४ आश्विन २०८१, शुक्रबार

नुवाकोटमा निषेधाज्ञा, देउसीभैलो खेल्न नपाइने

प्रकाशित मिति :  9 November, 2020 7:58 am


काठमाडौं,२४ कार्तिक ।

कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले यही कात्तिक २६ गतेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लगाइएको हो । निषेधाज्ञासँगै यो वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ ।

काठमाडौँस्थित विशिष्ट सेवा प्रवाह गर्ने अस्पतालहरू कोरोना सङ्क्रमितले भरिभराउ भइसकेको र आईसीयू तथा भेन्टिलेटर सेवा पर्याप्त नभएकाले रोग नियन्त्रणका लागि नुवाकोटमा २६ गतेदेखि लागू हुने गरी निषेधाज्ञा लागू गरिएकाले आदेश पालना गर्न प्रशासनले सबैलाई अपिल गरेको छ ।

जिल्लाको धार्मिक, सांस्कृतिक तथा समूहमा भेला भएर गरिने कार्यक्रमले रोगको जोखिम बढाउने भन्दै निषेधाज्ञा जारी गरिएकाले यो वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जारी गरेको आदेशमा भनिएको छ ।

निषेधाज्ञाको समयमा अहिलेको जस्तै दैनिकी सामान्यरूपमा चलाउन बजार क्षेत्र खुला राख्ने, गाडी सञ्चालन कायमै रहने भए पनि त्यसका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने भनिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भए–नभएको बारेमा जनप्रतिनिधिसहित प्रहरीको टोलीलाई अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।

नुवाकोटमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ६१९ पुगेको छ । तीमध्ये २८८ जना रोग जितेर घर फर्किसकेका छन् भने ३२९ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमतिमध्ये सात जना त्रिशूली अस्पतालको आइसोलेसनमा र ३२२ जनालाई चिकित्सकको निगरानीमा होम आइसोलेसनमा राखिएको नुवाकोटका सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !