४ आश्विन २०८१, शुक्रबार

सबै देशहरुमा उडान अनुमति दिने निर्णय,केही कर्मचारीमा कोरोना देखिने वित्तिकै सेवा बन्द नगर्न निर्देशन

प्रकाशित मिति :  24 November, 2020 6:53 pm


फाइल फोटो

काठमाडौं,९ मंसिर । 

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी सबै देशहरुमा उडान अनुमित दिने निर्णय गरेको छ।

आज बसेको सीसीएमसी निर्देशक समितिको बैठकले स्वीकृति पाइसकेका मुलुक बाहेक अन्य मुलुकमा पनि आवश्यकता अनुसार उडान अनुमति दिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए ।

उनले भने, ‘नियमित उडान स्वीकृति भएका देशका अलावा संक्रमणको जोखिम मुल्यांकन गरी अन्य मुलुकमा पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यकता अनुसार क्रमशः नियमित उडान अनुमति दिँदै जाने निर्णय भएको छ।’

विभिन्न सरकारी कार्यालयहरुमा एक दुई जनामा संक्रमण पोजेटिभ देखिने वित्तिकै सम्पूर्ण सेवा बन्द नगर्न पनि सीसीएमसीले निर्देशन दिएको छ । यस्तो प्रवृति गलत भन्दै संक्रमित व्यक्तिहरुलाई आइसोलेसनमा राखेर सेवा नियमित गर्न निर्देशन दिइएको उनले बताए।

पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएको भन्दै उपत्यका मेयर फोरमले कडा निषेधाज्ञा गर्न सिफारिस गरेको थियो। अहिलेपनि देशभरमध्य उपत्यकामा धेरै संक्रमित त छन् तर यो क्रम घटेको छ ।

आफ्ना कर्मचारी संक्रमित भन्दै काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आफ्ना नियमित सेवा बन्द गरेको एक महिना भन्दा बढी भएको छ । सीसीएमसीले संक्रमण उच्च रहेको सिमित ठाउँलाई सिल गरी सेवा सञ्चालनका सम्बन्धमा केही निर्णय गर्न सकिने गरी छलफल भएको सचिव गुरागाईंले बताए।

उपत्यकामा रहेको एकीकृत एम्बुलेन्स सेवाको पर्किङ समस्या रहेकाले विभिन्न स्थानीय तहमा पार्किङका लागि व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !