१९ आश्विन २०८१, शनिबार

कोरोना कहरमा स्वस्थताका लागि प्राणायाम (टिप्स सहित)

प्रकाशित मिति :  13 October, 2020 12:19 pm


विश्व नै कोरोनाको कहरमा फसेको छ । अझै सम्म यस भाइरस उन्मुलन तथा नियन्त्रणको लागि कुनै औषधी, खोप बन्न सकेको छैन । विश्वका महाशक्तिशाली देशहरु पनि यसको अगाडी घुँडा टेक्न बाध्य भएका छन् ।

यस्तो अवस्थामा हामी आफैले हाम्रो स्वास्थ्यको ख्याल राख्नु पर्दछ । अहिलेको यो कोरोना कहरमा प्राणायाम संजिवनी सावित हुँदैछ । चिकित्सकहरुले पनि दिनमा कम्तिमा १ देखि २ घण्टा प्राणायाम तथा योगा गर्न सुझाव दिइरहेका हुन्छन् । आफ्नो शरिरलाई चुस्त दुरुस्त राख्नको लागि प्राणायाम तथा योगा अतिआवश्यक रहेको विज्ञहरुको भनाई छ ।

प्राणायाम भनेको श्वासप्रश्वासको अनुशासित क्रिया हो । जसले हाम्रो शरिरमा अक्सिजनको अभाव पूर्ति गर्नुका साथै मनलाई स्थित र शान्त राख्न सहयोग पुराउँछ । दैनिक प्राणायाम गर्नाले शरिर स्वस्थ रहनुको साथै उच्च रक्तचाप, अनिन्द्रा, तनाव जस्ता समस्याहरुबाट छुटकरा पाउन सकिन्छ ।

अमेरिकाको युएस नेशनल लाइब्रेरी अफ मेडिसिनले गरेको रिसर्चका अनुसार कोरोना भाइरसको माहमारीका बेला विभिन्न दिर्घरोगसँग जुधिरहेका व्यक्तिहरुसँग गरिएको अनुसन्धानमा औषधी खानेको भन्दा प्राणायाम गर्ने व्यक्तिको रक्तचाप नियन्त्रणमा आएको, तनाव कम भएको, मुटुको चाल नियन्त्रण हुने बताइएको छ ।

प्राणायाम प्रकृयामा श्वासप्रश्वासको गतिसँगै फोक्सो मार्फत् सम्पूर्ण शरीरभरी नयाँ तथा स्वच्छ वायु सञ्चार हुने भएकोले प्राणायाम गर्ने मानिस सधैँ फुर्तिलो, सक्रिय र निरोगी हुन्छ । मानवीय मनका उद्वेग, काम, क्रोध जस्ता विकारहरूलाई बाहिर निकालेर मनको विरेचन गरी परं शान्ति तथा परमानन्दको अनुभूति गराउने अद्वितीय तत्व भनेको प्राणायाम नै हो ।

यसरी गर्नुहोस् प्राणायाम :

१. भस्त्रिका प्राणायामः— सिद्धासन, पद्मासन वा कुनै पनि एउटा ध्यानको आसनमा आफुलाई सुविधा हुने तरिकाले बसेर दुवै नाके ओडारबाट भित्र डायफ्रमसम्म पूरा शक्ति लगाएर श्वासलाई जोडसँग तान्ने र तदनुसार विशेष धक्काका साथ बाहिर निकाल्ने प्रकृयालाई भस्त्रिका प्राणायाम भनिन्छ । यस प्रकृयालाई तीनदेखि पाँच मिनेटसम्म गर्नाले रुघा, खोकी, दम, एलर्जी र अन्य श्वाससम्बन्धी रोगहरू निर्मूल हुन्छन् ।

२. कपालभाती प्राणायामः कपालभाती भनेको कपाल शब्दको अर्थ मस्तिष्क र भाती शब्दको अर्थ तेज, आभा वा प्रकाश भन्ने हुन्छ । समग्रमा मस्तिष्कमा आभा, ओज तथा कान्ति बढाउने तथा मस्तिष्कको पुनर्ताजकीकरण गर्ने श्वासप्रश्वासको प्रकृयालाई कपालभाती प्राणायाम भनिन्छ । यो प्राणायामको विधि भस्त्रिका भन्दा केही फरक छ ।

