कृषि कर्मबाटै मासिक एक लाख बचत
बाग्लुङ, १५ कार्तिक ।
गलकोट क्षेत्रका अधिक त जापानमा छन् । त्यसबाहेक, अमेरिका, अष्ट्रेलियालगायत देशमा नपुगेको कमै परिवार भेटिन्छ । गलकोटलाई जापाने गाउँसमेत भनिँदै आएको छ ।
यस्तो समाजमा आफ्नै गाउँ ठाउँमा केही गरेर कमाउने र रमाउने युवा पनि कमै छन् । गलकोट नगरपालिका–३ हटियाका गुमानसिंह खत्री यस मध्येमै पर्छन । अधिकांश साथीहरु जापान अमेरिका गए पनि उनको मन कहिल्यै विदेश मोहमा तानिएन ।
खत्रीलाई सानै उमेरबाट कृषिप्रति लगाव रहिरह्यो । उमेरले ४५ वर्ष पुगेका खत्रीले २५ वर्षदेखि व्यावसायिक कुखुरापालन, २०५७ सालदेखि फ्रेस हाउस, २०६३ सालदेखि हाइटेक प्रविधिमार्फत तरकारी खेती र २०७२ सालदेखि व्यावसायिक किबी खेती गर्दै आइरहेका छन् ।
“यहाँका अधिकांश साथीहरु विदेश पलायन भएका छन् । विदेशमा पनि धन कमाउन त्यति सजिलो छैन”, खत्रीले भने, “स्वदेशमा आफैँ माटोमा रमाएर धेरथोर कमाउदा पनि सन्तुष्ट छु, विदेश जाने कहिल्यै मोह आएन ।” निरन्तर २५ वर्षदेखि ब्रोइलर कुखुरा पालन गर्दै आउनुभएका खत्रीले पछि तरकारी तथा किबी खेती थालेका हुन्।
खत्री आफू मात्रै हैन, गलकोट क्षेत्रलाई तरकारी र मासुमा पाँच वर्षभित्र आत्मनिर्भर गर्ने गरी नगरस्तरीय कृषि सञ्जालको अध्यक्ष भएर कृषि जागरण ल्याउनमा सक्रिय छन् । गलकोट क्षेत्रमै २०५२ सालमा पहिलो पटक व्यावसायिक कुखुरापालन शुरु गर्दा धेरैले पत्याएका थिएनन्, गुमानसिंह सफल कृषक बन्नेछन् भनेर । उहाँले विगत स्मरण गर्दै भने, “यो बीचमा धेरै उतार चढाव आए, कहिले घाटा भयो, कहिलो नाफा भयो ।”
निरन्तरको कृषि लगावका कारण कृषक खत्री अहिले बागलुङकै सफल कृषकका रुपमा परिचित छन् । जामुने कृषि फर्ममार्फत व्यावसायिक उत्पादन गर्दै आउका खत्रीको फर्ममा ८०० ब्रोइलर कुखुरा, ४ हाइटेक टनेल, चार सामान्य टनेलमा सिमी, बोडी, गोलभेडालगायत तरकारी उत्पादन भएका छन् भने काउली बन्दा लगाउने क्रम शुरु भएको छ ।
“कुखुराबाट वार्षिक १५ लाख र तरकारीबाट वार्षिक ६ लाख कारोवार हुन्छ”, खत्रीले भने “दुदिलाभाटीमा लगाएको किबी खेतीले बल्ल उत्पादन दिन थालेको छ, अघिल्लो वर्षमा तीन लाखको किबी बिक्री गरे ।” खत्रीका अनुसार लगभग वार्षिक १२ लाख बचत हुने गर्दछ ।