१३ मंसिर २०८१, बिहिबार

सशस्त्र प्रहरीका गोताखोर उद्धारमा खटिदा ३ सय रुपैयाँ भत्ता र १० लाख रुपैयाँसम्म विशेष बीमा

प्रकाशित मिति :  28 September, 2020 9:18 pm


काठमाडौँ, १२ असाेज ।

सरकारले सशस्त्र प्रहरी बलको गोताखोर तालीमप्राप्त सशस्त्र प्रहरीलाई उद्धारमा खटिदा दिनको ३ सय रुपैयाँ प्रोत्साहन भत्ता र १० लाख रुपैयाँसम्म विशेष बीमाको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उक्त जानकारी गराएका हुन् । सशस्त्र प्रहरीका गोताखोरलाई यसअघि एक इन्सुरेन्स कम्पनीले २ लाख रुपैयाँको बीमा गरिदिएको थियो । सशस्त्र प्रहरीको नेतृत्वले ५० प्रतिशत जोखिम भत्ताका लागि पहल गर्दै आएकोमा मन्त्रिपरिषद् बैठकले दिनको तीन सय रुपैयाँ दिने निर्णय गरेको हो ।

सरकारले नेपाली सेनामा उच्च अधिकृतको सरुवा तथा बढुवा पनि गरेको छ । मन्त्री ज्ञवालीका अनुसार नेपाली सेनाका प्राविधिक सहायकरथी शरदलाल श्रेष्ठ र प्राविधिक महासेनानी विकास पोखरेललाई बढुवा गरी पदस्थापना गर्ने र प्राविधिक सहायकरथी कमलविक्रम शाहको सरुवा गर्ने निर्णय भएको छ ।

सेनाका प्राविधिक महासेनानी डा. भुवनराज कुँवरलाई प्राविधिक सहाकरथी र प्राविधिक प्रमुख डा. नवीनभक्त शाक्यलाई प्राविधिक महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गरिने भएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

त्यस्तै प्रमुख सेनानी राजेन्द्र पन्तलाई लेबनान सरकारका तर्फबाट प्राप्त विभूषण र रमेशनाथ पाण्डेलाई जापान सरकारबाट प्राप्त विभूषण ग्रहण गर्न स्वीकृति दिने निर्णयसमेत भएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

इन्टरपोल महासचिवालयबाट सन् २०२० डिसेम्बर ७ देखि ८ सम्म युएईमा हुने महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पाललाई स्वीकृति दिइएको छ । साथै प्रहरी (आठौँ संशोधन) नियमावली, २०७७ स्वीकृत गर्ने पनि निर्णय भएको मन्त्री ज्ञवालीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !