४ आश्विन २०८१, शुक्रबार

निमित्त भएको ३ दिनमै शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कायममुकाय कार्यकारी निर्देशकको जिम्मेवारी

प्रकाशित मिति :  12 November, 2020 7:43 am


काठमाडौं,२७ कार्तिक ।

सरकारले नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई निमित्तबाट कायममुकायमको जिम्मेवारी दिएको छ । शाक्यलाई आजदेखि लागू हुने गरि सरकारले कायममुकायमको जिम्मेवारी दिएको हो ।

शाक्यले आजदेखि आफूले कायममुकायम जिम्मेवारी सम्हाल्ने बताए । लुम्बिनी सञ्चारसँग शाक्यले भने, “निमित्तपछि सरकारले आजदेखि लागू हुने गरि कायममुकायमको जिम्मेवारी दिएको छ । म आभार व्यक्त गर्न चाहन्छु ।”

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णय गरी प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक रहेका शाक्यलाई ४ दिन अघि मात्रै निमित्तको जिम्मेवारी दिएका थिए ।

गत शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले एनइए इञ्जिनीयरिङ कम्पनीमा प्रबन्ध निर्देशक शाक्यलाई काज फिर्ता गर्ने निर्णय गरेको थियो ।

त्यस लगत्तै आइतबार नै काज फिर्ता गर्दै सोमबार देखि शाक्यलाई निमित्तको जिम्मेवारी दिइएको थियो । प्राधिकरणको भावि कार्यकारी निर्देशकको जिम्मेवारी पाउने चर्चामा रहेका शाक्यले निमित्त पाएको ४ दिनमै कायममुकायमको जिम्मेवारी पाएका हुन् ।

गत भदौ २९ गतेदेखि तत्कालन कार्यकारी निर्देशक कुलमान घिसिङको चारवर्षे कार्यावधि सकिएपछि मन्त्रालयले उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो । तर, कोइराला भन्दा शाक्य वरिष्ठ भएकाले प्राधिकरण फर्किए लगत्तै निमित्त र त्यसपछि कायमुकायमको जिम्मेवारी पाएका हुन् ।

इलाममा जन्मिएका शाक्यले काठमाण्डौ विश्वविद्यालयबाट इलेक्ट्रिकल पावर इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गरेका छन् भने नर्वेबाट इलेक्ट्रिक इन्जिनियरिङमै स्नातकोत्तर गरेका छन् ।

उनले सन् १९८८ मा मर्स्याङ्दी जलविद्युत् आयोजनामा इलेक्ट्रिकल इन्जिनियरको रुपमा विद्युत् प्राधिकरणको जागिर सुरु गरेका थिए । सन् २००३ मा शाक्यले त्रिशूली जलविद्युत् आयोजनाको स्टेशन इन्चार्ज र चिलिमे जलविद्युत् आयोजनाको इलेक्ट्रो मेकानिकल डिभिजन प्रमुखको रुपमा जिम्मेवारी निभाएका थिए ।

शाक्यले सन् २०१० मा चिलिमे हाइड्रोको प्लान्ट म्यानेजर र अपर साञ्जेन आयोजनामा काम गर्नुका साथै सन् २०११ मा नेपाल विद्युत् प्राधिकरणको योजना विभागको म्यानेजर, सन् २०१३ मा ठूला आयोजनाको निरीक्षण र व्यवस्थापन प्रमुखको जिम्मेवारी निभएका थिए ।

सन् २०१५ मा विद्युत् व्यापार विभागका निर्देशकका रुपमा पनि काम गरेका शाक्यले चिलिमे जलविद्युत् कम्पनी र मध्य भोटेकोशी जलविद्युत् आयोजनामा र सन् २०१७ मा अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा नेपालको ऊर्जा क्षेत्रको विशेषज्ञको रुपमा काम गरिसकेका छन् ।

सन् २०१८ अर्थात् २०७३ देखि भने शाक्य नेपाल विद्युत् प्राधिकरणकै सहायक कम्पनी एनईए इन्जिनियरिङ कम्पनीको प्रबन्ध निर्देशकको रुपमा कार्यरत रहेका थिए ।

 



प्रतिक्रिया दिनुहोस !