४ आश्विन २०८१, शुक्रबार

कालीगण्डकी करिडोरको रानीपानी–कुर्घा खण्ड कालोपत्रे गर्न बजेट स्वीकृत

प्रकाशित मिति :  11 November, 2020 9:27 am


पर्वत,२६ कार्तिक ।

दुई छिमेकी मुलुक भारत र चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानी–कुर्घा खण्डको २२ किलोमिटर पक्की सडकका लागि बजेट विनियोजन भएको छ ।

पर्वतको बिहादी गाउँपालिका–३ रानीपानीदेखि फलेवास नगरपालिका–१० कुर्घा लमायखोलासम्मको खण्डका लागि आवश्यक रु १ अर्ब २४ करोड बजेटसहित बहुवर्षीय ठेक्काका लागि अर्थमन्त्रालयले स्वीकृति दिएको हो ।

राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको यो खण्डका लागि बजेट सुनिश्चित भएसँगै अब छिट्टै बोलपत्र आह्वान गरिने कालिगण्डकी करिडोर सडक आयोजना (गैँडाको –राम्दी–मालढुङ्गा) प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिए । “बहुवर्षीय ठेक्काका लागि अर्थ मन्त्रालयले स्वीकृति दिएको छ”, प्रमुख देवकोटाले भने , “अब केही दिनभित्रै बोलपत्र आह्वानको प्रक्रिया शुरु गर्छौँ ।”

प्रमुख देबकोटाका अनुसार करिडोरको रानीपानी–कुर्घा खण्ड ‘डबल लेन’मा सात मिटर कालोपत्रे हुनेछ । यो सडक कालोपत्रेका लागि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निरन्तरको प्रयासका कारण बहुवर्षीय ठेक्का स्वीकृत भएको हो ।

अध्यक्ष र सचिवालयले आयोजनाको कार्यालयदेखि, सडक विभाग, भौतिक मन्त्रालय, योजना आयोग हुँदै अर्थ मन्त्रालयसम्म पहल गर्नुभएको करिडोर प्रमुख देवकोटाले जानकारी दिए । उनले भने , “अध्यक्षले शुरुदेखि अन्तिमसम्म लगातार प्रयास गरेपछि मात्र कालोपत्रेका लागि बहुवर्षीय ठेक्का स्वीकृत सम्भव भएको हो ।”

ठेक्का सुनिश्चित भएसँगै करिडोरको पर्वत खण्डमा पर्ने लमायखोलादेखि अर्मादीसम्म मात्रै कालोपत्रेका लागि बाँकी रहने छ । सो खण्डमा समेत अहिले ट्र्याक खोल्ने काम भइरहेको छ । पुससम्ममा ट्र्याक खोल्ने काम सकेर त्यसलाई पनि कालोपत्रेका लागि प्रक्रिया अगाडि बढाइने प्रमुख देवकोटाले जानकारी दिए ।

पर्वतको अर्मादीदेखि स्याङ्गजाको सेतीवेणीसम्मको ५३ किमीमध्ये मिर्मीदेखि सेतीवेणीसम्मको सात किमीमा सडक कालोपत्रेको टेण्डर भइसकेको छ भने सेतीवेणीदेखि रानीपानीसम्मको सात किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम भइरहेको छ ।

कालीगण्डकी करिडोरको पर्वत खण्डको महत्वपूर्ण मानिएको रानीपानी–कुर्घा खण्डको ठेक्का निश्चित भएपछि बिहादी र फलेवासका स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । सडक कालोपत्रे भएपछि बिहादी गाउँपालिकाले सबैभन्दा बढी फाइदा लिने अध्यक्ष कमलप्रसाद भुसालले बताए । लोकमार्ग किनारमा रहेका रानीपानी, बर्राचौर, बाच्छा, पाङराङमा बस्ती विकास हुनेछ ।

तराई र मधेशसँग प्रत्यक्ष सम्पर्क हुने तथा सेतीवेणी जस्ता धार्मिक पर्यटकीय स्थलको विकासका लागि समेत सहयोग पुग्ने अध्यक्ष भुसालले बताए । “यो सडक कालोपत्रे भएपछि बिहादी गाउँपालिकाको आर्थिक र सामाजिक विकासमा कायपलट हुनेछ”, उहाँले भन्नुभयो “राष्ट्रिय राजनीतिमा पर्वतका जनप्रतिनिधिहरुको पहुँचका कारण यो सम्भव भएको हो ।” यसैबीच करिडोरअन्तर्गत मालढुङ्गादेखि बेनीसम्मको सडकको स्तरोन्नतिका लागि हालै बोलपत्र आह्वान भएको छ ।रासस



प्रतिक्रिया दिनुहोस !