४ आश्विन २०८१, शुक्रबार

ओलीको प्रचण्डलाई जवाफ:तपाईंले वस्तुतः पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नुभएको छ

प्रकाशित मिति :  28 November, 2020 7:49 pm


काठमाडौं,१३ मंसिर ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्धारा सचिवालयमा पेश भएको दस्तावेजन कुनै राजनीतिक प्रस्ताव नभएर आफ्नै सहयोद्धामाथी लगाइएको अभियोग मात्रै भन्दै यसले पार्टी विभाजनको अनौपचारिक घोषणा गरेको प्रचण्डमाथी आरोप लगाएका छन् ।

आज बसेको सचिवालय बैठकमा अर्का अध्यक्ष प्रचण्डको जवाफ दिने क्रममा आफ्नो तर्फबाट प्रस्ताव पेश गर्दै भनेका छन्, “तपाईंको यो ‘प्रस्ताव’ वस्तुतः कुनै राजनीतिक प्रस्ताव होइन, आफ्नै सहयोद्धा अध्यक्षमाथि लगाइएको अभियोगपत्र’ हो र यसलाई अगाडि सारेर तपाईंले वस्तुतः पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नुभएको छ ।”

अध्यक्ष ओलीले प्रचण्डको प्रस्ताव’ बैठकमा छलफल या परामर्श गर्नका लागि रितसमेत नपुगेको र नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहिन कूण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो मात्रै भएको टिप्पणी गरेका छन् । उनले आफ्नो प्रस्तावमा भनेका छन्, “यो प्रथम दृष्टिमै खारेजयोग्य छ । पार्टीका बैठकहरुलाई अग्रगामी एजेण्डाबाट बराल्ने र व्यक्तिगत आरोप–प्रत्यारोप एवं कुण्ठामा अलमलाइरहने छुट कसैलाई हुनुहुँदैन भन्ने स्पष्ट पार्न चाहन्छु ।”

असोज २८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा प्रचण्डले वितरण गरेको प्रस्तावको प्रस्तुति–तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर संकट निम्ताएको भन्दै अध्यक्ष ओलीले भनेका छन्,”पार्टी विधान अनुसार बैठकमा प्रस्तुत गरिने प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत नराख्ने भएकाले खासै महत्व नदिँदा पनि हुने थियो । तर त्यसमा उठाइएका संंगीन र भ्रमोत्पादक प्रश्नहरुलाई अनुत्तरित राखी छाड्नुपार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनताकै अहितमा हुने भएकाले केन्द्रीय सचिवालय बैठकमा यस सम्बन्धमा आफ्ना विचारहरु प्रस्तुत गरेको छु ।”

ओलीले पार्टीभित्र चलिरहेको यस वहसको चरित्र के हो ? भन्दै यो स्वस्थ नीतिगत वहस हो कि ‘वार कि पार’ को लडाइँ ? यो अन्तरविरोध नै हो भने पनि, यो मित्रतापूर्ण हो कि शत्रुतापूर्ण ? भनेर प्रश्न गरेका छन् । उनले अर्का अध्यक्ष प्रचण्डलाई भनेका छन्,”तपाईं रोजेको बाटोवाद–प्रतिवाद–संवादको हो कि वाद–प्रतिवाद र विग्रहको ? एकता–छलफल र अझ उन्नतस्तरको एकतामा हिँड्न खोजिएको हो कि एकता– विग्रह र विघटनको बाटोमा? पार्टीभित्र हाम्रो सम्बन्ध पार्टीका दुई प्रमुख नेताको सम्बन्ध हो कि दुई भिन्न वर्ग र भिन्न पार्टीका प्रतिद्वन्द्वी नेताहरुको ?”

५३ बुँदे प्रस्तावमा ओलीले विवादको स्वरुपले समाधानको विधि तय गर्ने भन्दै कम्युनिष्ट आन्दोलनलाई गम्भीर संकटमा धकेलेको प्रचण्डमाथी आरोप लगाएका छन् । उनले पार्टीभित्रका असहमतिलाई शत्रुतापूर्ण अन्तरविरोधमा बलेको समेत प्रचण्डमाथी आरोप लगाएका छन् ।

उनले भनेका छन्, “वस्तुतः तपाईंले आफ्ना एकतर्फी लिखतमार्फत् पार्टीभित्रका असहमतिहरुलाई शत्रुतापूर्ण अन्तरविरोधमा बदल्नुभएको छ र कम्युनिष्ट आन्दोलनलाई गंभीर सब्कटमा धकेल्नु भएको छ । समयले यसको उचित हिसाब गर्ने नै छ ।”



प्रतिक्रिया दिनुहोस !