४ आश्विन २०८१, शुक्रबार

भारतीय पत्रकार गोस्वामीलाई १४ दिन न्यायीक हिरासतमा पठाइयो

प्रकाशित मिति :  5 November, 2020 8:26 am


काठमाडौं, २० कार्तिक ।

भारतीय पत्रकार अर्नब गोस्वामीलाई १४ दिनका लागि न्यायीक हिरासतमा पठाइएको छ । आत्महत्या दुरुत्साहन मुद्धामा पक्राउ परेका गोस्वामीसहित अन्य २ जनालाई गएराति अबेर मुम्बई अदालतले १४ दिनका लागि न्यायीक हिरासतमा राख्न आदेश दिएको हो ।

गोस्वामीका वकिलले जमानतका लागि निवेदन दिएका छन् र निवेदनमाथि आज सुनुवाइ हुन सक्ने भारतीय सञ्र माध्यमहरुले उल्लेख गरेका छन् ।

सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइकलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा गोस्वामीलाई प्रहरीले हिजो उनकै निवासबाट पक्राउ गरेको थियो । उनी रिपब्लिक टेलिभिजनका प्रधानसम्पादकसमेत हुन् ।

इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइक सन् २०१८ को मे महिनामा अलिबाग तालुकाको कवीर गाउँस्थित आफ्नो फार्म हाउसमा मृत भेटिएका  थिए । उनीहरुको साथमा फेला परेको सुसाइड नोटमा अर्नबसँगै फिरोज शेख र नितेश सारदाले ५.५ करोड रुपैयाँ भुक्तानी नगरेकाले आफूहरुले आत्महत्या गरेको उल्लेख थियो ।

सन् २०१९ मा रायगढ प्रहरीले यो मुद्दाको फाइल बन्द गरेको थियो । तर नाइककी छोरीको उजुरीपछि महराष्ट्रका गृहमन्त्री अनिल देशमुखले फेरि यसको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका थिए । गोस्वामीले आफूलाई प्रहरीले कुटपिट गरेको अदालतमा बताएका थिए । पछि जाँच गर्दा कुटपिट गरेको नदेखिएपछि उक्त आरोप खारेज भएको थियो ।



प्रतिक्रिया दिनुहोस !