५ कार्तिक २०८१, सोमबार

अन्य क्षेत्रको बजेट रकमान्तरण गरेरपनि कारोना संक्रमितको उपचार गर्न संसदीय समितिको निर्देशन

प्रकाशित मिति :  6 November, 2020 7:19 pm


काठमाडौं,२१ कार्तिक ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले अन्य क्षेत्रको बजेट रकमान्तरण गरेर भएपनि कारोना संक्रमितको उपचार गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज भएको समितिको भर्चुअल बैठकले निःशुल्क उपचार गर्न नसक्ने भए अन्य क्षेत्रको बजेटलाई रकमान्तरण वा कटौति गरेर भएपनि सरकारी अस्पतालहरुमा कोभिड-१९ का बिरामीहरुको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । आजको बैठकमा कोभिड-१९ ले समग्र स्वास्थ्य क्षेत्रमा पारेको प्रभावको सम्बन्धमा छलफल गर्दै उक्त निर्देशन दिइएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

पछिल्लो समय सरकारले सरकारी अस्पतालमा समेत कोरोनाका विरामीका लागि चर्को शुल्क तोक्न थालेपछि समितिले चासो देखाएको हो । समिति सभापति घर्तीले स्वास्थ्यकर्मीहरुलाई गुणस्तरीय स्वास्थ्य सुरक्षा सामाग्री र कोभिड१९ को भत्ता छिटो उपलब्ध गराउन समेत निर्देशन दिएकी छन् ।

भेन्टिलेटरको अभाव भएको गुनासो आएकाले सहज रुपमा उपलब्ध गराउने व्यवस्था मिलाउन, होम आइसोलेशनमा बसेका बिरामीहरुको सम्बन्धित निकायले फोन मार्फत स्वास्थ्य सम्बन्धि जानकारी लिन र निजी अस्पतालहरुले कम शुल्क लिएर भए पनि कोभिड-१९ का बिरामीहरुको उपचार गर्ने व्यवस्था मिलाउन सरकारलाई समितिले भनेको छ ।



प्रतिक्रिया दिनुहोस !