लकडाउन गरेर अमेरिकीलाई डिप्रेशन हुन दिन्न : ट्रम्प
ऐजेन्सी, ४ कार्तिक ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी नियन्त्रणका नाममा लकडाउन गरेर अमेरिकीलाई डिप्रेशन हुन नदिने बताएका छन् ।
अमरिकाको नभाडामा आइतबार भएको चुनावी सभामा राष्ट्रपति ट्रम्पले नोभेम्बर ३ मा हुने चुनावमा आफ्ना डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा सुनेर लकडाउन चाहिरहेको बताए ।
सभामा ट्रम्पले भने, ‘जो बाइडेनले वैज्ञानिकको कुरा सुनेर कोरोना भाइरस सामु आत्मसमर्पण गर्छन् । उनी लकडाउन चाहन्छन् । यदी मैले वैज्ञानिकको कुरा सुनेर लकडाउन गरेको भए देश डिप्रेशनको ठूलो समस्यामा हुने थियो ।’
विज्ञहरुले भने पूर्ण रुपमा वैज्ञानिकको कुरा सुनेर सो अनुसार काम गरेको भए दशौँ हजार अमेरिकीको ज्यान बच्न सक्ने बताउँदै आएका छन् । तर, विज्ञहरूको आलोचना गरेका ट्रम्पका अधिकांश समर्थकले मास्कसमेत लगाएका थिएनन् ।
ट्रम्पले सोमबार नै ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका विज्ञ डा। एन्थोनी फाउचीसहितका विज्ञ तथा वैज्ञानिकहरुलाई ‘इडियट’ सम्म भनेका छन् ।
कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ८२ लाखभन्दा बढी संक्रमित भएका छन् ।
कोरोनाकै कारण अमेरिकामा हालसम्म २ लाख २० हजार भन्दा बढिको मृत्यु भइसकेको छ ।