंसिर १५ गते नेपालगञ्जमा भएको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको प्रथम चौमासिक प्रगति समिक्षा गोष्ठिमा तत्कालिन कृषि मन्त्री चक्रपाणि खनाल भाग लिन गएका थिए ।

उक्त कार्यक्रमका उनले भने,“नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को प्रगतिबाट पाँच प्रतिशत मात्रै सन्तुष्ट   छु ।” कृषि क्षेत्रको अनुसन्धानको जिम्मा पाएको नार्कप्रति तत्कालिन कृषिमन्त्रीको एक किसिमको आक्रोश थियो । नार्कप्रति यस्तै खालका असन्तुष्टि र आक्रोशहरु अहिलेपनि सामान्य हो ।

बैज्ञानिक पलायन, अस्तव्यस्तता, लामो समयसम्म नेतृत्वविहिनता, अनुसन्धानलाई कृषकसँग जोड्न नसकेकोजस्ता आरोप नार्कका लागि कुनै नौलो थिएन । तत्कालिन कृषि मन्त्री खनालले आलोचना गर्दादेखि नै नार्क नेतृत्वविहिन समेत थियो ।

कामचलाउँकै शिलशिलामा डा. दिपक भण्डारीले कायममुकायम जिम्मेवारी पाए । कायममुकायम पाएलगत्तै भण्डारीलाई वर्तमान कृषि तथा पशुपन्क्षी मन्त्री घनश्याम भुसालले छ महिनाअघि नै भनेका थिए,“तपाईंले आफ्नो तयारी गर्नुस्, राम्रो भए तपाईं नै नियुक्त पनि हुनसक्नुहुन्छ होईन भने तपाईंहरुमध्यबाटै कोही नियुक्त हुनुहुन्छ तर पदपूर्ति छिटो हुन्छ ।”

कृषि मन्त्रालय सम्हालेदेखि मन्त्री भुषाल नेतृत्व विहिन रहेका मन्त्रालय मातहतका बोर्ड, विकास समिति, संस्थानमा खुल्ला प्रतिस्प्रधाबाट नियुक्तिलाइ सकृयतापूर्वक अगाडी बढाईरहेका थिए । कृषि क्षेत्रको अनुसन्धान गर्ने निकाय कृषि अनुसन्धान परिषद्मा पनि मन्त्रीस्तरबाट हुने परिषद् सदस्य नियुक्त सकिसकेका थिए । बाँकी थियो कार्यकारी निर्देशक नियुक्ति ।

कार्यकारी निर्देशक पनि खुल्ला प्रतिस्प्रधाबाट बरिष्ठतामा समेत अगाडी रहेका डा. भण्डारी नै मन्त्रीपरिषद्बाट हिजो नियुक्त भएका छन् । भण्डारीले सबै हिसाबले अगाडी देखिएपछि नार्कको जिम्मेवारी पाएका हुन् ।

मन्त्री भुसालको ध्यान अन्यक्षेत्रसँगै अनुसन्धान क्षेत्रलाई प्राथमिकता दिएका छन् । बजेटमा बिदेशी विज्ञहरुलाई अनुसन्धानका लागि नेपालमा ल्याएर अनुसन्धान गराउने व्यवस्था समेत गराएका छन् । त्यति मात्र होईन राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र नार्कबीच अनुसन्धानमा सहकार्य गर्ने गरि सम्झौता समेत गराएर नयाँ छनकसमेत दिईसकेका छन् ।

तर, कृषि क्षेत्रको अनुसन्धान गर्ने जिम्मा पाएको नार्क आफै थला परेको छ । नार्कमा सुशासनको पाटो चुनौतीपूर्ण छ । यसको पुर्नसंरचनाको आवाज समेत उठिरहेको छ । प्रश्नैप्रश्नले घेरिएको नार्कलाई नयाँपन दिने मन्त्री भुसालको योजना र त्यसको ‘सारथी’को रुपमा बाली विशेषज्ञ भण्डारीले जिम्मेवारी पाएका छन् ।

भण्डारीले जिम्मेवारी पाईरहँदा नार्कको ऐन समयसापेक्ष हुने गरि वर्षौदेखि संसोधन हुन सकेको छैन भने निजामति सरहसमेत सुविधा छैन । अनुसन्धानमा रहेका बेला २४ सै घण्टा खटिदा थप सुविधा नभएको कर्मचारीहरुको गुनासो छ । नार्कका अनुसन्धान फार्म राम्रोसँग चल्न सकेका छैनन् ।

वैज्ञानिक पलायन सबैभन्दा ठूलो समस्या बनेर बसेको छ । २०५२ सालदेखि नार्क देख्दै आएका भण्डारीलाई यि समस्यापनि नौला भने    होईनन् । नार्कका एक कर्मचारीले भने, “भण्डारी सरले सबै समस्या देख्नुभएको छ भोग्नुभएको छ आफैपनि भुक्तभोगी भएकाले केही परिवर्तन त होला । ”

कार्यकारी निर्देशक भण्डारीले पनि नार्क कता जाने हो अहिले प्रष्ट नरहेकाले बाटो प्रष्ट पार्नु आफ्नोपहिलो काम रहेको बताए । उनले आन्तरिक र बाहिरी चुनौती तय गरि त्यसलाई समाधान गर्ने बताए ।

लुम्बिनी सञ्चारसँगको कुराकानीमा नार्कका नवनियुक्त कार्यकारी निर्देशक डा. दीपक भण्डारीले आफ्ना योजनाहरु यसरी सुनाए्:

नार्कमा अहिले आन्तरिक र बाह्यि दुबै किसिमका सुधार गर्नुपर्ने छ । अहिले नार्क कुन स्थितिमा छ भन्नेकुरा स्पष्ट छैन । विगतमा यसलाई बलियो स्वायत्त संस्थाको रुपमा निर्माण गर्ने उद्धेश्यले २०४८ सालको ऐनअनुसार ५० सालदेखि सुरु गरियो ।

अहिले आएर यसको स्वायत्तताहरु अतिकति खुम्चदै गए जसले गर्दा पूर्ण स्वायत्तताको रुपमा यसले काम गर्न सकेको छैन । त्यसैले पहिलो त नेपाल सरकार मातहत यसलाई पूर्ण स्वायत्त निकायको जुन विशेषताहरु हुन्छन्, जुन अधिकारहरु हुन्छन्, जुन क्षेत्रअधिकारहरु हुन्छन् त्यसलाई हामी स्पष्ट गरेर हामीले पहिले एउटा राजमार्ग तयार गरेर नार्क हिड्ने बाटो के हो त भन्ने छुट्टाउनुपर्ने छ । त्यसको लागि हामीलाई माथिल्लो निकायबाट ठूलो सहयोग र सदभावको खाँचो छ ।

हामीले अलिकति ऐन कानुनहरुको अलिकति परिमार्जन गरेर अगाडी बढ्छ यि बाहिरी कारण भए भने हाम्रा आन्तरिक कारणहरुमा विविध कारणहरुले गर्दा नार्कमा अहिले विशेष गरेर बैज्ञानिकहरुको मनोबल खस्किएको छ ।

ति बैज्ञानिकहरुको मनोबल उच्च बनाउनका लागि हामीले विभिन्न आन्तरिक सुधारहरु गर्नुपरेको छ । त्यसमा विशेष मेरो जोड रहेन छ । त्यसले गर्दाखेरी उनीहरुले उच्च मनोबलले काम गर्न सकेनन् । अहिलेसम्मको स्थिति के छ भने वैज्ञानिकहरु आउने नटिक्ने, केही वर्ष काम गर्ने र छोडेर विदेश पलायन हुने अथवा अरु सेवाहरुमा जाने त्यसका लागि उनीहरुको मानमर्यादा,इज्जत, सेवा सुविधामा हामीले बृद्धिगर्नुपर्ने अपरिहार्य छ र यसतर्फ मैले काम गर्नुे छु ।

तेस्रोमा चाही विगत केही वर्षदेखि सुशासनको ठूलो ह्रास आइरहेको छ । खास गरेर सुशासन कार्य गर्नुपर्ने,विनियमहरु परिमार्जन नभएको अवस्था छ । कार्यविधिहरु कि त पुराना छन् कि त छैनन् त्यसलाई परिमार्जन गरेर अगाडि बढाउनुपर्ने छ ।

जसले गर्दा हाम्रो आन्तरिक व्यवस्थापन सरुवा,बढुवा,उच्च अध्ययन विदेश भ्रमण जस्ता कुराहरु एउटा विधिले सञ्चालन होस्,विनियमले सञ्चालन होस्,कानुनले सञ्चालन होस् जसले गर्दा कसैले काखापाखा गरेको अनुभव नहोस् र काम गर्ने कर्मचारीको मनोबल उच्च होस् यसमा मैले ध्यान दिनेछु ।

चौथोमा मुख्य विषय भनेको कृषि अनुसन्धानका क्षेत्रहरु खास गरेर अहिले कुन क्षेत्रमा राष्टले अनुसन्धानका प्रविधिहरु खोजीरहेको छ ? प्राथमिकता के हो ? राष्टलाई कुन क्षेत्रको अनुसन्धानको प्रविधि निकालेर किसानसामु पुराउँदाखेरी हाम्रो राष्ट्रले अबौं रुपैयाँको आयात भइरहेको छ धानको, मकैको त्यसलाई रोकेर आयातलाई घटाउन र विदेशी मुद्राको आर्जनलाई बचाउन त्यसतर्फ अनुसन्धानको कार्यहरुको प्राथमिकतालाई पनि प्राथमिकता राख्ने किनकि त हामीसँग जनशक्ति कम छ, स्रोत साधन सिमित छ ।

ति कम जनशक्ति र सिमित साधानको बीचमा राष्ट्रको अनुसन्धान कार्यलाई एकदमै प्राथमिकतामा राखेर, थोरै अनुसन्धान राम्रो अनुसन्धान देशले खोजेको अनुसन्धान गर्ने मेरो योजना छ ।



प्रतिक्रिया दिनुहोस !