३ आश्विन २०८१, बिहिबार

म्याग्दीमा बाँझो जग्गामा मिश्रित खेती फस्टाउँदो

प्रकाशित मिति :  28 October, 2020 8:44 am


काठमाडौं, १२ कार्तिक ।

म्याग्दीमा पछिल्लो समय मिश्रित खेती प्रणाली फस्टाउँदै गएको छ । एउटै जग्गामा एक भन्दा बढी बाली (खाद्यान्न,फलफूल र तरकारी) लगाएपछि साविकको भन्दा धेरै आम्दानी हुने भएकोले किसानहरु मिश्रित खेतीतर्फ आकर्षित भएका हुन् ।

बेनी नगरपालिका वडा नं २ बगरफाँटका दुर्गाबहादुर थापाले काठमाण्डौंबाट फर्केर गत चैतमा शुरु गरेको केरा खेतीसंगै डाले घाँस र कोदोखेती अहिले निकै राम्रो भएको छ ।

त्यसैगरी बेनी नगरपालिका २ खबराका कृषक चन्द्रबहादुर कार्कीले आफ्नो १८ रोपनी जग्गामा मिश्रित मौसमी तथा बेमौसमी तरकारी खेती गरेर लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् । कार्की जिल्लामा मिश्रित खेती प्रणालीका अगुवा कृषकसमेत हुन् ।

कार्कीको खेतबारीमा बाह्रैमास आलु, बन्दा, काउली, गोलभेँडा, साग, ब्रोकाउली, धनियाँ, लसुन, प्याज, खुर्सानीलगायत तरकारी र केरा, सुन्तला, कागती, अम्बालगायतका फलफूल लहलह झुलिरहेका र लटरम्म फलिरहेका देखिन्छन् ।

गोठमा भैँसी, बाख्रा, घर वरपर राखेका मौरीका घारमा रहेका मौरी र माछापालनबाट पनि कार्कीले मनग्गे आम्दानी गर्दै आएका हुन् । “मैले १८ वर्षको उमेरदेखि तरकारी खेती शुरु गरेको हुँ”, ५४ वर्षिय कार्कीले विगत कोट्याउँदै भने , “त्यतिबेला मलाई जागिर खान वा विदेश जानका लागि धेरै प्रस्ताव आएका थिए, तर मैले जागिर पनि नखाने र विदेश पनि नजाने अड्डी लिएर कृषि पेशा शुरु गरेँ, अहिले त्यतिबेला मैले सही निर्णय गरेको रहेछु भन्ने लाग्छ ।”

तीन दशक अघि १ हजार रुपैँया लगानीबाट शुरु गरेको व्यावसायिक तरकारी खेतीले कार्कीलाई अहिले निकै लाभ भएको छ । तरकारी बिक्रीबाट आएको आम्दानीले कार्कीले बेनी बजारको मंगलाघाटमा घडेरी किनेर घर बनाइसकेका छन् ।

“माटोसँग खेल्दा र माटोमा पसिना चुहाउँदा निकै आनन्दको अनुभूति हुन्छ”, कार्कीले भने “यही माटोमा गरेको परिश्रमले मलाई यहाँसम्म ल्याइपुर्यायो । यिनै पसिना विदेशी भूमिमा खर्च गरेको भए न मैले यत्तिको कमाउन सक्थेँ, न मलाई आत्मसन्तुष्टि नै हुन्थ्यो,” कार्कीको भनाइ छ । कार्कीकै देखेर पछिल्लो समय म्याग्दीमा मिश्रित खेती पद्धती अपनाउने कृषकहरुको संख्या बढेको छ । कार्की भन्छन् , “मिश्रित खेती गर्दा एकल खेती भन्दा तीनगुणा बढी आम्दानी लिन सकिन्छ ।”

कृषि प्राविधिकहरुका अनुसार मिश्रित खेतीप्रणाली नेपालमा परापूर्वकालदेखि चल्दै आएको हो । साधारणतया मिश्रित खेती गर्दा विभिन्न बालीहरू जस्तैः मकै, बोडी र फर्सी लगाउने गरिन्छ । एउटै बालीभित्र पनि विभिन्न जातहरू जस्तैः गहुँका जातहरू मिसाएर लगाउने परमपरागत चलन छ ।

मुख्यतया एकभन्दा बढी बाली वा जातहरू मिसाएर लगाउने प्रणालीलाई मिश्रित खेतीप्रणाली भनिन्छ । खबराकै अर्का कृषक शोभित सापकोटाले पनि मिश्रित बालीबाट मनग्गे आम्दानी गरेका छन् । उनले एकै ठाउँमा केरा, साग, उखु र खुर्सानी खेती गरेर एकल बालीको तुलनामा तेब्बर आम्दानी हुने गरेको बताए ।

मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँ पछिल्लो समय म्याग्दीमा मिश्रित खेती प्रणाली मौलाउँदै गएको र यसबाट कृषकहरुले राम्रो आम्दानी गर्न सफल भएको बताउछन् । जिल्लाका बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहका दुई सयभन्दा बढि कृषकहरुले मिश्रित खेती गर्दै आएका स्थानीय तहका कृषि शाखाले जनाएका छन् । रासस



प्रतिक्रिया दिनुहोस !