४ आश्विन २०८१, शुक्रबार

तिहारले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास छ : राष्ट्रपति भण्डारी

प्रकाशित मिति :  16 November, 2020 8:20 am


काठमाडौं , १ मंसिर । 

राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सदभाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छन् ।

तिहारको शुभकामना दिँदै राष्ट्रपति भण्डारीले पौराणिक, व्यावहारिक, सांस्कृतिक, मनोवैज्ञानिक एवं वैज्ञानिक महत्त्व बोकेको तिहार प्रकाशको पर्व भएको उल्लेख गर्दै भनेकी छन्, “उज्यालोलाई आफैमा प्रेरणाको विम्ब मानिन्छ । तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्‍ने कामना गर्दछु ।”

तिहारमा मानव जीवनसँग अभिन्न रूपमा जोडिएका पशुपंक्षी, धन–ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मी¸अजस्र प्राकृतिक स्रोतको प्रतीक गोवर्द्धन पर्वत र भाइको पूजा गरिनुका साथै देउसी भैलो खेल्दै नाचगान र मनोरञ्जन गर्ने परम्परा रहेको राष्ट्रपतिले आफ्नो शुभकामनामा उल्लेख गरेकी छन् ।

तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति¸ मानव जीवन र प्राणी जगत्‌को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइ बीचको आपसी स्नेहलाई गाढा बने उनको विश्वास छ । राष्ट्रपति भण्डारीले भनेकी छन्, “देउसी भैलो खेल्ने विशुद्ध नेपाली संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पुर्‍याउँदछ ।”

यस वर्षका सबैजसो चाडपर्वहरू नोबल कोरोनाभाइरस (कोभिड-१९)को महामारीका कारण आफू र आफ्ना परिवारका सदस्य र समाजको बृहत सुरक्षालाई मध्यनजर गर्दै मनाउनुपरेको भन्दै राष्ट्रपति भण्डारीले यस महामारीको खोप हालसम्म विकास भैनसकेकाले पूर्व सावधानीका लागि समय-समयमा हात धुन, मास्क सही तरिकाले प्रयोग गर्न तथा व्यक्तिहरू बीच भौतिक दूरी कायम गर्न नभुल्न आग्रह गरेकी छन् ।

चाड पर्वको समयमा पारिवारिक तथा सामाजिक अन्तरक्रियाहरू अझ बढ्ने हुँदा पूर्व सावधानी पालना गर्नु झनै जरुरी हुन आएको उनको भनाई    छ ।

 



प्रतिक्रिया दिनुहोस !