४ आश्विन २०८१, शुक्रबार

नेकपा विवाद : कात्तिक २७ गते बैठक बोलाउन प्रचण्ड पक्षको ओलीलाई आग्रह

प्रकाशित मिति :  10 November, 2020 7:42 pm


काठमाडौं,२५ कार्तिक ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पर्सि २७ गते सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका छन् ।

प्रचण्डसहित सचिवालयका पाँच सदस्यले २२ गते प्रधानमन्त्री ओलीलाई लिखितरुपमै बैठक बोलाउन आग्रह गरिसकेका छन् । आज पाँच जना सचिवालय बैठक बस्नुअघि प्रचण्डले बालुवाटार पुगेर २७ गते बैठकको प्रस्ताव गरेका हुन् । प्रचण्ड पक्षधरले ओलीबाट २३ वा २४ मा बैठक बोलाउने अपेक्षा गरेको थियो । तर, आजसम्म पनि ओलीले बैठक नबोलाएपछि अध्यक्ष प्रचण्ड आफै बालुवाटार पुगेर २७ गते बैठक बोलाउन आग्रह गरेका हुन् ।

प्रवक्ता नारायणकाजीले भोलि प्रधानमन्त्री उपत्यका बाहिर जाने कार्यक्रम भएकाले पर्सि २७ गते सचिवालय बैठक बोलाउने सहमति दिन र बैठकमा आउन प्रचण्डले प्रस्ताव गरेको जानकारी दिए । तर ओलीले बैठकको सहमति नदिएको श्रेष्ठले बताए । उनले भने, “आजको छलफलमा पनि अध्यक्ष कमरेड केपी शर्मा ओलीले २७ गते बैठक बस्न सहमति जनाइसक्नु भएको छैन ।”

बालुवाटारको भेट लगतै प्रचण्ड धुम्बाराहीस्थित पार्टी कार्यालयमा पुगेर अन्य सचिवालय सदस्यसँग छलफल गरेका थिए । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने, “हामी अपेक्षा गर्छौ कि उहाँले अध्यक्ष प्रचण्डले प्रस्ताव गर्नु भए अनुसार पर्सि बैठक जनाउन सहमति जनाउनु हुनेछ र सहमतिकै आधारमा बैठक बस्ने छ ।” तर, यसलाई कमजोरीको रुपमा नबुझ्न प्रवक्ता श्रेष्ठको आग्रह थियो । उनले भने,”पार्टीको अहिलेको संकटको विशिष्ट परिस्थितिमा हामी पार्टी एकताप्रति अत्यन्त संवेदनशील छौं। र धैर्यसाथ हामीले सहमतिमै बैठक बस्न प्रयत्न गरिरहेका छौं। यो कमजोरी होइन।”

आजको बैठक पनि अनौपचारिक भएको प्रवक्ता श्रेष्ठको भनाइ छ। गत शनिबारको बैठकमा रहेकै सचिवालयका सदस्यहरु प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम तथा नारायणकाजी श्रेष्ठ नै आजको बैठकमा पनि उपस्थित थिए। प्रधानमन्त्री ओली निकटका सचिवालय सदस्यहरु भने आज पनि उपस्थित थिएनन्।

पछिल्लो समय नेकपाभित्र विवाद चर्कदै गएको छ । प्रचण्ड पक्षले बैठक बोलाउन पटक पटक आग्रह गरेपनि ओलीले त्यसलाई अस्वीकार गरिरहेका छन् । नेकपाभित्र दोस्रो पटक गम्भीर संकट देखिएको छ । पार्टी विभाजसम्मको स्थिति बनिरहेपनि मिलाउने प्रयास जारी छ ।



प्रतिक्रिया दिनुहोस !