४ आश्विन २०८१, शुक्रबार

महत्वपूर्ण तीन दिने नेपाल भ्रमण सकेर फर्किए भारतीय सेना प्रमुख नरवणे

प्रकाशित मिति :  6 November, 2020 9:36 pm


काठमाडौं,२१ कार्तिक ।

भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । सेनाध्यक्ष नरवणेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृतरथी प्रभुराम शर्माले बिदाइ गरे ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न उनी नेपाल आएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवा समा हिजो आयोजित विशेष समारोहमा सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन् । भारतीय सेनाध्यक्षले दुई वटा घुम्ती अस्पताल सञ्चालन गर्न आवश्यक चार एम्बुलेन्स, चार भेन्टिेलरसहितका स्वास्थ्य सामग्री एवं उपकरण नेपाली सेनालाई हिजो हस्तान्तरण गरेका थिए । नेपाल आएलगत्तै उनले अस्ति वसन्तपुर क्षेत्र र पशुपतिनाथको पनि दर्शन गरेका थिए ।

नेपाल र भारतीय सेनाबीच एकार्का देशका सेनापतिलाई मानार्थ महारथी प्रदान गर्ने परम्परा छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुन् ।

यसैबीच, समकक्षी थापा र सेनाध्यक्ष नरवणेबीच आपसी सुरक्षा चासोका विषयमा भएको खुला छलफलमा दुवै सेनाबीच उच्चस्तरीय भ्रमण र तालीमलगायत अन्य सहयोगका क्षेत्र थप विस्तार गर्दै जाने विषयमा गहन विचारविमर्श भएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनले आजै शिष्टाचार भेट गरेका थिए । यसअघि सेनाध्यक्ष नरवणेले आजै शिवपुरीस्थित सैनिक कमाण्ड कलेजमा शिक्षार्थीसँग आफ्नो सैनिक जीवनको अनुभव सुनाउँदै अन्तरक्रिया गर्नाका साथै हवाइजहाजबाट हिमालय क्षेत्रको दृश्यावलोकन गरे । नेपाल र भारतीय सेनाबीच रहिआएको परम्परागत सम्बन्ध सुदृढ गर्न यो भ्रमण फलदायी भएको दुवै सेनापतिले विश्वास व्यक्त गरेका छन् ।

नेपालले भारतद्धारा मिचिएको लिपुलेक,कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीच मनमुटाव जारी रहेका बेला भारतीय सेना प्रमुखको नेपाल भ्रमण भएको हो । भारतीय सेना प्रमुख आउनुभन्दा पहिले गुप्तचर एजेन्सी रअ का प्रमुख सामन्त गोयल आएर फर्किएका थिए ।



प्रतिक्रिया दिनुहोस !