४ आश्विन २०८१, शुक्रबार

पूर्वसभामुख कृष्णबहादुर महरा पत्नी सीताको निधन

प्रकाशित मिति :  4 November, 2020 8:11 am


काठमाडौं, १९ कार्तिक ।

पूर्वसभामुख कृष्णबहादुर महराकी जीवनसंगीनी सीता महराको निधन भएको छ । उपचारकै क्रममा सीताको आज विहान नर्भिक अस्पताल काठमाडौंमा निधन भएको हो ।

दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै आज बिहान ६:२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ।

सीताको जन्म २०१८ साउन १३ गते शुक्रबार बुवा मुक्तबहादुर थापा र आमा खिर्मादेवी थापाको कोखबाट रोल्पाको गजुल धौलेगाउँमा पहिलो सन्तानको रुपमा जन्मिएकी थिइन् । कृष्णबहादुर महरासँगै २०३५ सालमा उनको विवाह भएको थियो। जनयुद्धकालमा महरा भूमिगत भएपछि सीतालाई तत्कालीन राज्यले धेरैपटक शारीरिक मानसिक यातना दिनुका साथै केही दिन हिरासतमा पनि लिएको थियो।

२०५४ साउन २९ गते राती रोल्पा मेबाङस्थित घरमै आएर नाबालक छोराछोरीलाई घरमा थुनेर गिरप्तार गर्न थालेपछि उनी प्रहरीको घेरा तोड्न सफल भएकी थिइन् । त्यसपछि घरभित्र थुनिएका छोराछोरी पनि घरपछाडिको ढोकाबाट भागेर बाँचेका थिए। त्यहीँ दिनदेखि घर छोडेका महरा परिवार नै पूर्णकालीन कार्यकर्ताको रुपमा जनयुद्धमा सहभागी भएका थिए।

सामान्य लेखपढ मात्रै गर्न जानेकी सीता महरा तत्कालीन माओवादीको ठूलो जिम्मेवारीमा नरहे पनि कृष्णबहादुर महरालाई नजिकबाट पारिवारिक तथा पार्टी राजनीतिमा पनि सहयोग गरेकी थिइन् । सीता विगत १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित थिइन् ।



प्रतिक्रिया दिनुहोस !