४ आश्विन २०८१, शुक्रबार

नेपाल सम्बत् ११४१ शुरु, प्रधानमन्त्रीद्धारा शुभकामना व्यक्त

प्रकाशित मिति :  15 November, 2020 9:44 am


काठमाडौं, ३० कार्तिक ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्बत् नयाँ बर्षको उपलक्ष्यमा शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहेका सबैलाई नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ब्यक्त गरेका छन् ।

शंखधर साख्वाःले ऋणमा डुबेर दासत्वको जीवन बिताइरहेका सर्वसाधारणहरुलाई ऋणबाट मुक्त बनाई स्वतन्त्रता दिलाएको दिनलाई प्राचीन कालदेखि नेपाल सम्बतका रुपमा मनाइँदै आएको छ । प्रधानमन्त्री ओलीले भनेका छन्,”नेपाल सम्बत् ११४१ को यस सुखद् अवसरमा काठमाडौं उपत्यकामा तत्कालीन समाज सुधारका नेतृत्वकर्ता तथा नेपाल सम्बत्का प्रवर्तक शंखधर साख्वाःको विशेष स्मरण गर्न चाहन्छु ।”

बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको भन्दै प्रधानमन्त्री ओलीले यहाँका विविधतायुक्त मौलिक परम्परा सिंगो राष्ट्रका साझा पूँजीका रुपमा अङ्कित रहेको उल्लेख गरेका छन् ।

एकताको यस राष्ट्रिय पूँजीलाई हामीले मुलुक निर्माणको आधारस्तम्भका रुपमा आत्मसात गरेको भन्दै प्रधानमन्त्री ओलीले भनेका छन्, “हाम्रा सांस्कृतिक विविधतालाई विग्रह र द्वन्द्वको अवसरका रुपमा दुरुपयोग गर्न बेलाबेला भएका दुष्प्रयासहरुलाई पनि हामीले आपसी एकताद्वारा पराजित गर्दै राष्ट्रिय एकता, स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षा गर्दै आएका छौं ।”

यतिबेला हामी जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको बताएका छन् ।

उनले आफ्नो शुभकामना सन्देशमा भनेका छन्,”यस अवसरमा राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आह्वान गर्दछु । यसै एकता मार्फत् हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने छौं भन्ने विश्वास दिलाउन चाहन्छु । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट बच्न विशेष सतर्कता अपनाउँदै नेपाल सम्बत् लगायत पर्व मनाउन म विशेष आह्वान गर्दछु ।”



प्रतिक्रिया दिनुहोस !