११ मंसिर २०८१, मंगलबार

रोकिएन बालविवाहः २० वर्ष नपुग्दै आमा बन्छन साढे १५ प्रतिशत किशोरी

प्रकाशित मिति :  2 October, 2020 5:10 pm


Child marriage. Illustration: Ratna Sagar Shrestha

लमजुङ, १६ असोज ।

जिल्लामा बालविवाह बढेसँगै किशोरी अवस्थामै आमा हुनेहरूको सङ्ख्या पनि बढ्दो छ ।

कानूनमा २० वर्षअघि विवाह गर्न पाइँदैन । तर, लमजुङ जिल्ला सामुदायिक अस्पतालमा प्रसूति गराउन आउनेमध्ये १५ दशमलव ५ प्रतिशत किशोरी २० वर्षमुनिकै रहेको पाइएको छ । २० वर्षभन्दा कम उमेरमा गर्भवती भएका किशोरीहरूको विवाह भने १५ देखि १८ वर्षमा भएको पाइएको जिल्ला सामुदायिक अस्पतालको अनुमान छ ।

“परिवक्व नभइ विहे गर्दा किशोरीको गर्भ तुहिने, रक्तश्राव हुने, बच्चा जन्माउन गाह्रो हुने र ज्यानै जानेसम्मको अवस्था आउन सक्छ ।”, अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले भने, “उमेरै नपुगी विहे गर्ने धेरैजनाको पाठेघर खस्ने समस्या देखिएको छ ।” अधिकांश किशोरीलाई शल्यक्रियामार्फत सुत्केरी बनाउनुपर्ने बाध्यता त्यसैका कारण भइरहेको उनको भनाइ छ ।

अस्पतालमा प्रसूति सेवाका लागि आउने महिलाहरूको तथ्याङ्कमा प्रसूति गराउनेमध्ये केही १४ वर्ष उमेरका किशोरी पनि भेटिने गरेको अस्पतालका प्रमुख श्रेष्ठले बताए । कम उमेरमा सन्तान जन्माउँदा मातृ–शिशु मृत्युदरको उच्च जोखिम रहेको प्रमुख श्रेष्ठको भनाइ छ ।

आर्थिक वर्ष २०७६/७७ मा अस्पतालमा एक हजार एक सय २३ महिला आमा बनेका छन् । तीमध्ये एक सय ७१ किशोरी अर्थात साढे १५ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बनेको अस्पतालको तथ्याङ्कले देखाएको छ । त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा अस्पतालमा एक हजार ११ महिला आमा बनेका छन् ।

तीमध्ये एक सय ८३ जना अर्थात १८ दशमलव १० प्रतिशत महिला २० वर्षमुनिका रहेको अस्पतालले जनाएको छ । यसैगरी आर्थिक वर्ष २०७४/०७५ मा एक हजार तीन सय २२ महिला आमा बनेका छन् । तीमध्ये तीन सय ६३ जना अर्थात २७ दशमलव ४५ प्रतिशत महिला २० वर्षमुनिका रहेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।

जिल्ला स्वास्थ्य कार्यालय र लमजुङ जिल्ला सामुदायिक अस्पतालले मातृ शिशु सुरक्षा कार्यक्रमअन्तर्गत गाउँगाउँमा सचेतनामूलक कार्यक्रम गरी कम उमेरमा विवाह नगर्न सल्लाह दिए पनि अझै उमेर नपुगी विवाह गर्ने चलन नरोकिनु जनचेतनाको अभाव र आमा सुरक्षा कार्यक्रमका लागि चुनौतीको विषय बनेको छ ।

जिल्लाका विभिन्न गैरसरकारी सङ्घसंस्था, विद्यालय, बाल क्लबलगायत पनि बालविवाहविरुद्धको अभियानमा छन् । रासस



प्रतिक्रिया दिनुहोस !