भस्त्रिकामा रेचक (श्वास तान्ने प्रकृया) र पूरक (श्वास छोड्ने प्रकृया) मा समान रूपले श्वासप्रश्वासमा दबाव दिइन्छ तर कपालभातीमा भने श्वासलाई शक्तिपूर्वक बाहिर फाल्न तल्लिन हुनुपर्दछ । यस प्राणायामलाई कम्तिमा पाँच मिनेटसम्म गर्नाले मस्तिष्कको पुनर्ताजकीकरण साथै अनुहारमा ओज तथा सौन्दर्य बढ्छ । मुटु र फोक्सो सम्बन्धी सबै समस्या निराकरणका साथै कब्जियत, मोटोपन जस्ता रोगहरूबाट समेत छुटकारा मिल्छ ।

३. बाह्प्राणायामः यस प्राणायाम अन्तर्गत विधिपूर्वक आफ्नो फाईदा अनुसारको आसनमा बसी श्वासलाई सकेसम्म एकै पटकमा बाहिर निकाल्नुपर्छ । श्वासलाई सकेसम्म बाहिरै रोक्नुपर्छ र श्वास लिने इच्छा भएपछि बन्धहरूलाई हटाँदै विस्तारै श्वास लिनुपर्दछ । भित्र लिएको श्वासलाई नरोकिकनै पहिला जस्तै बाहिर निकाल्नुपर्छ । यस प्राणायामलाई कम्तिमा ३ देखि ७ पटकसम्म गर्न सकिन्छ । जसले मनको चञ्चलता घटाउँछ । यस प्राणायामले पेटका हरेक भागहरूमा बल पुग्ने भएकाले पेटका कमजोर भागहरूको दुखाईमा नियन्त्रण गरी पेटलाई आरोग्यता प्रदान गर्दछ ।


४. अनुलोमविलोम प्राणायामः अनुलोम विलोम प्राणायाम भनेको नाकको बायाँ प्वालबाट श्वास लिएर दायाँ प्वालबाट बाहिर छोड्ने तथा दायाँ प्वालबाट लिएर बायाँ प्वालबाट छोड्ने प्रकृया हो । बुढि औँलाले नाकको दायाँ प्वाललाई बन्द गरेर वायाँ प्वालबाट विस्तारै श्वास लिनुपर्दछ र भित्र श्वास पूरा भरिएपछि बीचको औँलाले बायाँ प्वाललाई थुनेर दायाँ प्वालबाट पूरा श्वासलाई बाहिर फल्ने गरिन्छ । यस प्रकृयालाई लगभग १ मिनेटसम्म दोहोर्याई रहनाले शरीरमा थकाइको महसुस हुने भएकाले बीचमा आराम गर्दै यस प्रकृयालाई कम्नीमा ५ मिनेटसम्म दोहोर्याउन सकिन्छ । यस प्राणायामले मुटुका धमनीहरूमा आएको अवरोधलाई हटाउनुका साथै शरीरलाई पूर्ण स्वस्थ र कान्तिमय तथा बलियो बनाउँछ ।

५. भ्रामरी प्राणायामः भ्रामरी प्राणायाम भनेको भमराको जस्तै आवाज निकालेर श्वासलाई बाहिर छोड्ने प्रकृया हो । जसमा फाइदाजनक आसनमा बसी श्वासलाई पूरा भित्र भरिन्छ । त्यसपछि बीचको औँलाले नाकको मूलमा आँखाको छेउबाट दुवैतर्फ हल्का दबाब दिँदै बुढि औँलाले दुवै कानलाई पूरा बन्द गरेर मनलाई आज्ञा चक्रमा केन्द्रित गर्दै भमराको जस्तै आवाज निकालेर ठूलो श्वरमा ॐकारको उच्चारण गर्दै श्वासलाई बाहिर निकालिन्छ । यस प्राणायामलाई ३ देखी ६ पटक अवश्य गर्नुपर्दछ । जसबाट मानसिक तनाव, उत्तेजना र उद्वेग कम भई मुटुमा समेत फाईदा पुग्छ ।

६. ॐकार जपः ॐकार भनेको कुनै व्यक्ति वा आकृति नभएर एउटा दिव्य शक्ति हो जसले यो सम्पूर्ण चराचर जगतको सञ्चालन तथा संरक्षण गरिरहेको छ । त्यही परमात्मा परमेश्वरको स्मरण नै ॐकार जप प्राणायाम हो । जस अन्तर्गत सुखासनमा बसेर सुरुमा श्वास भित्र भर्नुपर्दछ र मन्द गतिमा श्वासलाई बाहिर निकाल्दै आफ्नो शरीरलाई ॐकारमय बनाउनु पर्छ । यो प्राणायामले आफ्नो वास्तविक स्वरूपको भान गराई त्यसतर्फ धकेल्न विशेष सहयोग पुर्याउँछ ।



प्रतिक्रिया दिनुहोस !