प्रदेश ५ काे कृषि अनुदान रकममा ७० प्रतिशतसम्म दुरुपयोग
प्रकाशित मिति : 26 November, 2019 1:54 pm
रूपन्देही ,मंसिर १०
प्रदेश सरकारले किसानका लागि वितरण गरेको अनुदान रकममा ७० प्रतिशतसम्म दुरुपयोग भएको भेटिएको छ । प्रदेश सभाको कृषि, वन तथा वातावरण समितिले दुई महिना लगाएर १२ जिल्लाका १२८ किसानका फार्म र व्यवसायमा अनुगमन गर्दा उक्त तथ्य फेला परेको हो । अधिकांश किसान र फार्महरूले एक प्रयोजनका लागि लगेको अनुदान अर्कैमा लगाएको फेला परेको अाजकाे कान्तिपुर दैनिकले छापेकाे छ ।
कृषि प्रयोजनका लागि अनुदानमा लगेका यान्त्रीकरण व्यावसायिक प्रयोगमा लगाइएको समेत फेला पारेको छ । केही जिल्लामा मन्त्रालयबाट कृषिका लागि लगेको अनुदान होटलमा प्रयोग गरिएको छ । समितिले सरकार र मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा अनुदान लिएर काम नगर्ने किसानबाट रकम असुलउपर गर्न, कमिसन लिएर भुक्तानी दिने कर्मचारीलाई कारबाही गर्न पनि निर्देशन दिएको छ । अनुदानको रकम भुक्तानीका क्रममा कर्मचारीले ५ देखि २० प्रतिशतसम्म कमिसन माग्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।
समितिमा सभापति विजयबहादुर यादवले अनुगमनमा क्रममा कृषि अनुदानमा चरम बेथिति र कमिसनको जालो फैलिएको देखिएको बताउनुभयाे ।