३ आश्विन २०८१, बिहिबार

दाङ बंगलाचुली गाउँपालिकाद्धारा सिमेन्ट उद्योगको चुनढुङ्गा बोक्ने टिप्परहरु ३ महिना बन्द

प्रकाशित मिति :  11 October, 2020 5:29 pm


दाङ,२५ असोज ।

बंगलाचुली गाउँपालिकाले सिमेन्ट उद्योगहरुको चुनढुङ्गा ढुवानी गर्ने सबै टिप्परहरुलाई ३ महिना रोक लगाउने निर्णय गरेको छ ।

बंगलाचुली गाउँकार्यपालिकाको शनिबार बसेको बैठकले मदन भण्डारी लोकमार्गमा पर्ने घोराही कमिरचौर सडक खण्ड कालोपत्रे नहुँदासम्म र तापाचोक –तापाखानि क्षेत्र पुग्ने सडक खण्डलाई तत्काल कालोपत्रे प्रक्रिया अघि नबढाउँदा सम्म चुनढुङ्गा ढुवानी गर्ने सबै टिप्परहरुलाई ३ महिना पूर्णरुपले बन्द गरिएको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जानकारी दिए ।

यस गाउँपालिका क्षेत्रभित्ररहेको घोराही सिमेन्ट र सम्राट सिमेन्ट उद्योगको चुनढुङ्गा ढुवानी गर्ने सयौँ टिप्परका कारण मदन भण्डारी लोकमार्गको अवस्था विग्रिदा वर्षामा हिलो, हिउँदमा धुलो भई यस क्षेत्रका हजारौँ जनताले निकै सास्ती खेप्नु परेको हुँदा अव सडक कालोपत्रे नहुँदा सम्म टिप्परहरु रोकिएको अध्यक्ष वलीले जानकारी दिए ।

यसैबीच गाउँपालिकाले सडकको कालोपत्रे गर्ने जिम्मा लिएको जलजला निर्माण सेवा प्रा।लि।लाई समयमै कालोपत्रेको काम सक्नेगरी काम लगाउन सडक डिभिजन कार्यालय घोराहीलाई अनुरोध पनि गरेको छ ।

कालोपत्रेको काम तोकिएको समय भित्र नगर्दा जनताले सास्ति भोग्नु परेको स्मरण गराउँदै समयमै कालोपत्रेको काम सक्न ताकेता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले बताए ।

प्रमुख प्रशासकीय वलीले भने,”सिमेन्ट उद्योगहरुले जनताको स्वास्थ्य,वातावरणीय प्रभाव र जनता समक्ष गरेको बाचाहरुलाई वेवास्ता गर्दा घोराहीदेखि तापासम्मका हजारौँ जनताले दुःख झेल्नु परेको छ । यसको अन्त्यका लागि समयमै सडक कालोपत्रे गरिए केहीहदसम्म जनताका समस्या हल हुन्छन् ।”

प्रमुख प्रशासकीय अधिकृत वलीले बंगलाचुली गाउँपालिकाले प्रशासनीक तवरबाट जनताका समस्यालाई नजरअन्दाज गर्दै बाटो बन्दगर्ने निर्णयमा पुगिएको बताए ।



प्रतिक्रिया दिनुहोस !