४ आश्विन २०८१, शुक्रबार

ऊर्जा मन्त्रीको निर्देशन लगत्तै उपकार्यकारी निर्देशक शाक्यलाई सहायक कम्पनीबाट प्राधिकरणमा फिर्ता

प्रकाशित मिति :  9 November, 2020 9:28 am


काठमाडौं,२४ कार्तिक । 

प्राधिकरणको नेतृत्व पाउने चर्चामा रहेका वरिष्ठ उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य नेपाल विद्युत प्राधिकरणमा फिर्ता भएका छन् । प्राधिकरणकै सहायक कम्पनी ‘एनइए इन्जिनियरिङ कम्पनी’ को प्रबन्ध निर्देशक रहेका शाक्य प्राधिकरण फिर्ता भएका हुन् ।

शाक्यले आजदेखि ‘सहायक कम्पनी अनुगमन निर्देशनालय’मा हाजिर हुँदैछन् । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइरालाले हिजो काज फिर्ताको पत्र पठाएपछि कम्पनीले पनि हिजै शाक्यको रमाना पठाएको थियो ।

कम्पनी स्रोतका अनुसार शाक्यले आजदेखि निर्देशनालयमा हाजिर हुनेछन् । प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनको निर्देशनपछि प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइरालाले शाक्यलाई काज फिर्ता बोलाएका हुन् ।

अहिले निमित्त चलाईरहेका लेखनाथ कोइराला भन्दा शाक्य वरिष्ठ हुन् ।

प्राधिकरणको १२ औँ तहका उनलाई तत्कालीन् कार्यकारी निर्देशक कुलमान घिसिङले एनइए इन्जिनियरिङ कम्पनीको नेतृत्व गर्न पठाएका थिए। इन्जिनियरिङ कम्पनीको सफल नेतृत्व गरेका शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने तयारी भएको प्राधिकरण वृत्तमा चर्चा छ ।

प्राधिकरणका तत्कालीन् कार्यकारी निर्देशक घिसिङको कार्यकाल गत भदौ २८ गते सकिएपछि पद रिक्त छ । यसअघि चिलिमेमा प्लान्ट म्यानेजर भएर काम गरेका थिए ।

प्राधिकरणको कार्यकारी निर्देशक बनाउन प्रधानमन्त्री र ऊर्जा मन्त्री दुबै सकारात्मक देखिएपछि शाक्यलाई प्राधिकरण फिर्ता बोलाएको स्रोतको दाबी छ । यद्यपी सुरुमा कायमुकायम दिएर प्रकृयामा लैजाने तयारी छ ।

ऊर्जा मन्त्रालय स्रोतले भन्यो, “अहिलेसम्म उहाँको बारेमा सकारात्मक वातावरण नै छ । कुलमान सर फिर्ता नहुने भएपछि वरिष्ठतम हिसाबले पनि उहाँ स्वभाविक दाबेदार हो । तर राजनीतिक नेतृत्वले कसरी निर्णय गर्छ हेरौं ।”

 

 

 

 



प्रतिक्रिया दिनुहोस !