४ आश्विन २०८१, शुक्रबार

सत्तारुढ नेकपा सचिवालय बैठक १० दिनका लागि स्थगित,ओलीलेपनि छुट्टै राजनीतिक प्रस्ताव ल्याउने

प्रकाशित मिति :  18 November, 2020 3:34 pm


काठमाडौं,३ मंसिर ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठक १० दिनका लागि स्थगित भएको हो ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्ने बताएपछि १० दिनका लागि बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा ओलीले आफूले छुट्टै राजनीतिक प्रस्ताव ल्याउने बताएका थिए । यसअघि २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेपछि विवाद थप जटिल बनेको थियो । १३ गते ओलीले प्रस्ताव पेस गरेपछि सचिवालयमा सबै प्रस्तावमाथि छलफल हुनेछ ।

साथै १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । यसअघि स्थायी कमिटीले १५ कात्तिकमा तोकेको केन्द्रीय कमिटी बैठक एक महिना सारेर मंसिर १५ गतेलाई तोकिएको थियो ।

यससँगै केन्द्रीय समिति बैठक थप १० दिन पर धकेलिएको थियो । नेकपाभित्र विवाद चर्किएका बेला चिनियाँ राजदूत र राष्ट्रपतिको सकृयता देखिएको थियो । यससँगै नेकपाभित्रको विवाद केही समयलाई पर धकेलिएको छ ।



प्रतिक्रिया दिनुहोस !