४ आश्विन २०८१, शुक्रबार

कपिलवस्तुमा रहेका सात मुख्य बौद्धस्थल समेटेर गुरुयोजना निर्माण गर्ने तयारी

प्रकाशित मिति :  14 November, 2020 4:24 pm


कपिलवस्तु,२९ कार्तिक । 

कपिलवस्तुमा रहेका भगवान् गौतम बुद्धसँग सम्बन्धित पुरातात्विक स्थलहरुलाई समेटेर गुरुयोजना निर्माण हुने भएको छ ।

लुम्बिनी प्रदेशको महत्वपूर्ण पर्यटकीय सम्पदाका रूपमा लिइँदै आएको राजा शुद्धोदनको दरबार तिलौराकोट, हजारौँ शाक्यको सामूहिक बधस्थल सगरहवा, बुद्धले पहिलो पटक भिक्षुलाई सम्बोधन गरेको कुदान, कनकमुनि बुद्धको जन्मथलो निग्लिहवा, क्रकुच्छन्द बुद्धको जन्मथलो गोटिहवा र बौद्धकालीन स्तूप भेटिएको अरौराकोटसहितका सात मुख्य बौद्धस्थललाई समेटेर दीर्घकालीन गुरुयोजना निर्माण गर्न लागिएको   छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु अवधेशकुमार त्रिपाठीका अनुसार बृहत्तर लुम्बिनी क्षेत्र बौद्ध परिपथको योजना तथा लुम्बिनी, कपिलवस्तु र रामग्रामभित्रका सबै बौद्ध सम्पदालाई एउटै खाकामा राख्ने योजना रहेको बताए ।

“तिलौराकोटलाई केन्द्रमा राखी गुरुयोजना निर्माण गरिनेछ”, उनले भने , “नयाँ अध्ययनअनुसार तिलौराकोट क्षेत्रमा नेपालको सबैभन्दा पुरानो सभ्यता फेला परेको छ ।” विज्ञका अनुसार बुद्धभन्दा १६ सय वर्षअगाडिको सभ्यता देखिएको छ । “जुन एसियामै तक्षशिला र गान्धार क्षेत्रसँग तुलना गर्न सकिन्छ”, उनले भने , “संरचनालाई दीर्घकालीन संरक्षणको प्राथमिकता दिने गरी योजना बनाइनेछ, करीब ६ महिनाभित्र गुरुयोजनाको खाका निर्माण गरिनेछ ।”

लुम्बिनी आउने पर्यटकलाई तिलौराकोटसम्म पु¥याउने लक्ष्यसमेत राखिएको छ । पर्यटक घुम्नका लागि बाटो, बसपार्क, आराम गर्ने ठाउँ, स्थानीय सामग्री किनमेलका गर्ने स्थलसमेत निर्माण गरिने योजना छ । कपिलवस्तु तथा बौद्धकालीन इतिहास सिक्ने थलोका रूपमा समेत यसलाई विकास गरिनेछ । गुरुयोजनाका लागि विज्ञले एक वर्षअगाडि देखि काम भइरहेको लुम्बिनी विकास कोषले जनाएको छ ।

जग्गा अधिग्रहणसहित मुख्य संरचना निर्माणका लागि रु १६ अर्ब लाग्ने अनुमान गरिएको छ । गुरुयोजना निर्माणका लागि पुरातत्वविज्ञ डा सञ्जय उप्रेतीले काम गर्दै आउनुभएको छ ।

उप्रेतीले रामग्रामको गुरुयोजनासमेत निर्माण गरेका थिए । कोषले तिलौराकोटको गुरुयोजना निर्माणका लागि पहिलो चरणमा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, जननिर्वाचित प्रतिनिधि, स्थानीय समाजसेवी र सरोकार पक्षसँग छलफलसमेत गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस !