४ आश्विन २०८१, शुक्रबार

काठमाडौँ कलंकीमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु,२ जना घाइते

प्रकाशित मिति :  12 November, 2020 9:40 am


काठमाडौं,२७ कार्तिक ।

काठमाडौँ कलंकीमा आज बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

बिहान करिब साढे ३ बजेतिर रोकिराखेको बा३ख ७५३० नंको ट्रकलाई बल्खुबाट सीतापाइला जाँदै गरेको कुखुरा बोक्ने बा५ख ८८६५ नंको अर्को ट्रकले ठक्कर दिँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा कुखुरा बोक्ने ट्रकमा रहेका नुवाकोटका २४ वर्षीय रोशन तामाङ, २७ वर्षीय भूपेन्द्र तामाङ र ३७ वर्षीय माधव घिमिरेको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

दुर्घटनापछि गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि शहीद मेमोरियल अस्पताल कलङ्की लगिएकामा उपचारका क्रममा ४ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

नुवाकोटकै २१ वर्षका रोहन तामाङ र २४ वर्षका विजय तामाङ घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक सहचालकले चलाएको जानकारीमा आएकाले घटनाको थप अनुसन्धान भइरहेको प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !