४ आश्विन २०८१, शुक्रबार

तिहार अन्तर्गत आज भाइटिका, उत्तम साइत बिहान ११:३७ बजे

प्रकाशित मिति :  16 November, 2020 7:48 am


काठमाडौं, १ मंसिर।

तिहार अन्तर्गत आज भाइटिका । यमपञ्चकको पाँचौं दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिँदै छन्।

दिदीबहिनीले टीका लगाइदिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने चलन छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।

“भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११स:३७ बजेको अभिजित मुहूर्तको समय उत्तम छ। भाइटीका लगाउन मध्याह्न हुनुपर्ने भएकाले यो समय निकालिएको हो,” उनले भने।

भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने उनले बताए। यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दाहिने पर्नेछ। शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ।

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ। लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परानुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले बताए।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ। रासस

कुन देशमा कति बजे टिकाको साईत ?



प्रतिक्रिया दिनुहोस !