५ माघ २०८१, शनिबार

शंकर पोख्रेलले प्रचण्डप्रति इंगित गर्दै भने,’नेतृत्वले विवेक गुमायो यस्तो दस्ताबेजद्धारा पार्टी निर्माण हुन सक्दैन’

प्रकाशित मिति :  15 November, 2020 7:29 pm


दाङ, ३० कार्तिक ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वले विवेक गुमाएको टिप्पणी गरेका छन् । कार्यकारी अध्यक्षले सचिवालयमा पेश गरेको दस्तावेजप्रति इंगित गर्दै नेतृत्वले विवेक गुमाएको टिप्पणी गरेका हुन् ।

पूर्वसभामुख कृष्णबहादुर महरा पत्नी सीताको निधनको १३ औं दिनमा दाङ भएको श्रद्धाञ्जली सभामा बोल्दै मुख्यमन्त्री पोख्रेलले भने,” नेतृत्वले जे गर्छ ठिक गर्छ भन्ने म ठान्दै ठान्दैन । नेतृत्वले यतिबेला विवेक गुमाएको छ । विवेक फर्काउनुपर्छ । नेतृत्वले विवेक गुमाएको बेला नेतृत्वले अच्छा गर्यो भन्ने पक्षमा म छँदैछैन ।”

अहिले मुलुकलाई एकताको आवश्यकता रहेको भन्दै विवाद गर्न नहुनेमा जोड दिए । उनले प्रचण्डले सचिवालयमा पेश गरेको दस्तावेजलाई कुण्ठाको संज्ञा दिए । प्रचण्डको दस्तावेजले पार्टी निर्माण हुन नसक्ने मुख्यमन्त्री पोख्रेलको टिप्पणी थियो । उनले भने,” आज नेतृत्वले प्रस्तुत गरेको दस्तावेज हेर्नुस् त पार्टी छ कि कुण्ठा छ ? पार्टी छैन । कुण्ठा छ । यस्तो दस्ताबेजद्धारा पार्टी निर्माण हुन सक्दैन ।”

नेकपा स्थायी कमिटी सदस्य समेत रहेका पोख्रेलले नेतृत्वले विवेक गुमाएका बेला कार्यकर्ताले संयममा राख्नुपर्ने बताए । उनले बहसबाटै आन्दोलन अगाडि बढ्ने भएपनि अहिले आवश्यकता पार्टी एकताको पूर्णता भएको बताए ।

उनले भने,” नेतृत्वले विवेक गुमाएका बेला कार्यकर्ताले संयममा राख्न सक्नुपर्छ । पार्टी एकताका निम्ति हामी सबैको कर्तब्य हो,नेतृत्वले आपसी स्वार्थका लागि विवेक नगुमाउँ । बहस त गर्नुपर्छ । बहसबाटै आन्दोलन निर्माण हुन्छ । तर यति बेला एकतालाई पूर्णता दिनुपर्ने अहिलेको आवश्यकता हो ।”



प्रतिक्रिया दिनुहोस !