४ कार्तिक २०८१, आइतबार

भालुवाङ क्षेत्रलाई स्थायी राजधानी बनाउने प्रस्तावमा मतदान गर्ने नेकपाको निर्णय,कांग्रेस विरोधमा

प्रकाशित मिति :  3 October, 2020 3:29 pm


काठमाडौं, १७ असोज ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश-५ को संसदीय दलको बैठकले हिजो प्रदेशसभामा पेस भएको स्थायी राजधानी र नामाकरणसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

संसदीय दलको बैठकले सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।

प्रदेश सरकारले प्रदेश राजधानी दाङको देउखुरीमा बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभामा लगेको छ । पार्टीले प्रस्तावको पक्षमा मतदान गर्न प्रदेश सदस्यहरुलाई ह्वप जारी गरेको छ ।

बैठकमा सांसदहरुले आ आफ्ना धारण राखेपनि पार्टीको निर्णय मान्ने बताएका थिए । प्रस्ताव पास गर्न दुई तिहाई बहुुमत आवश्यक भएकोमा ८७ मध्ये ६१ सांसद नेकपाका छन् ।

रुपन्देही कांग्रेसको विरोध

प्रदेश राजधानी दाङ सार्ने सरकारको प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रुपन्देहीले भने आन्दोलनको घोषणा गरेको । आज बुटवलमा बसेको पार्टीको वैठकले सरकारको प्रस्तावविरुद्ध भोलि रुपन्देही बन्द गरेर प्रदर्शन गर्ने निर्णय गरेको छ । १९ गते ‘बुटवल जाऔं राजधानी जोगाऔं’ नारा तय गर्दै कांग्रेस रुपन्देहीले प्रदेश सभा घेराउ र धर्ना गर्ने निर्णय गरेको हो ।

प्रदेशसभामा दाङको देउखुरी भालुवाङ क्षेत्रलाइृ स्थायी राजधानी बनाउने प्रस्ताव पेश भएको छ भने १९ गते छलफल गर्ने तयारी छ । कांग्रेसले छलफलकै दिन जिल्लाभरबाट कार्यकर्ता बुटवल उतारेर सांसदहरुलाई प्रदेश सभा वैठकमै जान नदिने रणनीति तय गरेको रुपन्देही कांग्रेसका पार्टी सचिव रामकृष्ण खांणले जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !