४ आश्विन २०८१, शुक्रबार

विश्व खाद्य दिवस सप्ताह आजदेखि सुरु

प्रकाशित मिति :  11 October, 2020 7:26 am


काठमाडौं, २५ असोज ।

चालिसौँ विश्व खाद्य दिवसको अवसरमा कृषि विभाग र कृषिको लागि खाद्य अभियानको सहकार्यमा आजदेखि नेपालमा पनि विश्व खाद्य दिवस सप्ताह सञ्चालन हुने भएको छ । कृषिको लागि खाद्य अभियानले कार्यक्रमको घोषणा गरेको हो ।

सन् २०१५मा भएको संयुक्त राष्ट्र संघको दिगो विकास सम्मेलनमा १९३ राष्ट्रले आगामी १५ वर्षभित्र भोकमरी अन्त्य गर्न शून्य भोक अभियान चलाउने प्रतिबद्धता व्यक्त गरि, त्यसको दुई महिनापछि फ्रान्सको राजधानी पेरिसमा भेला भएका १९५ देशका उच्चस्तरीय प्रतिनिधिहरूले खाद्य सुरक्षा विश्वको मुख्य प्राथमिकता रहेको कुरा स्वीकार गरेका थिए । उनीहरुले यसको मूल कारण जलवायु परिवर्तन भएकोले सन् २०३० सम्ममा यसलाई सम्बोधन गर्दै शून्य भोक बनाउन प्रतिबद्धता जनाए ।

यस पृष्ठभूमिमा हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार भन्ने नारा सहित मनाउन लागिएको यस वर्षको ४० औँ विश्व खाद्य दिवस सान्दर्भिक र महत्वपूर्ण रहेको अभियानका अभियन्ता कल्पना कार्कीले बताइन् ।

“अहिले जनसाधारण स्वास्थ्य, खानेकुरा, आम्दानी र जीवनयापनका आधारभूत पक्षमा महामारी कोभिड–१९ ल्याएको समस्याहरूसँग जुधिरहेका छन् । यस किसिमको परिस्थितिको सामना गर्ने आधार तयार पार्नुपर्ने तत्काल र दीर्घकालीन आवश्यकता पनि हो । यसले आमरूपमा वातावरण अनुकूल, स्थानीय समुदायको खाद्य संस्कृतिमा आधारित शिक्षा र स्वास्थ्यका आधारभूत खर्च परिपूर्ति गर्न किसानको आम्दानी बढाउन सक्षम रोजगारीमूलक कृषि पद्धतिको जग बनाउनुको विकल्प छैन भन्ने कुरा पुनः पुष्टि भएको छ,” उनले भनिन्,“हामी खाद्यान्नका यिनै सामयिक र ऐतिहासिक विविध पक्ष समेट्दै खाद्य साता मनाइ रहेका छौँ ।”

कार्यक्रमले स्वस्थ्य र पोषणयुक्त खानेकुरा खान पाउने नैसर्गिक अधिकारका लागि खाद्य, कृषि, भूमि लगायत जीवनयापनका प्राथमिक आधार तथा अन्य प्राकृतिक स्रोत माथि किसान समुदाय, खासगरी महिला, दलित, आदिवासी जनजाति र विपन्न समूहहरूको न्यायिक हक स्थापित गर्ने उनको भनाई थियो ।

यस सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन कृषि संचार र खाद्यका सवालको सेरोफेरोमा रहेर कृषिमा नयाँ संचार प्रविधिको प्रयोग, कृषिमा आमसंचार माध्यमको भूमिका, रैथाने खाना, पर्यटन र पत्रकारिता लगायत खाद्य र खेतीका तत्कालिन सवालहरुमा प्रस्तुति र अन्तक्रिया हुने  छन् ।

त्यसैगरि दोश्रो दिन कोभिड १९, खाना र खेतिपाती विषयमा प्रस्तुति र अन्तरकृया सञ्चालन गरिनेछ भने तेश्रो दिन भूमिहिन किसानको खाद्य अधिकार, शिक्षा र कृषि, चौथो दिन कर्णाली कृषिका मुद्धा बारे छलफल गरिनेछ । त्यसैगरि पाचौँ दिन खाना र खेतीपातीः ग्रामिण महिला किसान को योगदान र जैविक विविधता, पोषण तथा रैथाने बालीहरुको विषयमा छलफल र अन्तक्रिया सञ्चालन गरिनेछ ।

यसैविच देशभरिबाट पाँच उत्कृष्ट किसानहरुलाई अवार्ड पनि प्रदान गरिने, कृषि विभागका सूचना अधिकारी महादेव पौडेलले जानकारी दिए । कार्यक्रमको सफलताको लागि सातै प्रदेशमा प्रचार प्रसार गरिएको पनि उनले बताए । यसैबीच अक्टोबर १६मा रोजगार गुमाएका एवम् विपन्न परिवारहरुलाई खाना खुवाउने कार्यक्रम रहेको पनि उनले जानकारी दिए ।

विभागका महानिर्देशक गोविन्द प्रसाद शर्माले आगामी दिनहरुमा यस किसिमको कार्यक्रमलाई देशव्यापी रुपमा सञ्चालन गरिनुपर्ने धारणा राखेका छन् ।



प्रतिक्रिया दिनुहोस !