किसानको हितमा हुने गरी कृषि योजना निर्माण भइरहेको छ : कृषि मन्त्री भुसाल
काठमाडौं,२५ असोज ।
कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले सरकारले कोरोनाबाट प्रभावित किसानको हितमा हुने गरी कृषि योजना निर्माण गरिरहेको बताएका छन् ।
मन्त्रालयले किसानको तथ्याङ्क लिने कार्यक्रम सञ्चालनसँगै आवश्यक कृषि नीति, ऐन, नियमावली बनाउन थालेको जानकारी दिँदै उनले यस वर्ष बन्ने योजना किसानको पक्षमा हुने विश्वास दिलाए । चालिसौँ विश्व खाद्य दिवसको अबसरमा कृषि मन्त्रालयअन्तर्गत कृषि विभाग र खाद्यका लागि कृषि अभियानले आज काठमाडौंमा गरेको संयुक्त समारोहलाई सम्बोधन गर्दै उनले एउटा किसानको जिविकोपार्जन कृषिबाट नभएसम्म कृषिको दिगो विकास हुनै नसक्ने दाबी गरे ।
किसानको सुनिश्चित बचत नभएसम्म कृषिको दिगो विकास पनि नहुने उनको धारणा थियो । “उत्पादित वस्तु किसानको जीवन धान्न सक्ने हुनुपर्छ”, मन्त्री भुसालले भने , “कृषिले जीवन धानेन भने उसले कृषि पेशा छोड्छ र अन्यत्र मोडिन्छ, यसले कृषि पेशा सुनिश्चित हुँदैन ।” खाद्य दिवस मनाइरहँदा विश्वका धेरै मानिसहरू किन खाद्य सङ्कटको वरिपरी रहेका छन् भन्ने कुरा विर्सन नहुने मन्त्री भुसालको भनाइ थियो । दिगो कृषि प्रणाली अपनाउन किसानको बचत सुनिश्ति गर्ने गरी मन्त्रालयको काम गरिरहेको उनको भनाइ छ ।
“कृृषिमा ३० वर्षसम्म विदेशीको सहयोग रह्यो, जसमा विदेशका थुप्रै नीति र योजनाहरु लागू भयो, कतै राम्रो पनि भएको छ तर धेरै जसो राम्रो भएको छैन”, मन्त्री भुषालले भने । ।
कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले अब खाद्य स्वच्छता मात्र होइन पोषिलो खानामा पनि जोड दिए । कृषिमा दिगो विकासका लागि किसानको वचत सुनिश्चित हुनुपर्ने उनले बताए ।
खाद्यका लागि कृषि अभियानका अध्यक्ष उद्धव अधिकारीले कोरोनाका कारण कृषिलाई हेर्ने दृष्टिमा फरक परेको गुनासो गरे । उनले खाद्य सुरक्षाका लागि रासायनिक मल, विषादीलाई नियन्त्रण जरुरी रहेको बताए । अध्यक्ष अधिकारीले कोरोनाका कारण प्रभावित भए पनि कृषि विकासका लागि यसलाई अवसरको रुपमा पनि लिनुपर्ने बताए ।
सप्ताहव्यापी रूपमा मनाइने ४०औँ विश्व खाद्य दिवस कार्यक्रम आजबाट विभिन्न कार्यक्रम गरी मनाउन थालिएको छ । यस वर्षको नारा ‘हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार’ रहेको छ । दिवस विभिन्न कार्यक्रम गरी यही ३० गतेसम्म मनाइने छ ।
यसैबीच, सञ्चार माध्यममा कृषिका समाचारको स्थान बढाउँदै लैजानु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । ४० औं विश्व खाद्य दिवसको अवसरमा आज आयोजना गरिएको कृषि सञ्चार र खाद्य सवाल कार्यक्रममा सरोकारवालाहरूले सो कुरा बताएका हुन् ।
कृषि विभाग र खाद्यका लागि कृषि अभियानको आयाजना तथा तथा एशोसिएशन अफ नेपाली एग्रिकल्चर जर्नलिस्ट (अनाज) ले संयोजन गरेको कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले कृषिमा पत्रकारहरुको आकर्षण बढाउनुपर्ने कुरामा जोड दिए । पहिलेको तुलनामा सञ्चार माध्यममा अहिले कृषिलाई स्थान दिन थालेको वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीले बताए ।
उनले भने , ‘पहिले पहिले कृषिका विषय त्यति उठ्दैन थिए, अहिले उठ्न थालेका छन् ।’ उनका अनुसार २०१५ मा गोरखापत्रको सप्लिमेन्ट आर्थिक नेपाल म्यागजिनले पहिलो पटक कृषिको विषयलाई उठाएको थियो ।’ २०२२ सालमा रेडियोले कृषिलाई प्राथमिकता दिएपछि कृषि पत्रकारिताको आधाभूत स्तम्भ तयार भएको बताउँदै उनले २०४८ सालमा नेपाल टेलिभिजनले पनि स्लट नै छुट्याएर कृषि कार्यक्रमलाई ठाउँ दिएको बताए ।
निजी क्षेत्रका अखबारहरू आएपछि भने कृषिले राम्रो स्थान पाउन थालेको उनको भनाई थियो । ‘त्यतिखेर एउटा पत्रिकामा व्यवसायिक केरा खेतीको बारेमा समाचार आएको थियो त्यसपछि मान्छेलाई केरा खेती गर्ने कुरा पनि समाचार बन्दो रहेछ भन्ने लागेको थियो,’ उनले आफ्नो अनुभव सुनाए । पत्रकारहरूले परम्परागत सूचना स्रोतमा नलागि नवीन स्रोतको खोजी गरी समाचार लेख्न उनले आग्रह गरे ।
मन्त्रालयको तथ्यांकको मात्र समाचार नलेखी अहिले युवाहरूले गरेको कृषि प्रणालीको विषयमा समाचार लेख्नु पर्ने सुझाव दिदै उनले पछिल्लो समय सञ्चार माध्यमले कृषिलाई दिएको स्थान बढाउँदै लैजानु पर्ने धारणा राखे । हलोखबरका सञ्चालक मनोज श्रेष्ठले अहिले कृषकहरू प्रविधि मैत्री बनेको बताए । ‘पहिले जस्तो किसानलाई मल कहाँ किन्ने, बीउ कहाँ पाइन्छ भन्ने चिन्ता छैन । किसानहरू आफैले पेज बनाएका छन्, त्यहाँ आफूलाई चाहेको सामान बारे सोध्छन् । र त्यहीबाट बजार पनि लिएका छन्,’ उनले भने ।
समुदायको वर्गीकरण नै खानेकुराबाट भएकोले रैथाने बाली जोगाइराख्नु अहिलेको आवश्यकता भएको रैथाने बाली विज्ञ केदार शर्माले बताए । पूर्वदेखी पश्चिमसम्म पाइने रैथाने बालीका विषयमा सञ्चारमाध्यममा स्थान दिन उनले आग्रह गरे । ‘हाम्रोमा ठाउँ पिच्छे खानेकुरामा विविधता छ, यसको प्रचार प्रसारमा मिडियाको पनि भूमिका हुन्छ,’ उनले भने ।
अहिलेको कृषिको निकायलाई नवीनता दिनुपर्ने कृषि विज्ञ कृष्ण पौडेलले बताए । ‘कृषि प्रसार, कृषि विश्व विद्यालय अहिले काम लगाग्ने भएका छन्, यसलाई नवीनता दिनुपर्छ,’ उनले भने ‘कृषि पढेका विद्यार्थीको कृषिमा भन्दा पनि जागिर खानमा बढी ध्यान गएको छ, त्यसैले कृषि विश्व विद्यालयको कुनै काम छैन ।