३ आश्विन २०८१, बिहिबार

कियाले नयाँ लोगो प्रयोग गर्ने, २०२५ सम्म अग्रणी इलेक्ट्रिक कार निर्माता बन्ने लक्ष्य

प्रकाशित मिति :  31 October, 2020 3:11 pm


काठमाडौं, १५ कार्तिक ।

कियाले आफ्नो ब्रान्ड लोगोलाई नयाँ डिजाइनमा प्रस्तुत गर्ने भएको छ । कम्पनीका अनुसार सो लोगो सन् २०२१ पश्चात सार्वजनिक गरिने छ । कियाको सो नयाँ लोगोले ब्रान्डको प्रगतिशील, इनोभेटिभ र स्टाइलिस मापदण्डलाई प्रदर्शन गर्नेछ ।

कियाले लोगो परिवर्तन गर्ने आफ्नो योजनालाई ‘प्लान एस’ नाम दिएको छ, जसमा एसको अर्थ सिफ्ट हुन्छ । कम्पनीले भविष्यको कारतर्फ आफ्नो ध्यान केन्द्रीत गरेको सन्देश दिन चाहन्छ । कियाले सन् २०१९ मा भएको जेनेभा मोटर शोमा प्रदर्शन गरिएको कन्सेप्टमा पहिलो पटक यो लोगोको प्रयोग गरेको थियो । सो लोगोमा तीन अक्षर एक आपसमा जोडिएका छन् र बाहिरी गोलाकार डिजाइनलाई हटाइएको छ ।

कोरियाली कार निर्माता कम्पनी कियाले ग्लोबल मार्केटमा इलेक्ट्रिक कारतर्फ आफ्नो फरक पहिचान कायम गर्न चाहन्छ । यसका लागि चरणबद्ध रुपमा इलेक्ट्रिक कार लन्च गर्ने योजना बनाएको छ । कम्पनीले २०२५ सम्ममा ११ इलेक्ट्रिक कार बजारमा उतार्ने योजनाका साथ कार्य गरिरहेको छ ।

यसका लागि विश्वभर इलेक्ट्रिक पूर्वाधार र प्लान्ट स्थापनाका लागि २५ बिलियन डलर लगानी गर्नेछ । कियाले अब बजारमा ल्याउने इलेक्ट्रिक कारलाई इलेक्ट्रिक–ग्लोबल मोडुलर प्लेटफर्ममा निर्माण गरिने छ, जुन हुन्डाईको सहयोगमा तयार हुँदैछ ।

कियाको कुल उत्पादनमा २० प्रतिशत हिस्सा इलेक्ट्रिक कारको हुनेछ । सन् २०२५ सम्म अग्रणी इलेक्ट्रिक कार निर्माताको रुपमा उदाउने कियाको लक्ष्य छ ।

कियाका पछिल्लो समयमा सेल्टोस एसयूभी लोकप्रिय बनेको छ भने हालै सोनेट एसयूभी पनि उत्तिकै लोकप्रिय बन्दै छ ।



प्रतिक्रिया दिनुहोस !