४ आश्विन २०८१, शुक्रबार

भुक्तानी दाबी गरेका सबै बिमितलाई एक हप्ताभित्र दिने निर्णय,गुनासो सुन्न सहायता कक्ष

प्रकाशित मिति :  3 November, 2020 8:42 pm


काठमाडौं, १८ कार्तिक ।  

कोभिड–१९ का बिमितहरुले पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ भएपछि बिमाङ्क रकम दाबी गरेमा सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिने निर्णय भएको छ ।

आज अर्थ मन्त्रालयमा अर्थ मन्त्री विष्णु पौडेलको उपस्थितिमा अर्थ मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङाना, रामशरण पुडासैनी, बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँ, बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे लगायतको सहभागि बैठकले यस्तो निर्णय गरेको हो । पछिल्लो समय बीमा कम्पनीहरुले कोरोना सम्बन्धि रकम भुक्तानीमा आलटाल गरिरहेको गुनासो बढेको थियो ।

बैठकपछि मन्त्रालयले जारी गरेको प्रेस नोटमा भनिएको छ,”बीमा समितिबाट जारी गरिएको बीमालेख बमोजिम कोरोना बीमा दाबी गरेका बिमितहरुको पिसिआर परीक्षण प्रतिवेदन पोजिटिभ प्रमाणित भएपछि बीमालेख बमोजिम प्रदान गरिने बीमाङ्क रकम भुक्तानी दाबी गरेका सबै बिमितहरुलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिने निर्णय भएको छ ।”

बैठकले सो कार्यको समन्वय र अनुगमन बीमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय पनि गरेको   छ । अर्थमन्त्री पौडेलले बिमितहरुले बिमाङ्क रकम दाबी गर्नासाथ अविलम्ब भुक्तानी दिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

यस्तै कोरोना बीमाको दावी भुक्तानी कार्यमा सेवाग्राहीबाट आएका गुनासाहरुको सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बीमा कम्पनीहरुलाई निर्देशन दिन हटलाइन टेलिफोन सहितको हेल्प डेक्स सञ्‍चालन गर्ने व्यवस्था बीमा समितिले तत्काल मिलाउने निर्णय पनि भएको अर्थ मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !